न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याज पिडीतमध्ये अधिकांशमा ‘लो प्रेसर’


काठमाडौं । काठमाडौं आइपुगेका मिटरब्याज पिडीतमध्ये अधिकांशमा रक्तचाप कम अर्थात् लो प्रेसर भएको पाइएको छ ।

१३ दिन पैदल यात्रा गरेर न्यायका लागि काठमाडौं आइपुगेका मधेश प्रदेशका ८ जिल्लाकै गरी झन्डै एकसय जनामध्ये अधिकांशमा रक्तचाप कम भएको पाइएको हो ।

मिटर ब्याज साहुको पीडाबाट न्याय पाउनका लागि आन्दोलनकर्ताहरू काठमाडौं आइपुगेको थाहा पाएपछि निजामति अस्पतालका मेडिकल अधिकृत डा.अजित मल्लिकलले स्वयंसेवी रुपमा आएर उनीहरूको स्वास्थ्य जाँच गरेका थिए ।

उनका अनुसार अधिकांश मानिसमा रक्तचाप कम भएको छ । त्यस्तै अधिकांशमा पेट दुख्ने, टाउको दुख्ने, केहीमा उच्च रक्तचाप, रुघाखोकीको समस्या पनि देखिएको डा. मल्लिकले बताए ।

सिरहा गोलबजारकी खैरुल खातुन ३६ वर्षकी छिन् ।

उनी भन्छिन्, ‘१२ वर्ष अघि श्रीमान विदेश जादा लिएको साढे २ लाख रुपैयाँको ऋण तिरेपनि अहिले तेब्बरका दरले साहुले पैसा तिर्न भनिरहेको छ । श्रीमानसँग पनि सम्पर्क छैन । तेत्रो पैसा कसरी तिर्ने भनेर तनाव भएर न्यायका लागि काठमाडौं आएको हुँ ।’

१३ दिनको हिँडाइका कारण जिउ पुरै गलेको, रिङ्गाटा लाग्ने, टाउको दुख्ने जस्तो समस्याले थला नै परिसकेको उनी सुनाउँछिन् ।

डा.मल्लिकले उनको चेकजाँच गर्दा उनमा प्रेसर लो रहेको पाइयो ।

यस्तै रेखादेवी मुखिया पनि न्यायका लागि काठमाडौंमा छिन् । उनलाई भने उच्च रक्तचापको समस्या देखिएको छ भने आशो देवीमा पनि उच्च रक्तचापको समस्या देखिएको छ ।

विश्मी देवीमा भने टाउको दुख्ने, रिङ्गाटा लाग्ने समस्या देखिएको छ । उनको चेकजाँच गर्दा उनमा रक्तचाप कम भएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com