विकल र सुनिलको ‘एस-म्यान’ बन्दा भ्रष्टाचारमा डामिएका सफल र रमेश


काठमाडौं। आईटी माफिया विकल पौडेल र सुनिल पौडेलको ‘एस-म्यान’ बन्दा सफल श्रेष्ठ र रमेश पोख्रेल भ्रष्टाचारका आधा दर्जन मुद्दा खेप्न बाध्य भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको निर्देशकको भूमिकामा रहेका सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधा दर्जन मुद्दा लगाएको छ। त्यसमा सफल त विकल जोडिएको अन्तःशुल्क स्टिकर खरिद घोटालामा विशेष अदालतबाट भ्रष्टाचार नै ठहर भइसकेका छन्।

पौडेल बन्धु पर्वतका विकल र तनहुँका सुनिलको हरेक ठेक्का बदमासीमा गोरखाका सफल र सुनसरीका रमेश जोडिएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा मात्र होइन सुरक्षण मुद्रण केन्द्रका आईटी खरिदमा समेत सफल र रमेश जोडिएको पाइन्छ। विकल र सुनिलको विश्वास पात्र भएर काम गर्दा उनीहरू अहिले विशेष अदालतमा धाइरहेका छन्। पछिल्लो समयम राष्ट्रिय सूचना प्रविधि केन्द्रले ‘डब्ल्यूडीएन’सँग ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पनि सफल र रमेश डामिएका हुन्।

विकल र सुनिल जोडिएको भ्रष्टाचारका प्रायजसो ‘केस’मा सफल र रमेश छुटेका छैनन्। एउटा मुद्दामा सफाइ पाए पनि अर्को मुद्दामा डामिने अवस्था निरन्तर चलिरहेको छ। विकल र सुनिल जोडिएका अझै २/३ वटा भ्रष्टाचारका मुद्दामा सफल र रमेश जोडिएको अख्तियार स्रोतले बतायो। आर्थिक रूपमा त्यति ठूलो लाभ नलिए पनि विकल र सुनिलको प्यादा बन्दा सफल र रमेश नामुद भ्रष्टाचारीको बिल्ला भिर्न विवस भएका छन्। भत्ता र कमिसन खाएको पैसाभन्दा उनीहरूले मुद्दा लड्न बढी खर्च गर्न परेको छ।

कसैको प्यादा बनेर मनलाग्दी काममा साथ दिँदा एकदिन नराम्रोसँग फेला परिन्छ भन्ने कुरा सफल र रमेश ज्वलन्त उदाहरण हुन्। सफल र रमेश बन्ने कि नबन्ने भन्ने कुरा व्यक्तिले तय गर्ने विषय हो।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #रमेश पोख्रेल, #विकल पौडेल, #सफल श्रेष्ठ, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ