संघमा आउने सचिवमा पहिलो हकदार पन्थ, अधिकारीको चर्को दौडधुप

काठमाडौं। प्रदेशबाट संघको सचिव बनेर आउने पहिलो हकदार बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ हुन्। २०८१ भदौमा सचिव बढुवा भएका पन्थ लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट बागमती प्रदेशको प्रमुख सचिव बनेर आएका थिए। लुम्बिनीमा पन्थ कायममुकायम प्रमुख सचिव भएर समेत बसे। पन्थले छाडेपछि लुम्बिनीको प्रमुख सचिव बनेर गएका बाबुराम अधिकारी संघमा आउन चर्को दौडधुप गरिरहेका छन्।
प्रदेशमध्येका वरिष्ठ प्रमुख सचिव पन्थपछि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव कमलप्रसाद पोखरेल संघमा आउने दोस्रो हकदार हुन्। पन्थभन्दा एकहप्ता पछाडि सचिवमा बढुवा भएका पोखरेल संघमा आउन पाउनु पर्ने हो। तर, गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टको यहीं जेठ २२ गते अनिवार्य अवकाश हुने भएपछि उनको पहिला सरूवा हुने सम्भावना छ।
सचिवमा बढुवा भएका शोभाकान्त पौडललाई गण्डकीमा पठाएर विष्टलाई ‘पेन्सनपट्टा’ बनाउनका लागि संघमा सरूवा गर्ने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो। विष्ट पन्थ र पोखरेलपछि सचिवमा बढुवा भएका थिए।
भदौमा सचिवमा बढुवा भएका पन्थ, असोजमा सचिव भएका पोखरेल, कार्तिकमा सचिव बढुवा भएका विष्टभन्दा माघमा सचिव भएका अधिकारी संघमा आउन चर्को ‘लबिइङ’मा लागेको पाइन्छ। अधिकारी वाणिज्य तथा आपूर्ति सचिव बन्ने दौडमा रहेको चर्चा छ। तर, प्राकृतिक हिसाबले पन्थ नै संघमा आउनु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #कमलप्रसाद पोखरेल, #बाबुराम अधिकारी, #महादेव पन्थ, #रघुराम विष्ट
तपाईको प्रतिक्रिया दिनुहोस