उच्च पदस्थ कर्मचारीको ‘रिटायर्ड क्लब’ जस्तो बनेको रक्षा मन्त्रालय


काठमाडौं। रक्षा मन्त्रालय उच्च पदस्थ कर्मचारीको ‘रिटायर्ड क्लब’ जस्तो बनेको छ। संघका मन्त्रालयमा रक्षा मन्त्रालय मात्र यस्तो देखिएको छ जहाँ अध्यादेशमार्फत कानुन ल्याएर ३०-५५ लागू भयो भने रक्षामा निमित्त सचिव दिने सहसचिव पनि नभेटिने अवस्था छ। अधिकांश मन्त्रालयमा ३०-५५ लागू भए वरिष्ठ सहसचिवलाई निमित्त सचिव दिन सकिने विकल्प देखिन्छ। तर, रक्षा मन्त्रालय मात्र यस्तो ‘रिटायर्ड क्लब’ जस्तो बनेको छ जहाँ निमित्त सचिव बनाउने ‘बिउ’ पनि बाँकी नरहने अवस्था देखिएको हो।

रक्षा मन्त्रालयमा सचिव इन्दु घिमिरेसहित ३ वटा महाशाखा प्रमुख (सहसचिव) नै ५८ तिरको यात्रामा दौडिरहेका छन्। सचिव घिमिरेको जागिर अझै वर्षमा गणना हुन्छ। सहसचिवहरू ज्ञानेन्द्र पौडेल, रूद्रप्रसाद पण्डित र बाबुराम भण्डारीको त जागिर महिनामा पुगिसकेको छ।

असोज १२ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका पण्डितको जागिर ३ महिना बाँकी छ। पुस १८ गते घर जाने सूचीमा रहेका पण्डितले ३९ वर्ष (९) वर्ष बढी अवधिको पेन्सन जोगाउन राजीनामा दिएका हुन्। पण्डितको राजीनामा लागू नभइसकेकाले उनी हालसम्म रक्षाकै सहसचिवमा गणना हुने गरेका छन्।

पण्डितपछि रक्षाका अर्का सहसचिव बाबुराम भण्डारी अवकाश हुने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर ७ महिनापछि अनिवार्य अवकाशमा जाने सूचीमा रहेका हुन्। बैशाख ८ गतेसम्म जागिर बाँकी रहेका भण्डारी पनि ३०-५५ लागू भए ‘रिटायर्ड क्लब’मा पर्ने निश्चित देखिन्छ।

रक्षाका वरिष्ठ सहसचिव ज्ञानेन्द्र पौडेल ९ महिना नपुग्दै ५८ वर्ष पूरा भएर घर जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर असार १ गते अनिवार्य अवकाशमा जाने सूचीमा देखापरेका हुन्। सहसचिव पौडेलको सेवा अवधि पनि ३८/३९ वर्ष पुगिसकेको छ। त्यसैले पौडेलको सेवा अवधि पनि वर्षबाट झरेर महिना गन्ती हुन थालेको हो।

रक्षा मन्त्रालयको सचिव इन्दु घिमिरे ५६ वर्ष पूरा भइसकेकी छिन्। उनको जागिर १ वर्ष १० महिना २०८५ साउनसम्म रहेको छ। सचिव घिमिरेलाई ३०-५५ दुबै सर्त लागू हुने देखिन्छ। यसरी हेर्दा रक्षा मन्त्रालय ‘रिटायर्ड क्लब’ जस्तो देखिएको हो।

निजामती कर्मचारीलाई ३०-५५ लागू हुने गरी तत्काल कानुन आए रक्षा मन्त्रालयमा सचिव र सहसचिव नरहने अवस्था छ। त्यसैले कम्तिमा पनि ३०-५५ को प्रावधानले छुन नसक्ने एक सहसचिव तत्काल रक्षा मन्त्रालयमा पठाउनु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ