अक्सिजन अभावले महाकाली अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु


काठमाडौं ।  अक्सिजनको अभावले गर्दा महाकाली अञ्चल अस्पतालमा एकै दिन ५ जना भन्दा बढीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताए अनुसार सोमबार दिनभर अक्सिजन अभाव भएको थियो । अक्सिजन आवश्यक पर्ने संक्रमितलाई अक्सिजन नहुदा मृत्यु भएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमबार दिउसोबाट अक्सिजन अभाव भएको बताए । ‘अक्सिजन आउन अझै एक दिन लाग्छ उनले भने, ‘अहिले अक्सिजनको चरम अभाव भएको छ,  साँझ थप अन्यको मृत्यु भएको कुरा आएको छ, त्यसको आधिकारीक पुष्टि हुन बाँकी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथयांक अनुसार सोमबार एकै दिन १ सय ३९ जनाको मृत्यु भएको छ । एकै दिन यति ठुलो संख्यामा कोरोना संक्रमित मरेको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले अक्सिजन अभावले सोमबार धेरै अस्पतालहरुमा संक्रमितको मृत्यु भएको जानकारीमा आएको बताए । अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा मृत्युको संख्या बढेको छ ।

कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिसहरु सघन उपचार कक्षमा पुग्ने कम भएकाले खोप लगाएकाहरुको मृत्यु नगन्य मात्रा भएको अस्पतालहरुले बताएका छन् । पाटन अस्पताल, शसस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल, शिक्षण अस्पतालका चिकित्सकहरुले बताए अनुसार खोप लगाएका व्यक्तिहरुको मृत्युदर नगन्य मात्रामा छ । यदि मृत्यु भएकाहरु पनि दिर्घरोगीहरु छन् ।

कोरोनाको दोस्रो वेभको सिकार युवा पुस्ता भएका छन् । जसले एक डोज पनि कोरोना विरुद्धको खोप पाएका छैनन् । मन्त्रालयले बताए अनुसार संक्रमित हुने र मर्नेहरु युवा छन् जसले खोप लगाउन पाएका थिएनन् । मृत्यु भएका बृद्धबृद्धा पनि खोप नलगाएकाहरु छन् । एक डोज मात्रै खोप लगाएका मानिसहरुलाई पनि कोरोनाले गंभिर बनाएको छैन । सोमबार मृत्यु भएका १ सय ३९ मध्ये ५१ जना ५० वर्षभन्दा मुनिका छन् ।

अस्पतालहरुमा क्षमता भन्दा बढी बिरामी भएपछि टेकु, पाटन, शिक्षण अस्पतालमा खुला ठाउँमा राखेर उपचार सुरु गरिएको छ । कोरोना संक्रमितका लागि एक मात्रै बिकल्प अक्सिजन भएको भन्दै चिकित्सकले अक्सिजनको जरुरी आवश्यकता भएको बताएका छन् ।

अक्सिजन अभावले गर्दा बिरामीको उपचार पनि प्रार्थमिकताका आधारमा सुरु भएको छ । ह्याम्स अस्पतालका निर्देशक डा ज्यातिन्द्र शर्माले ७० वर्ष भन्दा माथिका बिरामी भन्दा ५० वर्ष भन्दा कम उमेर समूहलाई पहिलो प्रार्थमिकतामा राखेको बताए । स्वास्थ्य सेवा पाउनु सबै नागरिकको नैसर्गीक अधिकार हो तर, महामारीको समय छ । शय्या अभाव छ त्यसैले उमेर अनुसार प्रार्थमिकता हेर्नुपरेको हो ।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सबैलाई समान रुपले उपचार गर्नुपर्ने भएपनि बाध्यताले प्रार्थमितकताका आधारमा उपचार गर्नुपर्ने अवस्था आउन लागेको बताए । यही अवस्था रहेको खण्डमा उमेर अनुसार प्रार्थमिकता दिनुपर्छ उनले थपे ।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ नमुना परिक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको छ । यस बिचमा ४ हजार ७ जना निको हुदा १ सय ३९ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकभर एक्टिभ संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ । हाल देशभर ८६ हजार ४२६ जना घरमा बसेका छन् भने, ६ हजार ७१५ जना अस्पतालमा छन् । पछिल्लो २४ घण्टामा ९१० जना आइसियु र २९५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । सरकारको नियन्त्रण भन्दा बाहिर संक्रमण गएपछि स्वास्थ्य मन्त्रालयले दातृनिकायलाई औपचारीक रुपमा सहयोग गर्न अनुरोध गरेको छ ।

उपत्यकाका सबै अक्सिजन उद्योग सत प्रतिशत संचालनमा
उपत्यकामा रहेका सबै आठ वटा अक्सिजन उद्योगले पूर्ण क्षमताका साथ काम गरेका छन् । त्यस्तै उपत्यका बाहिर पनि केही उद्योग बाहेक सबैले सत प्रतिशत अक्सिजन उत्पादन गरेका छन् ।
उपत्यकामा कान्तिपुर अक्सिजनले ९ सय क्षमतामा ९ सय, शंकर अक्सिजनले १५ सय ५० क्षमतामा १४ सय ५०, हिमाल अक्सिजनले ५ सयमा ५ सय, सिता प्रडक्टले ७ सयमा ७ सय, सगरमाथा अक्सिजनले ८ सय ५० क्षमतामा ८ सय ५०, सोपान अक्सिजनले ८ सय ५० क्षमतामा ८ सय ५०, नवज्योती अक्सिजनले ९ सयमा ९ सय र हाम्रो अक्सिजनले ६ सय क्षमतामा ६ सय सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##कोरोना मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com