मस्तिष्कको आँधीबेहरीभित्र एउटा गुनासो सुन्ने अधिकारीको डायरी
“नमस्कार, म मानसिक अस्पतालको गुनासो सुन्ने अधिकारी…”
यो वाक्य मेरो परिचय मात्र होइन, हरेक बिहान ९ बजेपछि म बस्ने कुर्सीको एउटा चुनौतीपूर्ण नियति पनि हो। स्वास्थ्य सेवामा डेढ दशक जति समय तथ्यांक र सामाजिक सेवाका फाइलहरूसँग खेल्दै गर्दा मैले एउटा कुरा राम्रोसँग बुझेको छु —हरेक सरकारी कार्यकक्षमा कागजपत्र र नम्बरहरू हुन्छन्, तर अस्पतालको गुनासो पेटिका र मेरो टेबलमा आउने मानिसहरूसँग एउटा जीवित कथा हुन्छ। र, जब अस्पताल ‘मानसिक अस्पताल हुन्छ, तब ती कथाहरू सामान्य प्रशासनिक र मेडिकल रेकर्डका उल्झनभन्दा धेरै माथि उठेर मानवीय संवेदनाको गहिराइसम्म पुग्छन्।
गुनासो १
अन्य सरकारी कार्यालयका गुनासो सुन्ने अधिकारीहरूले सायद ढिलासुस्ती, झन्झटिलो प्रक्रिया वा आर्थिक अनियमितताका गुनासाहरू बढी सुन्छन् होला। तर, मेरो कार्यकक्षमा आउने गुनासाहरूको रूप बेग्लै हुन्छ। यहाँ सेवाग्राही मात्र होइन, कहिलेकाहीँ स्वयम् बिरामीहरू आफ्ना अद्भूत र अकल्पनीय गुनासाहरू लिएर आइपुग्छन्।
एकदिन एकजना बिरामी निकै आक्रोशित हुँदै मेरो च्याम्बरमा छिर्नुभयो। उहाँको गुनासो थियो, “यो अस्पतालको बेडमा राखिएको सिरानीले मेरो दिमागको सबै विचार चोरी गरेर सेटलाइटमा पठाइरहेको छ, यसलाई तुरुन्त कारबाही गरियोस् !”
मैले प्रशासनिक नियमको र ICD 11 को पुस्तक पल्टाएर त्यहाँ ‘सिरानी र सेटलाइट‘ को धारा खोज्न सक्ने अवस्था थिएन। त्यहाँ मैले एउटा कर्मचारी होइन, एउटा संवेदनशील श्रोता बन्नु पर्ने हुन्थ्यो। मैले उहाँको कुरा गम्भीरतापूर्वक सुनेँ, मुन्टो हल्लाएँ र भनेँ, “तपाईंको गुनासो दर्ता भयो, आजै हामी यो सिरानी परिवर्तन गर्छौँ र छानबिन अघि बढाउँछौँ।” मेरो यो आश्वासनपछि उहाँको अनुहारमा जुन सन्तोष देखियो, त्यसको मूल्य कुनै पनि ठुलो प्रशासनिक निर्णयभन्दा कम थिएन।
गुनासो २
कहिलेकाहीँ गुनासाहरू यति संवेदनशील हुन्छन् कि त्यहाँ सही र गलतको रेखा छुट्याउन निकै गाह्रो हुन्छ। मानसिक स्वास्थ्यको समस्या भएका बिरामीहरू कहिलेकाहीँ अत्यधिक भ्रम (Delusion) मा हुने गर्छन्।
एकपटक एकजना महिला बिरामी रुँदै मेरो कार्यकक्षमा आउनुभयो र भन्नुभयो, “भित्र वार्डका कर्मचारीहरूले मलाई बौलाउने दबाई खुवाउन खोज्दै छन्, मलाई बचाइदिनुस्।”
यस्तो गुनासोलाई हामीले ‘बिरामीको भ्रम होला‘ भनेर सिधै खारेज गर्न मिल्दैन। यसमा बिरामीको सुरक्षा र अस्पतालको विश्वसनीयता दुवै जोडिएको हुन्छ। मैले तत्कालै सम्बन्धित वार्डका साथीहरु र सुरक्षाकर्मीलाई बोलाएर भित्री वस्तुस्थिति बुझेँ। वास्तविकतामा उहाँलाई समयमै औषधी खुवाउन खोजिएको रहेछ, जसलाई उहाँले आफ्नो अवस्थाका कारण बहुलाउने दाबाई सम्झिनुभएछ। मैले उहाँकै अगाडि औषधीको बट्टा मगाएर, सफाइ दिँदै, फकाइफकाई पानी पिलाउन लगाएपछि मात्र उहाँ शान्त हुनुभयो। यस्ता घटनाले मलाई सिकाउँछन् कि यहाँ गुनासो सुन्नु भनेको केवल कागज भर्नु होइन, बिरामीको मनभित्रको डरलाई हटाउनु पनि हो।
गुनासो ३
हाम्रो समाजमा मानसिक रोगलाई अझै पनि एउटा कलङ्कका रूपमा हेर्ने सोच कायमै छ। त्यसैले, कहिलेकाहीँ गुनासो बिरामीबाट होइन, उनका आफन्तहरूबाट अनौठो रूपमा आउँछ।
एक दिन एक अधबैंसे भद्र पुरुष मकहाँ आएर टेबल ठटाउँदै रिसाउनुभयो, “मेरो बिरामीलाई तपाईंहरूले किन निको भयो भनेर डिस्चार्ज गर्न खोजेको? यसलाई अझै दुई महिना भित्रै थुनेर राखिदिनुस्, हामी बाहिर पाल्न सक्दैनौँ।”
यो अस्पतालका लागि एउटा गम्भीर नैतिक र कानुनी चुनौती हो। अस्पताल कसैलाई थुन्ने कारागार होइन, यो त उपचार गर्ने ठाउँ हो। जब बिरामी निको हुन्छ, उसलाई परिवारमा पुनःस्थापित गर्नु हाम्रो दायित्व हुन्छ। मैले ती आफन्तलाई कार्यकक्षमा राखेर लामो समय परामर्श दिएँ। मानसिक बिरामीलाई औषधीभन्दा बढी परिवारको माया र स्वीकार्यता चाहिन्छ भन्ने कुरा बुझाउन मलाई निकै पापड पेल्नुपर्यो। अन्ततः वहाहरू आँसु पुछ्दै बिरामीलाई घर लैजान तयार हुनुभयो। त्यो दिन मलाई लाग्यो, मेरो जिम्मेवारी प्रणाली सुधार्ने मात्र होइन, समाजको सोच सुधार्ने पनि रहेछ।
गुनासो ४
कतिपय अवस्थामा गुनासो गर्नेहरू अस्पतालको व्यवस्थापनसँग रिसाएका हुन्छन्। लामो लाइन, ओपिडी (OPD) टिकट काट्न लाग्ने समय वा पालो नपाउँदाको झर्को। जब कोही आमा आफ्नो बिरामी छोरालाई सम्हाल्दै, पसिनाले निथ्रुक्क भिजेर मेरो अगाडि आक्रोश पोख्न आइपुग्छिन्, मलाई लाग्छ—यो आक्रोश व्यवस्थापनप्रति मात्र होइन, उनीभित्रको बाध्यता र थकाइको प्रतिविम्ब हो।
यस्तै गुनासाहरूले मलाई प्रणाली सुधारका लागि सोच्न बाध्य बनायो। हामीले सेवाग्राहीको यही मर्कालाई बुझेर सूचनाहरूलाई सजिलै बुझ्न सक्ने गरी डिस्प्ले बोर्डहरू राख्ने र गुनासो प्रक्रियालाई थप सरल र पहुँचयोग्य बनाउने प्रयास सुरु गर्यौँ, जसले गर्दा टाढा-टाढाबाट आएका सिधासाधा नागरिकले आफ्नो कुरा सिधै गुनासो अधिकारीसम्म पुर्याउन सकून्।
गुनासो ५
एकदिन मेरो फोन लगातार बज्यो। मैले रिसिभ गरेर भनेँ, “नमस्कार, मानसिक अस्पतालको गुनासो सुन्ने अधिकारी…”
उताबाट एउटा गम्भीर र अलि हतास आवाज आयो, “सर, मलाई बाँच्न मन छैन, म आत्महत्या गर्न लाग्दै छु। तर मर्नुअघि मलाई तपाईसँग एउटा ठुलो गुनासो छ, त्यही भएर फोन गरेको।”
कुरा सुन्नेबित्तिकै मेरो आङै सिरिङ्ग भयो। तर, मैले आफ्नो सरकारी संयमता र शान्त दिमागलाई तुरुन्तै ‘एक्टिभ‘ बनाएँ। मैले सोधेँ, “भन्नुस् न, मर्नुअघि सुल्झाउनै पर्ने त्यस्तो के गुनासो छ तपाईंको?”
उताबाट बिरामीले झर्किँदै भन्यो, “मैले तपाईंहरूको ओपिडी (OPD) मा आउन तीन पटक अनलाइन टिकट काट्न खोजेँ, तर हरेकपटक सिस्टम डाउन भयो ! मलाई मर्नुअघि एकचोटि डाक्टरलाई भेटेर आफ्नो मनको कुरा भन्नु थियो। तपाईंहरूको यो सरकारी डिजिटल सिस्टम यस्तो झुर नभएको भए, म आज सायद मर्न तयार हुने थिइनँ होला। यो मेरो अन्तिम गुनासो दर्ता गर्नुहोस्!”
मैले स्थितिको गम्भीरता बुझेँ —ती बिरामी वास्तवमा मर्न चाहँदैनथे, उनी केवल कसैले आफ्नो कुरा सुनिदेओस् र उपचार पाइयोस भन्ने चाहन्थे। मैले तुरुन्तै ‘स्मार्ट‘ र अलि रमाइलो शैलीमा कुरा मोडेँ:
मैले भनेँ, “तपाईंको गुनासो शतप्रतिशत सही छ। हाम्रो सिस्टम बिग्रिएकै हो। तर नियमअनुसार, गुनासो अधिकारीले उजुरीकर्ता जीवितै छँदा मात्रै छानबिन गरेर रिपोर्ट बुझाउनुपर्छ। तपाईं अहिल्यै मर्नुभयो भने त म यो झुर सिस्टम सुधार्न पाउँदिनँ नि, मेरो जागिरै जान्छ ! त्यसैले मलाई सघाउनुस्।”
“तपाईं भोलि बिहान सिधै मेरो कार्यकक्षमा आउनुस्। टिकटको लाइनमा बस्नै पर्दैन। म आफैँ तपाईंको हात समातेर सिनियर डाक्टरकहाँ लैजान्छु, तर सर्त एउटै छ —भोलि बिहान १० बजेसम्म तपाईंले आफ्नो यो मर्ने योजनालाई ‘होल्ड‘ मा राख्नुपर्छ।”मेरो यो अलि फरक र आत्मीय कुरा सुनेर उताबाट बिरामी अलिकति हाँस्यो। उसले भन्यो, “ल ठिक छ भेटुवाल सर, तपाईंको जागिर जोगाइदिन भए पनि म भोलि बिहान आउँछु।”भोलिपल्ट उनी साँच्चै आए। मैले उनलाई डाक्टरसँग भेट गराएर आवश्यक काउन्सिलिङ र उपचारको व्यवस्था मिलाएँ। त्यो दिन मैले बुझेँ —कहिलेकाहीँ कडा प्रशासनिक नियम होइन, फोनमा गरिने दुई मिनेटको आत्मीय संवादले पनि कसैको अमूल्य जीवन बचाउन सक्छ।
गुनासो ६
मेरो कार्यकक्षमा केवल उजुरीका पानाहरू मात्र छैनन्, त्यहाँ भित्र कतिपय यस्ता क्षणहरू पनि सुरक्षित छन् जसले मन चसक्क बनाउँछन्।
एकपटक एकजना वृद्ध बुबा आफ्नी श्रीमतीको उपचार गराएर घर फर्किने क्रममा मेरो कार्यकक्षमा आउनुभयो। उहाँको हातमा एउटा कागज थियो। मलाई लाग्यो, फेरि कुनै औषधी नपाएको वा डाक्टरले समय नदिएको गुनासो होला। तर, उहाँले भन्नुभयो “बाबु, मैले गुनासो गर्ने ठाउँ यही हो भनेर सोध्दै आएको। मेरो कुनै उजुरी छैन। विगत १५ दिनदेखि यहाँका सिस्टरहरू र डाक्टर साबहरूले मेरी बुढीलाई जसरी सम्हाले, मैले त भगवान् देखेँ। यो कुरा पनि यो किताबमा लेखिदिनु मिल्छ भने लेखिदिनुस्।”त्यस दिन मैले बुझेँ—गुनासो सुन्ने अधिकारीको काम केवल गल्तीहरू कोट्याउनु मात्र होइन, अस्पतालले गरेका राम्रा प्रयासहरूलाई पहिचान गरी कर्मचारीहरूको मनोबल बढाउनु पनि हो।
निष्कर्ष: आँखाको भाषा र संयमताको परीक्षा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दा एउटा कुरा सधैँ लागू हुन्छ “कहिलेकाहीँ मानिसहरू समाधान होइन, केवल एउटा सुनिदिने कान र बुझिदिने मन खोजिरहेका हुन्छन्।”
यो कुर्सिमा बसेर मैले नीति, नियम र सार्वजनिक प्रशासनका सिद्धान्तहरू मात्र सिकिनँ, बरु मानव स्वभावको सबैभन्दा संवेदनशील र कारुणिक पाटोलाई नजिकबाट नियाल्ने अवसर पाएँ। हरेक सेवाग्राहीको आक्रोशलाई धैर्यतापूर्वक सुन्नु, उनीहरूको आँखामा रहेको पीडालाई बुझ्नु र एउटा सरकारी कर्मचारीको रूपमा उनीहरूलाई मुस्कानसहित ढाडस दिनु नै मेरो दैनिक दिनचर्या र सबैभन्दा ठुलो सन्तुष्टि हो।यो अस्पताल केवल रोग निको पार्ने ठाउँ मात्र होइन, यो त भत्किएका मनहरूलाई बुझिदिएर समाजमा पुन: स्थापित गर्ने एउटा चौतारी हो। र यो चौतारीको एउटा कुनामा बसेर ‘गुनासो सुन्ने अधिकारी‘ को रूपमा देश र नागरिकको सेवा गर्न पाउनु मेरो लागि एउटा फरक, चुनौतीपूर्ण र गर्विलो अनुभव हो।
–भेटुवाल मानसिक अस्पताल, लगनखेलका गुनासो सुन्ने अधिकारी हुन्।
क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस