बिस्तारै अस्पतालमा बेड खाली हुन थाले, ५ लिटर सम्म अक्सिजन चाहिनेलाई भर्नामा समस्या छैन


काठमाडौं ।  अस्पतालमा अक्सिजन सहितका शैय्याहरु बिस्तारै खाली हुन थालेका छन् । कोरोना संक्रमण घट्न थालेपछि अस्पतालका शैय्या खाली हुन् थालेका हुन् ।

चिकित्सकहरुले विगतमा जस्तो शैय्या नपाएर बिरामी मर्ने अवस्था तत्काललाई अन्त्य भएको बताएका छन् । पाटन अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पतालहरुमा बिरामीको चाप दिनहु घटिरहेको छ ।


कोरोना उपचार गर्ने अस्पतालहरुमा बिरामी कम हुन थालेका छन् । तर, सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा जाने बिरामीहरु विगतको जस्तै भएको अस्पतालका चिकित्सक बताउँछन् ।

शिक्षण अस्पतालका कोभिड चिकित्सक डा सन्तकुमार दासले बिरामीको लोड कम भएको बताए । अहिले विगतको जस्तो भिड छैन, आकस्मिक कक्षमा ६० देखि ७० जना सम्म बिरामी बेड नपाएर बस्नुपर्ने अवस्था थियो तर, अहिले आकस्मिक कक्ष खाली हुन थालेको छ ।’


डा दासले ५ लिटर सम्म अक्सिजन चाहिने बिरामी भर्नामा कुनै समस्या नभएको बताए । शिक्षण अस्पतालको आकस्मिक कक्षमा गएर कुनै पनि बिरामीले फर्कनु पर्ने अवस्था छैन ।

यस्तै देशको एक मात्र सरुवारोग अस्पताल टेकुमा पनि बिरामीको लोड घटेको छ । अस्पतालका चिकित्सक डा श्रवणकुमार मण्डलका अनुसार चिकित्सकहरुले केही राहत महशुस गरेका छन् । मंगलबार मात्रै ८ वटा वेड आकस्मिक कक्षमा खाली छ उनले भने ।


सामान्य अक्सिजन समेत नपाएर केही दिन अगाडी देशभर ठुलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थियो । अहिले भारतबाट समेत सहज रुपमा लिक्विड अक्सिजन ट्याङ्क आउन थालेपछि सहज भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com