स्वास्थ्यकाे भवन ध्वस्त, मन्त्रालयमा कागजात कहिल्यै नहुने पुरानै रोग, सबै स्वास्थ्य संस्था चुस्तदुरुस्त

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ऐतिहासिक भवनमा सोमबार भएको आगलागीले भौतिक संरचना मात्रै ध्वस्त बनाएको छ। तर मन्त्रालयमा कहिल्यै पनि महत्वपूर्ण कागजात सुरक्षित नरहने पुरानै परिपाटी भएकाले व्यवहारिक रूपमा ठूलो क्षति भने भएको छैन।
अधिकारीहरूका अनुसार मन्त्रालयमा फाइल २४ घण्टाभन्दा बढी रहँदैन। “बिहान उठाइएको टिप्पणी साँझसम्म भेटिँदैन। फाइलहरू बारम्बार हराउँछन्, अन्ततः नयाँ टिप्पणी उठाउनुपर्ने बाध्यता हुन्छ,” एक उच्च अधिकारीले बताए। यसरी कागजात कहिल्यै नटिक्ने प्रवृत्तिका कारण भवन जले पनि मन्त्रालयको मूल कामकाजमा तत्काल प्रभाव नपर्ने जनाइएको छ।
आगलागीमा मन्त्रालयका कम्प्युटर, फर्निचर र सवारी साधन जलेका छन्। दुवै सचिवको गाडी र महाशाखा प्रमुखहरूको सवारी साधन समेत क्षतिग्रस्त भएको छ। तर अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रको सवारी साधन भने सुरक्षित रहेको छ।
कागजपत्र जलेको विषयमा कर्मचारीहरू खासै दुःखी छैनन्। किनकि त्यहाँ रहेका अधिकांश फाइल संघसंस्थाका वार्षिक प्रतिवेदन, पत्रपत्रिका र कम उपयोगी कागजात मात्रै भएको उनीहरूको भनाइ छ। “महत्वपूर्ण निर्णयसँग सम्बन्धित डकुमेन्टहरू त विगतमा पनि कहिल्यै मन्त्रालयमै फेला परेका छैनन्,” एक कर्मचारीले बताए।
स्वास्थ्य सेवा विभाग, अस्पताल, मेडिकल स्टोर र देशभरका स्वास्थ्य संस्था भने प्रभावित भएका छैनन्। छिटफुट रूपमा स्थानीय तहका केही स्वास्थ्य संस्थामा असर परेको भए पनि सेवामा अवरोध नआएको मन्त्रालयले जनाएको छ।
अधिकारीहरूका अनुसार मन्त्रालयमा रहेका पुराना गाडीहरू बारम्बार बिग्रने र मर्मतमै लाखौँ खर्च हुने अवस्थामा थिए। “अब नयाँ गाडी आउने सम्भावनाले कर्मचारीहरू उल्टै खुसी भएका छन्,” एक अधिकारीले टिप्पणी गरे।
हाल मन्त्रालयलाई वैकल्पिक भवनमा सार्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र कार्यस्थल खोज्ने दबाब बढेको छ र यसलाई प्राथमिकतामा राखेर तत्काल निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको मन्त्रालय स्रोतको भनाइ छ।
दुःखी यसकारण छन् स्वास्थ्य मन्त्रालय रहेको यो भवन विश्वकै अनुपम नमुना थियो। विश्वमा केवल नेपाल, पाकिस्तान र श्रीलंकामा मात्र यस्तै डिजाइनका भवन बनेका थिए। पिल्लर प्रयोग नगरी ‘वाल सिस्टम’ प्रयोग गरेर बनाइएको यो संरचना वास्तुकलाको चमत्कार सरह थियो। यो भवनलाई डिजाइन गर्ने व्यक्ति साधारण थिएनन्—फ्रान्सका विश्वप्रसिद्ध भवन डिजाइनर लुई कान हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस