एकैदिन सचिव बनेका कुँवर र खत्रीलाई पूर्वउपसचिव खनालले यसरी सम्झिए
बधाई र शुभकामना (अलिकति कथा पनि )
============================
हिजो नेपाल सरकारले बिशिस्ट श्रेणीको सचिव पदमा पदोन्नति गरेका दुई महानुभावहरुको जागिरे जीवनको संयोग गज्जब लाग्छ मलाई ।
बिनोद कुंवर भाइ काश्किको ढिकुरपोखरीमा जन्मनु भएको ।प्रवेशिका परीक्षा उतीर्ण भएपछि लोकसेवा आयोगको प्रतियोगितात्मक परीक्षा उतीर्ण गरि मुखियाको गागिर खान लमजुङको दरवार हेरचाह अड्डा (?) को हाकिम भएर जानू भयो । त्यसै समयमा दाम्पत्य जीवनको सुरुवात गर्नु भयो।( पूर्व कार्यबाहक महालेखा परीक्षक राममाया कुंवर वहाँको जीवन संगीनी हुनुहुन्छ )
शाखा अधिकृत भएपछि लामो समय जुम्लामा सेवा गर्नु भयो। काठमाडौं आएपछि विभिन्न निकायमा रहि सेवा गर्दै खुल्ला प्रतिस्पर्धामा राजस्व समूहको उपसचिव हुनुभयो। तत्कालीन
राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि भएको शान्तिपूर्ण आन्दोलनमा नेपालका निजामती कर्मचारीको पनि अभूतपूर्व सहभागिता रह्यो। बिनोद भाइ र म एउटै मन्त्रालय ( त्यसबेलाको महिला ,बालबालिका तथा समाजकल्याण मन्त्रालय ) मा समान पदमा जागिर खान्थ्यौं ।
आन्दोलन उत्कर्षमा पुग्नलागेको बेला सिंहदरबार भित्र पनि बिद्रोहको कार्यक्रम गर्न चाह्यौं । बिनोद भाइ र मैले त्यसको नेतृत्व गर्दै कार्यक्रम तय गर्न थाल्यौं । पहिलोपटक महिला , बालबालिका तथा समाजकल्याण मन्त्रालयको प्राङ्गणमा श्रम तथा यातायात मन्त्रालय र महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयले संयुक्त कार्यक्रम राख्यौं । त्यस भेलालाई दिदी तुलसा सेढाई ( श्रम मन्त्रालय ) भाइ विष्णुप्रसाद काफ्ले ( महिला मन्त्रालय ) ले सम्बोधन गर्नु भएको थियो। त्यस बखतका कर्मचारी युनियनका अध्यक्ष भवानीप्रसाद थानी र संगठनका अध्यक्ष स्वर्गीय मुरारीप्रसाद भट्टराईले पनि उक्त कार्यक्रममा सहभागिता जनाउनु भएको थियो।
त्यसको भोलिपल्ट हामी दाजुभाइ जागिरको माया मारेर आन्दोलनमा होमिने बिचार गरि सहिद गेट तर्फ जाँदै थियौं । बिनोद भाइले सोध्नुभयो ” ए दाइ तपाईंले जागिर छोड्दा भाउजू र भतिजको बिजोग त हुन्न ?” । मैले भने “मेरा बुवाका ८ सन्तान खेतीपातीको आम्दानी र उपजले पालियौं भने अलिकति पढे कै बुढी छ म पनि मास्टर भएर बस्न सक्छु केहि फरक पर्दैन ।” यसैगरी आन्दोलन चलिरहेको थियो। सिहदरबारको मूख्य भवनको पटाङ्गिनिमा हामीले कार्यक्रम राख्यौं । मुख्य सचीव लोकमान सिंह कार्किलाइ देखाउनु पनि थियो । कार्यक्रम सुरु भयो । बिनोद भाइले बोल्न थाल्नुभयो वहाँको दोस्रो वाक्य नै ” महाराज ज्ञानेन्द्र तिम्रा दुई थान अनुचर ( कृतिनिधी बिष्ट र डाक्टर तुलसी गिरी) बाट तिम्रो सत्ता थामिने वाला छैन । राजनीतिक दल र सर्वसाधारण जनता मात्र होइन हामी निजामती कर्मचारी पनि तिम्रो दिवासपना तोड्न आइ सक्यौं ।” अब हुकुमी शासन चलाउंछु भनेर नसोचे हुन्छ।” यति भनिसक्दा नसक्दै प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगका झ्याल झ्यालबाट ताली बज्न थाल्यो ।
तत्कालीन सहसचिव तुलसीप्रसाद भट्टराई र श्यामप्रसाद मैनाली तथा शाखा अधिकृत विशाल भट्टराईलाई प्रष्ट चिने अरु साथीहरूलाई ठम्याउन सकेको थिइन।
आन्दोलनका क्रममा म ४८घण्टा हिरासतमा बस्नुपर्यो । हिरासतमा बस्ने एकमात्र राजपत्रांकित कर्मचारी मै मात्रै थिएं। राजपत्र अनंकित धेरै साथीहरू थुनामा पर्नु भएको थियो। बिनोद भाइलाई गिरफ्तार गर्न प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी प्रमुख दीपक रञ्जित आफैं आएका थिए। उनी आफैं आउदै गरेको सूचना नेपाल प्रहरीकै एक सिपाही भाइ जो मसङ्ग अत्यन्तै नजिक थिए , उनले दिएका थिए। (ती भाइ अहिले पनि नेपाल प्रहरी कै प्रहरी सहायक निरीक्षक पदमा कार्यरत छन् ।) उक्त सूचना पाउदा हामी गृह मन्त्रालयमा थियौं । हामी तुरुन्तै अधिवक्ता बिनोद कार्की ( बाम्ती,रामेछाप) को मोटरसाइकलमा तीन जना चडेर भाग्यौं । बिनोद भाइलाई महिला ,बालबालिका तथा समाजकल्याण मन्त्रालयका तत्कालीन सहसचिव श्यामसुन्दर शर्मा( हाल मुक्तिनाथ विकास बैंक ) को कार्यकक्षमा छिरायौं। एकछिनमा दीपक रञ्जित त्यहीँ पुगे । कस्तो सुखद संयोग परेछ भने केही समय अगाडि श्यामसुन्दर सर प्रमुख जिल्ला अधिकारी र दीपकजी जिल्ला प्रहरी प्रमुख भएर पाँचथर बस्नुभएको रहेछ। श्यामसुन्दर सरले चिया र गफमा धेरै बेर भुलाएर दीपकजीलाई भुलाएर बिदा गर्नु भयो । बिनोद भाइ पक्राउ पर्नबाट जोगिनु भयो। आन्दोलनले सफलता प्राप्त गरे पश्चात् बिनोद भाइ र म आआफ्नो जिम्मेवारी तिर लाग्यौं ।
उत्तर कुमार खत्री भोजपुरको प्याउली, नौलपुर ( हालको अरुण गाउँ पालिका वडा नम्बर -३) को निरौला खत्री परिवारमा जन्मेका , पढाई र अतिरिक्त क्रियाकलापमा अब्बल थिए। काठमाडौं आए पछि निजि विद्यालयमा शिक्षण गरे। नेपाल प्रहरीको प्र स नि परिक्षा उतीर्ण गरे । तालिम पुरा नहुंदै निजामती सेवामा प्रवेश गरे। निर्वाचन आयोगमा सेवा गरे। अघिकृत भएर रोल्पा र प्युठान जिल्ला प्रशासन कार्यालयमा सेवा गरे। खुल्ला प्रतियोगितामा राजस्व समूहकै उपसचिव भए।
उत्तर र बिनोद दुबै जना एकै दिन राजस्व समूहको उपसचिव भए। उत्तर कञ्चनपुर र बिनोद नेपालगन्जमा भन्सार प्रमुखमा पदस्थापन भएर गए।
सहसचिव पनि एकै दिन भए । भिन्न भिन्न निकायमा पदस्थापन भयो ।

दुबै जना प्रमुख जिल्ला अधिकारी पनि भए । बिनोद बर्दियामा र उत्तर झापामा प्रमुख जिल्ला अधिकारी भएर बसे। पछिल्लोपटक दुबै जना अर्थ मन्त्रालय अन्तरगत महत्त्वपूर्ण जिम्मेवारीमा पनि बसे। बिनोद अलिक धेरै निकाय तिर पुगे उत्तरले भने एकपटक कोशी प्रदेशको सचीव बाहेक सिंहदरबार छोडनु परेन ।
हिजो सचिव पनि एकै दिन भए। संयोग पनि गज्जब छ; उत्तर खत्री उपसचिव हुंदाको पहिलो पदस्थापना र अहिलेको पदस्थापना दुबै सुदुरपश्चिम प्रदेश बिनोद कुंवरको उपसचिव र सचिव दुबै पदस्थापन लुम्बिनी प्रदेश ।
अर्को पनि संयोग छ दुबैजनाले खड्का कै छोरीसङ्ग विवाह गरेकाछन । विनोद भाइ स्वभावतः बामपंथी झुकावको हुनुहुन्छ भने उत्तर खत्री राजनीति बुझ्दछन तर चासो राख्दैनन् । म Social Democrat भएर होला दुबै जनासङ्ग आत्मीय सम्बन्धमा थिएं । उत्तर साइनोले मेरा भाञ्जा भए पनि एउटा असल साथी नै हुन । मलाई जागिरमा रहंदा पटकपटक उग्र राजनीतिक संलग्नता नदेखाउन सचेत तुल्याउंथे ।
आज मलाई मन पर्ने दुबै ( भाइ र भाञ्जा) सचीवको रूपमा पाउदा खुशी भएको छु। आफ्नो पदीय जिम्मेवारी इमानदारी साथ पूरा गरि गर्वगर्न लायक छाप छोड्न सफल हुनुहोस।
हार्दिक हार्दिक बधाई !
क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस