शशांकलाई स्वास्थ्यमन्त्री बनाउन देउवाको जोडबल, सकारात्मक प्रतिक्रिया


काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महामन्त्री शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनेर सरकारमा आउन आग्रह गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र महामन्त्री कोइरालाबीच भएको भेटवार्तामा देउवाले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री  बनेर सरकारमा आउन जोडबल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाको प्रस्तावमा महामन्त्री कोइराला सकारात्मक छन् । यस विषयमा आफूले केही दिनभित्रै निर्णय गर्ने भनेर बालुवाटारबाट निस्किएको स्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले कांग्रेस सभापतिमा आफ्ना प्रतिस्पर्धी बन्न खोजेका शशांकलाई आफू भन्दा दोस्रो स्थानमा सरकारमा सहभागीता गराएर बलियो बन्ने रणनीति अख्तियार गरेका छन् । उनी स्वास्थ्यमन्त्री बन्न राजी भए प्रतिष्पर्धामा अर्को उम्मेदवार बन्ने र चुनाव जित्न सहज हुने बालुवाटारको आँकलन छ । देउवाको प्रस्तावमा शशांकले सकारात्मक प्रतिक्रिया दिएसँगै बालुवाटार उत्साहित भएको छ । रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडूलाई  स्वास्थ्य मन्त्री बनाउने तयारी भएपनि महामन्त्री शशांक मन्त्री हुन राजी भए बडूले अर्कै मन्त्रालयको जिम्मेवारी पाउने देउवा निकट स्रोतको भनाई छ ।
महामन्त्री शशांक कोटाबाट डा. मीनेन्द्र रिजालको नाम मन्त्रीमा प्रस्ताव आएको थियो । तर, उनी आफैं सरकारमा सहभागी हुने भएकाले रिजाल पनि मन्त्रीको दौडबाट आउट हुने भएका छन् । त्यो अवस्थामा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चाहना राखेकी सुजाता कोइरालाको पनि सरकारमा जाने बाटो बन्द हुने भएको छ ।
कांग्रेसले बढीमा ८ वटा मन्त्रालय पाउने सम्भावना छ । अहिले प्रधानमन्त्री देउवाले भोजपुरका ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री र रुपन्देहीक बालकृष्ण खाँडलाई गृहमन्त्री बनाएका छन् ।

देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई मन्त्री बनाउन चाहेका छन् । पौडेल समूहले ४ वटा मन्त्रालय दाबी गरेपनि ३ वटासम्म दिने मनस्थितिमा देउवा रहेका छन् । सिटौला समूहबाट मन्त्रीमा उमाकान्त चौधरीको नाम आएको बालुवाटार स्रोतको दाबी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com