घर जाने सूचीमा रहेका परराष्ट्रका उच्च अधिकारीहरू


काठमाडौं। परराष्ट्र मन्त्रालयका आधा दर्जन कर्मचारी घर जाने सूचीमा देखा परेका छन्। परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखा हेर्ने सहसचिव भृगु ढुंगाना भदौ २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर एक महिनापछि घर जान लागेका हुन्।

क्यानडाको राजदूतबाट फर्किएका ढुंगाना हाल परराष्ट्र मन्त्रालयमा कार्यरत छन्। एउटा देशको राजदूत खाइसकेको व्यक्तिलाई अवकाशको मुखमा राजदूत बनाएर पुरानो प्रवृत्ति रोकिनु पर्छ। उनलाई सरकारले अर्को देशको भारी नबोकाइ आरामले घर गएर अवकाश प्राप्त जीवन जीउन दिनुपर्छ।

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल पनि ५८ वर्ष पूरा भएर पुस ६ गते घर जान लागेका हुन्। थाइल्याण्डको राजदूत पूरा कार्यालय चलाएर परराष्ट्र मन्त्रालय फर्किएका ढकाल युरोप महाशाखा हेरिरहेका छन्। एउटा देशको राजदूत खाएर फेरि परराष्ट्र मन्त्रालय ‘ट्रान्जिट’ बनाएर फेरि अर्को देशमा राजदूत बन्ने विगतको गलत प्रवृत्ति रोकिन आवश्यक छ।

अष्ट्रिया भियनाका राजदूत भरत कुमार रेग्मी २०८४ साल बैशाख १५ गते ५८ वर्ष पूरा हुँदैछन्। २०७९ साल चैतमा अष्ट्रियाको राजदूत भएका रेग्मीको अवकाशको मिति र राजदूतको कार्यकाल पूरा गरेर फर्किने समय एउटै समयमा परेको छ। उनी नेपाल फर्किएलगत्तै सरकारी सेवाबाट घर जाने देखिन्छ।

हाल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका तीर्थराज अर्याल २०८४ असार ११ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी निलम्बनमै रहेकाले अदालतको निर्णयमा भर पर्छ। भ्रष्टाचारमा डामिएर निलम्बनमा परेका सहसचिव अर्याल एक वर्षभित्रै घर जाने सूचीमा छन्।

न्युयोर्कका उपवाणिज्यदूत चक्रबहादुर सुवेदी पुस २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। २०५५ साल चैतमा नेपाल प्रशासन सेवा कुटनैतिक समूहको नायब सुब्बा (नासु)बाट सेवा प्रवेश गरेका चक्रबहादुर सुवेदी २०६८ असारमा विशेष बढुवा मार्फत शाखा अधिकृत भएका हुन्। २०२५ पुस २५ गते झापाको खुदुनावारीमा जन्मिएका सुवेदी २०८० असारमा बढुवा भएरै परराष्ट्रको उपसचिव बने। व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका सुवेदी ६ महिनाभित्रै घर जाने तयारीमा छन्।

दोहा कतारको कार्यवाहक राजदूत कुमार राई २०८४ बैशाख ५ गते ५८ वर्ष पूरा गरेर अनिवार्य जाने सूचीमा छन्। उपसचिव राई चालू आर्थिक वर्षमै घर जाने भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कुमार राई, #गणेशप्रसाद ढकाल, #चक्रबहादुर सुवेदी, #भरतकुमार रेग्मी, #भृगु ढुंगाना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ