कान्ति बाल अस्पतालमा लेखाका उपसचिव किन जाँदैनन्? रेग्मी गएनन् निरौला के गर्लान्?


काठमाडौं। कुनै बेला निकै आकर्षक मानिने कान्ति बाल अस्पतालमा पछिल्लो समय लेखाका उपसचिव जान भागभाग गर्न थालेका छन्। यसअघि कान्ति बाल अस्पतालमा पठाइए कै लेखा उपसचिव विष्णुहरि रेग्मी हाजिर नै हुन गएनन्। त्यसबापत उनलाई ‘पुरस्कार स्वरूप’ महालेखा नियन्त्रक शोभाकान्त पौडेलले कर्मचारी प्रशासन शाखा प्रमुख बनाएका छन्। उपसचिव भएको १ वर्ष पनि नभइ र खटाएको ठाउँमा नगई महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमा डेरा जमाएर बसेका रेग्मीलाई कर्मचारी प्रशासन शाखा प्रमुख बनाइएको हो। रविन कोइराला, निरज केसीलगायत ‘सिनियर’हरूले हाँकेको मलेनिकाको कर्मचारी प्रशासन शाखाको कमाण्ड गर्न उनका लागि त्यति सहज देखिँदैन।

उपसचिव रेग्मी कान्ति बाल अस्पताल जान नमानेपछि हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत मुरारी निरौलालाई उक्त ठाउँमा पठाइएको छ। एक वर्षमै कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै शिक्षा मन्त्रालय पुगेका निरौला ६ महिना नपुग्दै फेरि कान्तितिर लखेटिएका छन्। उनी कान्तिमा जान आनाकानी गरिरहेको मलेनिका स्रोतले बतायो।

निरौला लावण्यराज दाहालपछि सबैभन्दा बढी सरूवा हुने कर्मचारीमा परेका छन्। उनी कोलेनिका दोलखाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ६ महिना पनि नटिकी शिक्षा मन्त्रालय पुगे। शिक्षा मन्त्रालयबाट पनि ६ महिना नपुगी कान्ति बाल अस्पताल सरूवा भएका छन्। शिक्षा मन्त्रालयबाट सरूवाका लागि तीव्र दवाव आएपछि उपसचिव निरौलालाई कान्तितिर पठाइएको मलेनिका स्रोतले बतायो।

दाहाल एक वर्षभित्रै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक पुगेका छन्। निरौला पनि उनको पदचाप पछ्याउँदै कलेनिका दोलखा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय हुँदै कान्ती बाल अस्पताल पुगेका छन्। उनी कान्तिमा हाजिर हुन्छन् कि रेग्मी जस्तै अर्कोतिर हानिन्छन् हेर्न बाँकी छ। तर, एउटै व्यक्तिलाई एकै वर्ष यति धेरै ठाउँमा सरूवा गर्नु महालेखा नियन्त्रक कार्यालयभित्र देखिएको बेथितिको पराकाष्ठा हो।

किस्ताबन्दीमा लेखाका उपसचिवहरूको सरूवा

महालेखा नियन्त्रकको भूमिकामा शोभाकान्त पौडेल गएपछि लेखा कर्मचारीको सरूवा धन्दा फस्टाएको छ। महालेखा नियन्त्रक कार्यालयले दिनप्रतिदिन ठूलो संख्यामा लेखाका कर्मचारी सरूवा गरेको सूची सार्वजनिक गर्न थालेको हो।

महालेखा नियन्त्रक कार्यालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव मधुसुधन पौडेलको परराष्ट्र मन्त्रालयमा सरूवा गरेको छ। मलेनिकाका कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसीको बबई सिंचाई आयोजना, बर्दिया सडकमा रामचन्द्र शर्मालाई सरूवा गरेको हो।

सडक विभागका विवादित उपसचिव रविन कोइरालालाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरेको छ। दिल्ली दूतावासमा रहेका लेखा उपसचिव यदुनाथ भट्टराई र बबईका बसन्तराज सिग्देल पनि मलेनिकाको पुलमा तनिएका छन्। कोलेनिका अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद भुसाल शिक्षा मन्त्रालय, बाँकेका कोलेनिका प्रमुख मोहनशरण भण्डारी मलेनिका पुल र कोलेनिका पाल्पाका प्रमुख शशिन्द्र खाती अर्घाखाँची पठाइएका छन्। मलेनिकाको पुल दरबन्दीमा रहेका सर्वोदय उपाध्याय कोलेनिका बाँकेको प्रमुख कोष नियन्त्रक बनाएर पठाइएका छन्।

सिक्टा सिंचाई आयोजना, बाँकेका लेखा उपसचिव तुकबहादुर पुन मगर कोलेनिका रोल्पा सरूवा भएका छन्। कोलेनिका रोल्पाका प्रमुख खगेन्द्रप्रसाद अर्याल कोलेनिका कपिलवस्तु सरूवा भएका हुन्। कपिलवस्तु कोलेनिकाका प्रमुख रूकमांगत अर्याल कोलेनिका, त्रिपुरेश्वर सरूवा भएका छन्। निवृत्तिभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरका उपसचिव विष्णुप्रसाद खरेल सिक्टा सिंचाई आयोजना र कोष तथा लेखा नियन्त्रक कार्यालय, त्रिपुरेश्वरका प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्ले गृह मन्त्रालय पुगेका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका लेखा उपसचिव भिमप्रसाद रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र उक्त मन्त्रालयका लेखा उपसचिव जीवन प्रकाश मोहत्रा ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय एकाई पुगेका छन्।

कोलेनिका धनुषाका प्रमुख नवराज नेपाल निवृत्तिभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका लेखा उपसचिव खगेन्द्र दाहाल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरूवा भएका हुन्। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख ताराप्रसाद पोखरेल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सरूवा भएका छन्।

महान्यायाधिवक्ता कार्यालयका लेखा उपसचिव दिलकुमार खड्का खानेपानी तथा ढल व्यवस्थापन विभाग र कोलेनिका भोजपुरका प्रमुख बुद्धराम मल्ल आले कोलेनिका धनुषा सरुवा भएका हुन्। पछिल्लो सरूवामा पनि शोभाकान्तले लोक सेवा आयोगमा उपसचिव पठाउन सकेनन्। उनले किस्ताबन्दीमा सरूवा गर्दै लेखाका कर्मचारीलाई चक्मा दिइरहेका छन्।

लेखा उपसचिवको सरूवामा चरम बेथिति

पहिलोपटक पदस्थापना भ‌एको छ महिनामा सल्यान कोलेनिकाबाट कपिलवस्तुमा फड्को मारेका रूकमांगत अर्याललाई एक वर्ष मात्र भ‌एको अवस्थामा कोलेनिका त्रिपुरेश्वर ल्याईएको छ। उनको लेखा समूहमा आएको दुई वर्ष पनि भएको छैन। रातो घरबाट ‘ज्याक हानेको’ भनेर फूर्ति लगाउँदै हिँडेका अर्यालले सोही समूहमा १०/११ वर्ष भ‌एर सिनियर उपसचिवहरूले मागेको त्रिपुरेश्वर कोलेनिकामा सरूवा गराएर सरूवा निर्देशिकाको धज्जी उठाएर सबैलाई हेरेको हेऱ्यै पारेको चर्चा छ। शोभाकान्तले आफूसँग बसेका र आफ्ना नातेदारलाई मात्र भनेको ठाउँमा सरूवा गर्ने उद्देश्यले लामो समयदेखि प्रशासन महाशाखामा कार्यरत सुशिला अर्याललाई ‘आउट’ गरेर मलेनिकामा आउनेबित्तिकै सहमहालेखा नियन्त्रक एसम्यान दीपक लामिछानेलाई प्रशासन महाशाखाका प्रमुख बनाए। पछिल्लो समय मलेनिकाका जथाभावी सरूवा गरेको भन्दै लेखा समूहमा चरम असन्तुष्टि बढेको छ। सडक, बब‌ई सिंचाई, रानीजमरा लगायत आकर्षक कार्यालय मात्र घुम्ने विष्णुहरि वाग्ले साठ्ठीसाले लेखा अधिकृतका अर्को तरमारा हुन्। गुप्त रूपमा आयोजना चाहार्न सिपालु उनी आकर्षक मानिने कोलेनिका त्रिपुरेश्वरबाट गृह मन्त्रालय सरुवा भ‌एका छन्। स्याङ्जाली विष्णुहरि शोभाकान्तका वालशखा रहेको बुझिएको छ। वित्त व्यवस्थापन तालिम केन्द्रमा सँगै बसेका तारा पोखरेललाई उनले वैकल्पिक ऊर्जाको पुरस्कार दिएको चर्चा सुनिन्छ। अर्का साठ्ठीसाले विष्णु खरेलले सिक्टा आयोजना हत्याउन सफल भ‌एका छन्। डिभी परेर अमेरिका पुगेर ३/४ वर्ष उत्तै रमाएर नेपाल फर्किएका उनी पनि सडक, सिंचाई, वैकल्पिक ऊर्जालगायतका आयोजनामा चक्कर लगाउनेमा पर्छन्। पेन्सन कार्यालयमा हाकिम भ‌एर बसेका उनको शोभाकान्तसँग राम्रो दोस्ती रहेको मलेनिकाभित्र चर्चा छ।

रविन कोइरालाले पेलेर भौतिक मन्त्रालयबाट महान्यायाधिवक्ताको कार्यालयमा हुत्याएका दिलकुमार खड्कालाई भने खानेपानी तथा ढल व्यवस्थापन विभाग सरूवा गरेर राहत दिइएको छ। ७७ कोलेनिकामध्येको जेठो भनेर लेखा वृत्तमा चर्चा हुने गरेको बाँके कोलेनिकाबाट नेकपा माओवादी केन्द्रबाट तत्कालीन गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठको ‘सोर्स’मा गृह मन्त्रालय छलाङ्ग मारेका खडान्द अधिकारी महान्यायाधिवक्ताको कार्यालयमा पुगेका छन्। शोभाकान्तका आफ्नै जिल्लाबासी नातेदार खगेन्द्रप्रसाद अर्याललाई एक वर्ष पनि नपुगी कोलेनिका रोल्पाबाट कपिलवस्तु आकर्षक कोलेनिकामा पठाइएको छ।

प्रशासन शाखामा खुट्टा घुमाएर रजगज मच्चाएका निरज केसी रोज्जा राम्रो कमिसन आउने बब‌ई सिंचाईतिर हानिएपछि प्रशासन शाखामा उपमलेनिको रूपमा राजस्व अधिकृतबाट केही महिना अघि लेखा उपसचिव भ‌एका नुवाकोटे विष्णुहरि रेग्मीलाई राखिएको हो। यस वर्षको सरूवा कि राजश्वमय भ‌एको छ कि विष्णुमय भएको छ भनेर मलेनिकाभित्रै चर्चा सुरू भएको छ।

स्वास्थ्य मन्त्रालय, कोलेनिका चितवन, लोकसेवा आयोग, कोलेनिका कास्की, कोलेनिका झापा, कोलेनिका सुनसरी र रूपन्देही शोभाकान्तले अवधि पुगेपनि हाल सरुवा नगर्ने अडान लिएका छन्। आफ्ना नातेदार र कसैलाई गुन लगाउने भन्दै उनले सरूवा नगरेको आरोप छ। अवधि पुगेर सरूवा माग्न ग‌एका कर्मचारीहरूलाई उनले ‘यस वर्षको सरुवा अव सकियो केही ठाउँमा मैले सरुवा गर्न सक्दिन त्यसैले उनीहरूकै निरन्तरता हुन्छ’, भनेर जवाफ दिन थालेको एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए। हतारमा गरिएको किस्ताबन्दीको लेखा उपसचिव, अधिकृत र लेखापालको यसपालीको उनको सरूवाको निर्णयले कसैलाई काखा र कसैलाई पाखाको अवस्था आएको गुनासो मलेनिकामा बढेको हो। मलेनिकाको गौंडा ढुकेर बसेका ज्ञानेन्द्र ओझा, ओम रिजाल, हिरण्य पराजुली, रेजिना कोईरालालगायतका उपसचिवहरू मौका कुरेर बसेको अवस्था छ। आफूले गुन लगाउनु पर्ने र भनसुनमा पहुँच पुर्‍याउनेको आंँखा चिम्लिएर सरूवा गरेर शोभाकान्त रकेटको गतिमा राजश्व सचिव हुने दाउमा रहेकाे चर्चा चल्न थालेको छ।

मलेनिका ठूलो संख्यामा लेखाका अधिकृतहरूको पनि सरूवा गरिएको सूची सार्वजनिक भएको छ। लेखाका तल्लो तहका कर्मचारीको सरूवा खेती पनि राम्रै चलिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ