कागेश्वरी नगरपालिकाले घरघरमै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क स्वास्थ्य उपचार गरिदिने


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले घरघरमै स्वास्थ्यकर्मी परिचालन गरी जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार गरिदिने निर्णय गरेका छन् ।

मेयर कार्कीले पदभार सम्हाल्दै नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क स्वास्थ्य उपचार गरिदिने निर्णय गरेका हुन् । उनले गरेको ४ बुँदे निर्णयमा जेष्ठ नागरिकलाई घरघरमानै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

‘यस नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घरघरमानै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने’, कागेश्वरी मनोहराका नवनिर्वाचित मेयर कार्कीले गरेको पहिलो निर्णयमा भनिएको छ । त्यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई नियमित स्वास्थ्य परिक्षण तथा उपचार सेवा विद्यायलमानै निःशुल्क उपलब्ध गराउने उनको निर्णय छ ।

नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा सञ्‍चालनमा रहेका प्रारम्भिक बालविकास (ईसिडी) कक्षाहरुलाई समानस्तरमा सञ्‍चालन गर्नलाई शैक्षिक सामग्रीलगायत पूर्वाधारयुक्त बनाउनको लागि नगरपालिकाले आवश्यक बजेटसहितको व्यवस्था गर्ने भएको छ ।

कागेश्वरी-मनोहरा नगरपालिकाभित्र सञ्‍चालित खानेपानी समस्यलाई निराकरण गर्नका लागि आगामी पाँच वर्षभित्र प्रत्येक घरमा स्वच्छ खानेपानीको एक धारा उपलब्ध गराउन मेयर कार्कीको पहिलो निर्णयमा उल्लेख छ । त्यसका लागि कागेश्वरी मनोहरा वृहत्त खानेपानी आयोजना संचालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने उनको भनाइ छ । विद्यमान खानेपानी आपूर्तिको अवस्था, उपलब्ध वैकल्पिक व्यवस्था र श्रोत समेतको पहिचान गरी कागेश्वरी मनोहरा वृहत्त खानेपानी आयोजना संचालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने मेयर कार्कीले निर्णय गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा यस कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई हामीलाई निर्वाचित गराएमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित मेयर कार्कीले आम मतदाता तथा नगरवासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

क्याटेगोरी : जीवनशैली, प्रदेश
ट्याग : #एक घर एक धारा, #कागेश्वरी मनोहरा, #घरघरमै गएर निःशुल्क स्वास्थ्य उपचार, #मेयर उपेन्द्र कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com