एक लाख नागरिकलाई पुग्ने खोप प्रयोग नगरी थन्क्याइयो


काठमाडौं ।  सरकारले भिड व्यवस्थापन गर्न नसकेको भन्दै एक लाख बढी नागरिकलाई पुग्ने कोरोना विरुद्धको खोप प्रयोग नै नगरी थक्याएको छ । स्वास्थ्य मन्त्रालयले भिड व्यवस्थापन गर्न नसकेको भन्दै गत बैशाख १५ देखि स्थगित गरेको खोप अभियान अझै संचालनमा आउँन सकेको छैन ।

सरकार खोप खरिदका लागि दिनहु छलफलमा जुटेको छ । तर, भएको खोप म्याद सकिन लाग्दा समेत प्रयोग नगरी थन्क्याइएको छ । कोभिडमा बनाइएको खोपको म्याद ६ महिनाको मात्रै छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्ड १ लाख ५४ हजार ११ डोज र भेरो सेल २ लाख २२ हजार ३ सय ४० डोज प्रयोग गर्न बाँकी छ ।

कोभिसिल्ड खोप दोस्रो मात्राका लागि पुग्ने संख्यामा छैन । ‘दोस्रो चरणमा पहिलो मात्रा लगाएको संख्या १३ लाख ६४ हजार ७ सय १ छ, मन्त्रालयका एक अधिकारीले भने,‘उनिहरुका लागि दोस्रो डोज आउने सम्भावना छैन । त्यसैले बचेको १ लाख ५४ हजार ११ डोज पनि पहिलो मात्रा दिनु उपयुक्त हुन्छ ।’

त्यस्तै भेरो सेल २ लाख २२ हजार ३ सय ४० प्रयोग गर्न मिल्ने छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये २ लाख ८८ हजार ८ सय ३० मात्रै प्रयोग भएको छ । पहिलो मात्रा लगाएकाहरुका लागि सोही संख्यामा मौज्दात राखेर पनि थप २ लाख २२ हजार ३ सय ४० डोज प्रयोग गर्न मिल्ने अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ५० हजारलाई पुग्ने खोप बाँकी रहेको बताए । ‘खोप केन्द्रहरुमा थामिनसक्नु भिड भएकाले चल्दा चल्दैको खोप रोकेका हौं प्रमुख डा गौतमले भने, ‘मन्त्रालयसँग छलफल गरेर केही दिनमा पुन चलाउने छौं ।’सरकारले चिनियाँ खोप भेरो सिल १८ वर्ष देखि ५९ वर्ष सम्मका सबैको लागि खुला गरेको थियो ।

डा गौतमले अब प्रार्थमिकताका आधारमा मात्रै खुला गर्ने बताए । भाइरस नियन्त्रणका लागि विज्ञहरुले खोपमात्रै एक विकल्प भएको बताएका छन् । तर, नेपालमा भने भएको खोप समेत भण्डारण गरेर विभिन्न देशसँग खोप खरिदका लागि परामर्श जारी छ ।

१९ लाख ५ हजार १ सय ५९ जनाले खोप लगाए

खोप शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार हाल सम्म ३१ लाख ४८ हजार खोप उपलब्ध भएको छ । यो सख्यामा भारतले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोज कोभिसिल्ड जोडिएको छैन । उपलब्ध खोप मध्ये १९ लाख ५ हजार १ सय ५९ जनाले दोस्रो मात्रा पाइसकेका छन् ।

त्यस्तै ६५ वर्ष माथिका १३ लाख ६४ हजार ७ सय १ जनाले पहिलो मात्रा लगाए पनि दोस्रो मात्राका लागि खोप नभएकाले रोकिएको छ । सरकारले पहिलो डोज लगाएको ८ देखि १० हप्तामा दोस्रो डोज दिने बताएको छ । खोप उपलब्ध भए १३ लाख ६४ हजार ७ सय १ जनालाईजेठ पहिलो हप्ताबाट लगाउन सुरु गरिने छ ।

अहिलेसम्म जम्मा ३१ लाख ४८ डोज खोप आयो, ६ लाख ६५ हजार डोज मौज्दात

– भारतबाट प्राप्त अनुदान  : १० लाख
– कोभ्याक्स सुविधामार्फत : २२ लाख घोषणा भएकोमा ३ लाख ४८ हजार प्राप्त
– सेरमसँग सरकारले खरिद गरेको : २० लाख मध्ये १० लाख मात्र प्राप्त
– हालसम्म प्राप्त जम्मा : २३ लाख ४८ हजार
– अहिलेसम्म प्रयोग भएको खोप  : २१ लाख ९३ हजार ९सय ८९
– लगाउन बाँक : १ लाख ५४ हजार ११ डोज
– चिनियाँ अनुदान : ८ लाख डोज प्राप्त
–अहिलेसम्म प्रयोग भएको खोप :  २ लाख ८८ हजार ८ सय ३०
–दोस्रो मात्राका लागि मौज्दात : २ लाख ८८ हजार ८ सय ३०
–प्रयोग गर्न मिल्ने  : २ लाख २२ हजार ३ सय ४०

क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड भ्याक्सिन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com