किन भए दुई सचिव जिम्मेवारीविहीन?
काठमाडौं। सरकारले दुई सचिवलाई जिम्मेवारीविहीन बनाएको चर्चा छ। प्रशासन सेवाका सचिवहरू बाबुराम अधिकारी र डण्डुराज घिमिरे अहिले जिम्मेवारीविहीन अवस्थामा रहेका छन्। दुवैको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिए पनि सचिव डण्डुराज घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कर छुट प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका घिमिरे विशेष अदालतको आदेशपछि ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। घिमिरेको भ्रष्टाचार मुद्दाको छिनोफाने नगरीकन सरकारले कुनै जिम्मेवारी दिन मिल्दैन।
अर्का सचिव बाबुराम अधिकारी पनि ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका छन्। उनी अबको एक हप्ता (भदौ ३ गते)भित्र अनिवार्य अवकाशमा जाँदैछन्। अधिकारी अवकाशमा जाने भएरै बागमती प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा ल्याइएको हो। सुविधा सन्तुलनका हिसाबले काठमाडौं आएका सचिव अधिकारी घर जाने तयारीमा छन्। त्यसका लागि आवश्यक काम गर्न सहज हुने भएकाले काठमाडौं आएका हुन्। घर जान हप्ता दिन बाँकी रहेका सचिवले जिम्मेवारी लिने र दिने दुईटै काम सहज हुँदैन। त्यहिँ भएर सरकारले सचिव अधिकारीलाई जिम्मेवारी नदिएको हुन सक्छ।
संघीय मन्त्रालयको ओएन्डएम समेत सम्पन्न नभएकाले अझैसम्म सचिवको दरबन्दी एकिन हुन सकेको छैन। भदौंबाट भने दरबन्दी एकिन र सचिव बढुवा हुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस