कोरोना संक्रमित बिरामीको उपचारका नाममा दश निजी अस्पतालको दोहोर लुट


काठमाडौं । कोरोना महामारीका बेला उपचारका नाममा दश निजी अस्पतालले गरिब तथा असाहय बिरामी माथि लुट मच्चाएका छन् । कोरोना संक्रमितको उपचार निशुल्क गर्ने सम्झौता गरेका यी अस्पतालहरुले बिरामीसँग मोटो रमक लिने र सरकारसंग पनि तीनै बिरामीको नामबाट रकम लिएको पाइएको हो ।

बिरामीहरुको उजुरीका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक समितिले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा उजुरी परेका सबै निजी अस्पतालले बिरामीसँग उपचारका नाममा लुट मच्चाएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले उजुरी आएका माथि छानबिन गर्दा व्यापक मात्रामा बिरामी ठगी गरेको पाइएको हो । १० अस्पताल मध्ये कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वाँग स्वास्थ्य सदन कुपण्डोल बाहेक सबै अस्पतालहरुले निशुल्क उपचार गराउने सम्झौता गरेका छन् । तर, निःशुल्क उपचार गराउने सम्झौता गरेका अस्पतालहरुले नै दोहोरो लुट मच्चाएका छन् उनले भने ।

अनुसन्धानले दोहोरो रकम लिएको पुष्टि भएपछि तत्काल बिरामीसँग लिएको बढी रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । सह प्रवक्ता अधिकारीले भने, संक्रमितले शसुल्क उपचार गराउदा संक्रमित वा आफन्तसँग शसुल्क उपचार गराउँदैछु भन्ने सुनिश्चित मञ्जुरीनामा नलिएको उजुरीकर्ताले भनेको र अस्पतालसँग कुरा गर्दापनि त्यसको प्रमाण दिन सकेनन् ।

स्वास्थ्य मन्त्रालयले अनुसन्धानका क्रममा सम्झौता गरेका अस्पतालले पनि सरकारले तोकेको भन्दा बढी रकम लिएको फेला पारेको हो । सरकाले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडियुमा बसेको ३५ सय र आईसियु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको छ ।

छानविन गर्दा ठगिएका बिरामीहरु

उमेरले ७४ वर्ष पुगेका माघव प्रसाद घिमिरेले नेपाल मेडिकल कलेजमा उपचार गराए । सरकार समक्ष निशुल्क उपचार गर्ने सम्झौता गरेपनि कलेजले २५ दिनमा बिरामीसँग १ लाख ४० हजार ६१० रुपैयाँ लिएको छ । स्वास्थ्य मन्त्रालयले उक्त रकम फिर्ता गर्न लगाउने र रकम फिर्ता नहुदा सम्म अन्य स्रोत भर्ना नदिने भएको छ ।

५४ बर्षिय धन कुमारी घले बैशाख १ गते कान्तिपुर जनरल अस्पताल भर्ना भएकी थिइन् । ०७८ बैशाख १५ गते अस्पताल भर्ना भएकी घलेको जेठ ९ गते मृत्यु भयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनले १० लाख ८८ हजार १८५ रुपैयाँ बिरामीसँग लिएको उल्लेख गरेको छ । तर, अस्पतालले सरकारसँग कोरोना संक्रमितको उपचार निशुल्क गर्न कुनै सम्झौता गरेको छैन । सह प्रवक्ता अधिकारीले सरकारले तोकेको भन्दा बढी लिएको पाइएकाले बढी हुने रकम फिर्ता गर्न लगाउने बताए ।

४२ वर्षकी जया पौडेल काठमाडौंको चावहीलमा रहेको मेडिकेयर अस्पतालमा ०७८ बैशाख ३१ गते भर्ना भईन् । उपचारका क्रममा जयाको जेठ ५ गते मृत्यु भयो । सरकारसँग निशुल्क उपचार गर्ने सम्झौता गरेको अस्पतालले जयाको परिवारसँग १ लाख ८३ हजार ६५६ रुपैया रकम लिएको पाइएको छ । मन्त्रालयले तोकेको रकम भन्दा बढी हुने सबै रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

५२ बर्षिय शिवप्रसाद शाही काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा गत बैशाख १० गते भर्ना भए । उनलाई चिकित्सकले आइसोलेसन सहित आइसियूमा २२ दिन उपचार भयो । स्वास्थ्यमा कुनै ठुलो समस्या नभएका शाहीलाई अस्पतालले जबर्रजस्त ४ लाख १७ हजार ७०५ रुपैयाँ लिएको छ । त्यस्तै ५६ वर्षका गुरुप्रसाद घिमिरेको १७ दिन आइसोलेसनमा बस्नु भयो । मनमोहन मेमोरियल अस्पतालले १७ दिनमा गरिब बिरामीसँग ४ लाख ७ हजार २४५ रुपैयाँ उठाएको छ । बढी लिएको सबै रकम फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यता विराटनगर स्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले ६५ वर्षीय रामजी महतोको उपचार बापत ५ लाख ७२ हजार ६७० रुपैयाँ लिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले तयार पारेको प्रतिवेदनमा महतो बैशाख २१ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै जेठ ८ गते उनको निधन भएको थियो । सम्झौता गरेको अस्पतालले दोहोरो रकम उठाए पछि स्वास्थ्य मन्त्रालयले बिरामीको रकम फिर्ता गराउने र फिर्ता नहुदा सम्म अस्पतालको अन्य सबै सोधभर्ना रोक्का गर्ने बताएको छ ।

विराट मेडिकल कलेज टिचिङ अस्पतालले नै अप्सरा गिरीको उपचारमा ४ लाख ४३ हजार ६ सय ७७ रुपैयाँ लिएको छ । मन्त्रालयका अनुसार उनी बैशाख १२ देखि जेठ ६ सम्म भर्ना भएकी थिईन् । उनको रकम पनि मन्त्रालयले फिर्ता गराउन लगाउने भएको छ ।

सर्वांग स्वास्थ्य सदनले नरेश्वर गौतमको उपचारमा १ लाख ३८ हजार ८५० रुपैयाँ लिएको पुष्टि भएको छ । जेठ १६ गते भर्ना भएका नरेश्वर २२ गते डिस्चर्जा भएका थिए । यस बिचमा अस्पतालले मोटो रकम ठगेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

त्यस्तै रेनुका गौतमको उपचारमा सर्वांग स्वास्थ्य सदनले सोही मितिमा २ लाख १३ हजार ८ सय रुपैयाँ लिएको छ । सरकारसँग सम्झौता नगरेको उक्त अस्पतालले बढी रकम लिएपछि सो रकम फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले यी घटना प्रतिनिधि घटना मात्रै भएको बताएको छ । किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, विराट अस्पताल, सर्वाङ स्वास्थ्य सदन कुपडोल र मेडिकेयर अस्पताल विरुद्धसमेत दर्जनौं उजुरी परेका छन् । ती उजुरी माथि मन्त्रालयले छानविन गरिरहेको छ ।

मन्त्रालयले छानबिनका लागि डा. समिर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।
यता सरकारी निर्देशनलाई अटेरी गर्दै ह्याम्स, नेपाल मेडिसिटी, काठमाडौं मेडिकल कलेज, ग्राण्डीलगायतका अस्पतालले प्रतिदिन–प्रति व्यक्ति ५० हजारसम्म लिने घोषणा गर्दासमेत मन्त्रालयले कुनै ‘एक्सन’ लिन सकेन ।

सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउदैनन् । त्यसैगरी, खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com