केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि कांग्रेस बैठक स्थगित


काठमाडौं : नेपाली कांगेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारमिा कोरोना भाइरस संक्रमण देखिएपछि बैठक स्थगित भएको हो ।

कांग्रेसले बैठक बस्नुअघि सोमबार सबै केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारीको कोरोना परीक्षण गरेको थियो । कोरोना संक्रमित नेताको नाम भने कांग्रेसले सार्वजनिक गरेको छैन ।

‘आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ ।’

कांग्रेस बैठक कहिले बस्ने केही खुलाइएको छैन । बिहीबारदेखि काठमाडौं उपत्यकामा दुई साताका लागि लकडाउन घोषणा भएकाले कांग्रेस बैठक अर्काे महिना मात्रै बस्ने अनुमान गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #केन्द्रीय समिति

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ