बीपीको रजिष्ट्रार बन्न मन्त्रीलाई ७ करोड घुस ! पर्शुराम बस्नेत पनि जोडिए (अडियो सहित)


बीपीको रजिष्ट्रार बन्न मन्त्रीलाई ७ करोड घुस !

काठमाडौं । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्त हुँदा डा. मोहनचन्द्र रेग्मीले तत्कालीन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड घुस खुवाएको आरोप लागेको छ । प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीका तत्कालीन् सल्लाहकार दिलीप भट्टराईले मन्त्री ढकालले रेग्मीसँग ७ करोड लिएर रजिष्ट्रारमा नियुक्ति गरेको खुलासा गरेका छन् । त्यो पैसा विभिन्न शक्ति केन्द्रलाई बुझाएको कुरा पनि उल्लेख गरिएको छ । स्वास्थ्यलाईभलाई प्राप्त उपकुलपति गिरी र सल्लाहकार भट्टराईबीच भएको अडिओ कुराकानीमा एमालेका नेता पर्शुराम बस्नेतलेसमेत मन्त्री मिलाएको सुन्न सकिन्छ । कुराकानीमा उपकुलपति गिरीले मोहनको लागि आफूले माहोल बनाएको र त्यसमा पर्शुरामको पनि सहयोग रहेको बताएका छन् । मन्त्रीसँग पर्शुरामको राम्रो सम्बन्ध रहेको र मोहनलाई रजिष्ट्रार बनाउन मन्त्रीसँग कुरा गर्दा पर्शुराम पनिसँगै रहेको कुरा प्राप्त अडिओमार्फत खुलासा भएको छ । उपकुलपति गिरीले भट्टराईसँगको कुराकानीमा रजिष्ट्रारमा मोहनलाई ल्याउँनु पर्ने एजेण्डामा कुरा भएको सुनाउँदै त्यो कुरा मोहनलाई भन्दिनु भनेका छन् । स्वास्थ्यलाईभलाई प्राप्त अडिओ कुराकानी र सल्लाहकार भट्टराईले सामाजिक सञ्जालबाट मोहनचन्द्रलाई रजिष्ट्रार बनाउँदा ७ करोड बुझाएको कुरामा तालमेल देखिन्छ । अमुक कम्पनीको सामान किन्ने सर्तमा पैसा जम्मा गरेको उनको खुलासा छ ।

उपकुलपति गिरीले रजिष्ट्रारका लागि रामप्रताप पंजियार, मोहनचन्द्र रेग्मी र चुडामणि तिमिल्सेनाको नाम सिफारिस गरेको पत्रसमेत स्वास्थ्यलाईभले फेला पारेको छ । तर आर्थिक चलखेलका आधारमा रजिष्ट्रारमा रेग्मीलाई नियुक्ति गरिएको प्राप्त प्रमाणहरूबाट सहजै अनुमान लगाउन सकिन्छ । बीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्तिका लागि स्वास्थ्य प्रशासन, व्यवस्थापन वा अन्य विषयमा उच्च शिक्षा प्राप्तगरी प्रशासनमा अनुभव भएको योग्यता रहेको छ । तर त्यो योग्यतानै हासिल नगरेका रेग्मीलाई आर्थिक चलखेलका आधारमा बीपीको रजिष्ट्रार बनाइएको खुल्न आएको छ । बीपी प्रतिष्ठानको रजिष्ट्रारमा रेग्मीको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको छ । रेग्मीले अदालत मिलाउछु भन्दै फुर्ती लगाउन थालेको उनी निकट व्यक्तिहरू सुनाउँछन् ।

मोहनचन्द्रमाथि राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएका बेला सदभावना पार्टीको सदस्यता , नेता गगन थापा स्वास्थ्यमन्त्री भएका बेला चितवन पुगेर नेपाली काँग्रसको सदस्यता , उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा सोही पार्टीको सदस्यता लिएको र भानुभक्त ढकाल स्वास्थ्यमन्त्री रहेका बेला धरानबाट नेकपाको सदस्यता लिएकोसमेत आरोप लागेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन
ट्याग : #Exclusive

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com