अन्तरिम सरकारको स्वास्थ्य मन्त्रीका लागि डा. संगीता मिश्रलाई प्रस्ताव


काठमाडौं  । जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीका लागि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रलाई अघि सारेकाे खुल्न आएको छ।

उच्च स्रोतका अनुसार जेन्जी आन्दोलनका नेतृत्वकर्ताहरूले डा. मिश्रलाई पटक–पटक स्वास्थ्यमन्त्री बन्न आग्रह गरेका थिए। तर मिश्रले भने आफू अन्तरिम सरकारले प्रस्ताव गरेको मन्त्री पद स्वीकार्न इच्छुक नरहेको प्रतिक्रिया दिएकी छन्।

डा. मिश्र लामो समयदेखि मन्त्रालयमा वरिष्ठता अनुसार सचिव नबनाइएको भन्दै असन्तुष्ट रहँदै आएकी थिइन्। सोही कारणले महिनौँ “झोकविदा” बसेकी उनीप्रति जेन्जीहरूले विश्वास प्रकट गर्दै मन्त्रिपदको प्रस्ताव अघि सारेका हुन्। तर मिश्रले आगामी आम निर्वाचनमा उठ्ने तयारी गरिरहेकी हुँदा अहिले छ महिनाको अन्तरिम अवधिका लागि मन्त्री बन्ने मनस्थितिमा नभएको बताइएकी छन् ।

एक अधिकारीका अनुसार, “डा. संगीता चुनावमा उठ्ने नै हो, राजनीतिमा लाग्ने नै हो। तर अहिले अन्तरिम सरकारले दिने छोटो अवधिको जिम्मेवारी सम्हाल्ने उनको इच्छा छैन।”

प्रधानमन्त्री सुशीला कार्कीले पनि आगामी निर्वाचनमा नउठ्ने व्यक्तिहरूलाई मात्र अन्तरिम मन्त्रिमण्डलमा राख्ने आफ्नो नीति स्पष्ट गरिसकेकी छन्। त्यसैले मिश्रलाई मन्त्री बनाउन सक्ने सम्भावना अझ जटिल बनेको छ।

यसबाहेक, डा. संगीता कौशल मिश्रविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको कारणले पनि उनी मन्त्री बन्न सहज नभएको स्रोतले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ