‘एक्सिडेन्टल’ मुख्यसचिव अर्यालमा पलाएको महत्त्वकांक्षा

समाचार टिप्पणी
काठमाडौं। अन्त:शुल्क स्टिकर छपाईं घोटालामा मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा दायर भयो। भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परे। अर्याल निलम्बन परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लिलादेवी गड्तौलाले निमित्त मुख्यसचिव बनिन्। त्यसैबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो। निमित्तबाट कायममुकायम हुँदै मुख्यसचिव बनेकी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाइन्। गड्तौला मुख्यसचिव भएपनि गृहसचिवबाट नहटेका एकनारायण अर्याल मुख्यसचिव बने। आफूभन्दा वरिष्ठ सचिवहरू तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराईलाई पछि पार्दै एकनारायण मुख्यसचिव बनेका हुन्।
बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा दायर नभएर निलम्बनमा नपरेको भए एकनारायण अर्याल ५ वर्ष सचिव चलाएर घर गएको ३ महिना भइसक्थ्यो। तर, ‘एक्सिडेन्टल’ मुख्यसचिव बनेका अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर ९ गतेसम्म सरकारी जागिरमा रहन्छन्। ‘एक्सिडेन्टल’ मुख्यसचिव बनेका अर्याललाई पछिल्लो समय निकै महत्त्वकांक्षा बढेर गएको पाइन्छ। ५८ वर्षे उमेर हद स्वीकारेर जागिर खाएका अर्याल तत्काल मिले २ वर्ष नमिले १ वर्ष जागिर लम्ब्याउन लागिपरेका छन्। प्रस्तावित
संघीय निजामती सेवा ऐन जारी भएको ३५ दिनपछि ५८ वर्षे उमेर हद ५९ वर्ष बनाउनु पर्छ भन्ने मुख्यसचिव अर्यालको नेतृत्वमा ‘लबिइङ’ सुरू भएको छ। त्यसका लागि उनीहरू नेताको चाकडीमा हिँड्न थालेका छन्।
‘एक्सिडेन्टल’ मुख्यसचिव अर्याललाई तत्काल १ वर्ष जागिर लम्ब्याएर मात्र पुगेको छैन अवकाशपछि संवैधानिक नियुक्तिको ढोला समेत खुला नै राख्नु परेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २ वर्ष ‘कुलिङ पिरियड’ राख्ने गरी गरेको सहमति उल्ट्याउन मुख्यसचिव अर्याल कै नेतृत्व सचिवहरूले परेड खेल्न थालेका छन्। ‘एक्सिडेन्ट्ली’ मुख्यसचिव बनेका अर्यालको महत्त्वकांक्षाको पारो कति बढेको छ यसबाटै प्रस्ट हुन्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णलाई अघि लगाएर मुख्यसचिव अर्यालको नेतृत्वमा ‘कुलिङ पिरियड’ हटाउने ‘निर्लज्ज लबिइङ’ भएको छ। यसले कर्मचारी प्रशासनप्रति आम नागरिकमा वितृष्णा पैदा हुन थालेको हो। मधेशी कोटाबाट उपसचिव र सहसचिव हुँदै सचिव बनेका कर्णको जागिर अब एक वर्ष मात्रै बाँकी छ। उमेर प्रशस्तै भएपनि संवैधानिक नियुक्ति ताकेर हिँडिरहेका चाकडीमा पोख्त सचिव कर्णको ‘कुलिङ पिरियड’ले निद हराम भएको छ। जहाँ गएपनि एउटै पिए लिएर हिँड्ने भनेर बदनामी कमाएका कर्णलाई लिएर अघि लगाएर ‘कुलिङ पिरियड’ हटाउने लबिइङ भएको हो।
मुख्यसचिव अर्याल र सचिव कर्णको स्वार्थ मिलेकाले ‘कुलिङ पिरियड’ हटाउने ‘निर्लज्ज लबिइङ’मा लागेका छन्। नायब महान्यायाधिवक्ताबाट संसद्को सचिव हुँदै महासचिव बनेका पद्मप्रसाद पाण्डे पनि उनीहरूसँग स्वार्थ मिलेपछि ‘कुलिङ पिरियड’ हटाउन अनुहार छोपेरै लागेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कुलिङ पिरियड, #मुख्यसचिव एकनारायण अर्याल, #सचिव कृष्णहरि पुष्कर कर्ण
तपाईको प्रतिक्रिया दिनुहोस