रवि, टोपबहादुर, टेकनारायणहरूलाई कारागार फर्किन निर्देशन

काठमाडौं। ‘जेन-जी’ आन्दोलनको फाइदा उठाउँदै कारागार र बाल सुधार गृह छाडेर भागेकाहरूलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले निर्देशन दिएको छ। पूर्व उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेबाट सुरू भएको जेल छोड अभियानमा पू्र्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेकनारायण पाण्डेसहित १३ हजार बढी पुगिसकेका छन्। उनीहरूलाई कारागारमा फर्किन विभागले निर्देशन दिएको हो।
देशका विभिन्न कारागार कार्यालयहरू तथा बाल सुधार गृहहरूबाट बाहिर निस्किएका बन्दीहरू/बाल बिज्याईंकर्ताहरू अबिलम्ब आफू बसेको कारागार वा बाल सुधार गृह वा नजिकको प्रहरी कार्यालयमा सम्पर्कमा आउन विभागले सूचित गरेको छ। अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि विभागका निर्देशक चोमेन्द्र न्यौपानेले चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताले नख्खु कारागारमा घेरेपछि कारागार प्रशासनले कैदी लामिछानेलाई थुनामुक्त गरिदिएको छ। उनी बाहिर आएपछि हजारौं कैदीबन्दी जेल ‘ब्रेक’ गरेर हिँडेका छन्। पूर्व मन्त्री सञ्जय टक्ला पनि रविको लामिछानेको सिको गर्दै जेल छाडेर हिँडेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृह सचिव पाण्डे पनि जेल छाडेर भाग्नेको सूचीमा छन्। सुन तस्कर गोरेदेखि जघन्य प्रकृतिका अपराधमा मुछिएकाहरू जेल तोडेर हिँड्दा समाज नै असुरक्षित हुन थालेको छ। जुन अपराध गरेर जेल चलान भएका थिए उनीहरूले जेल तोडेर बाहिर आउँदा त्यहिँ आपराधिक कार्यमा सक्रिय भएको समेत देखिन थालेको हो।
कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीले कारगारको सुरक्षाबाट हात झिकेपछि कारागार प्रशासनले कैदीबन्दी रोक्न नसकेको स्रोतको भनाइ छ। अहिले भने फिर्ता हुन आग्रह गरिएको हो। जेल छाडेर भाग्नेहरू फिर्ता नभए जेल तोडेको आरोपमा अर्को मुद्दा लाग्छ। विभागको निर्देशनलाई पालना गर्नु जेल छाडेर हिँड्ने सबै कैन्दीबन्दीको कर्तव्य हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस