पासपोर्ट बनाउन अब आफ्नै जिल्लाबाट, घरमै आइपुग्ने सुविधा


काठमाडौं । पासपोर्ट बनाउनकै लागि काठमाडौं धाउनुपर्ने, बिहानैदेखि लाइन बस्नुपर्ने र बिचौलियाको भर पर्नुपर्ने अवस्थाबाट सेवाग्राहीले क्रमशः मुक्ति पाउन थालेका छन्।

नयाँ राहदानी प्रणाली लागू भएपछि राहदानी विभागले आवेदनदेखि वितरणसम्मको प्रक्रियामा विभिन्न सुधार गरेको छ। सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको नागरिकता जुनसुकै जिल्लाबाट लिएको भए पनि अब आफूलाई पायक पर्ने जिल्ला वा इलाका प्रशासन कार्यालयबाट पासपोर्टका लागि आवेदन दिन सकिने व्यवस्था हो।

गत साउन १४ गतेदेखि लागू भएको व्यवस्थाअनुसार नागरिकता लिएको जिल्ला नै पुग्नुपर्ने बाध्यता हटेको छ। अत्यावश्यक अवस्था नभएसम्म पासपोर्टका लागि काठमाडौंस्थित राहदानी विभागमै धाउनुपर्ने अवस्थासमेत कम भएको विभागले जनाएको छ।

आवेदन दिएपछि कति दिनमा पासपोर्ट पाइन्छ?

जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट आवेदन दिने सेवाग्राहीले सामान्यतया १० देखि ३० दिनभित्र पासपोर्ट पाउने व्यवस्था छ। अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा भने राहदानी विभागबाट आवेदन दिएपछि दुई दिनमै पासपोर्ट तयार हुने व्यवस्था रहेको विभागले जनाएको छ।

विभागका अनुसार तयार भएका पासपोर्ट हुलाक सेवामार्फत सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पठाइन्छ।

‘पासपोर्ट घर–दैलो’ कार्यक्रम

यसअन्तर्गत जिल्ला वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिएका सेवाग्राहीको तयार पासपोर्ट हुलाकमार्फत घरमै पुर्‍याउने व्यवस्था गरिएको छ। अर्थात् पासपोर्ट लिनकै लागि फेरि कार्यालय पुगेर लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रयास गरिएको छ।

काठमाडौंमा लाइन घटाउने प्रयास

राहदानी विभागले काठमाडौंमा पनि अनलाइन अपोइन्टमेन्ट प्रणालीलाई व्यवस्थित बनाएको जनाएको छ।

हाल विभागमा दैनिक १ हजार ५०० भन्दा बढी अपोइन्टमेन्ट स्लट खुला गरिँदै आएको छ। आवेदन र बायोमेट्रिकका लागि तोकिएको समयअनुसार पुग्ने व्यवस्था भएकाले पहिले जस्तो बिहानैदेखि लामो लाइनमा बस्नुपर्ने अवस्था कम भएको विभागको दाबी छ।

त्यस्तै, राहदानी सेवा अत्यावश्यक सेवामा राखिएकाले शनिबार र आइतबारबाहेकका सार्वजनिक बिदाका दिनमा समेत विभागबाट सेवा सञ्चालन भइरहेको छ।

प्रविधि नजान्नेका लागि सहायता कक्ष

अनलाइन फारम भर्न वा प्रविधिको प्रयोग गर्न कठिन हुने नागरिकका लागि विभागले नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ।

विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा प्रविधिमा कम पहुँच भएका सेवाग्राहीलाई त्यहाँबाट प्रत्यक्ष सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।

राहदानीसम्बन्धी जानकारी, समस्या वा गुनासोका लागि कल सेन्टरको व्यवस्था पनि गरिएको विभागले जनाएको छ।

सुधार भए पनि अझै चुनौती बाँकी

सेवा प्रक्रिया सहज बनाउने प्रयास भए पनि सेवाग्राहीको चापअनुसार अपोइन्टमेन्टको संख्या बढाउनुपर्ने आवश्यकता देखिन्छ।

जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट आवेदन दिएका नागरिकले पासपोर्टका लागि १० देखि ३० दिनसम्म कुर्नुपर्ने अवस्थालाई अझ छोट्याउनुपर्ने देखिन्छ। प्रविधिको पहुँच कम भएका नागरिकका लागि सहायता कक्षलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि छ।

नयाँ प्रणाली लागू भएयता हालसम्म १ लाख ६६ हजार ९६४ वटा पासपोर्ट छपाइ भई वितरण प्रक्रियामा रहेको विभागले जनाएको छ। विभागमा रहेका ११२ कर्मचारीले दैनिक करिब ३ हजार सेवाग्राहीलाई सेवा दिइरहेको दाबी गरिएको छ।

यसरी हेर्दा नयाँ प्रणालीको मुख्य परिवर्तन प्रविधि थपिनु मात्र होइन, नागरिकले कहाँबाट आवेदन दिने, कति समय कुर्ने र पासपोर्ट लिन फेरि कार्यालय धाउनुपर्छ कि पर्दैन भन्ने विषयमा आएको सहजता हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ