निजामती कानुन रोक्न तल्लिन मुख्यसचिव अर्यालले सामान्य प्रशासनमन्त्री ताकेपछि..


काठमाडौं। राजनीतिक र प्रशासनिक बेथितिविरूद्ध सुरू भएको जेन-जी आन्दोलनको बलमा सुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ। राजनीतिक बेथितिका मुख्य पात्र केपी शर्मा ओलीलाई विस्थापित गरेर कार्कीको नेतृत्वमा उक्त सरकार बनेको हो। राजनीति बेथितिका नाइके ओलीलाई हटाए पनि प्रशासनिक बेथितिका नेतृत्वकर्ता मुख्यसचिव एकनारायण अर्याललाई नहटाएको भन्दै चर्को आलोचना भइरहेको पाइन्छ। उनीमाथि ओलीको मतियार बनेको आरोप लाग्दै आएको छ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२ गठन गरेर जेन-जी आन्दोलनको भावना अनुसार मुख्यसचिव अर्याललगायतलाई बर्खास्त गर्नुपर्ने माग अघि सारिएको छ। जेन-जी कर्मचारीले बर्खास्त गर्न सरकारसमक्ष माग गरेका मुख्यसचिव अर्याल भने मन्त्री बन्ने ‘लबिइङ’मा लागेको रहस्य खुलेको छ। प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन उपयुक्त हुने गरी प्रस्ताव आएको हो। अर्यालले उनी निकट कर्मचारी मार्फत मन्त्री बन्न ‘लबिइङ’ गरेको प्रधानमन्त्री कार्की निकट स्रोतले बतायो।

‘कुलिङ अफ पिरियड’ हटाउन देउसीभैलो खेलेर निजामती कानुन नै ‘कोमा’मा पुऱ्याउन भूमिका खेल्ने अर्याललाई सामान्य प्रशासनमन्त्री बनाउन ‘लबिइङ’ भएपछि नयाँ सरकारलाई अप्ठ्यारोमा पर्ने स्थिति आएको थियो। प्रधानमन्त्री कार्कीले उक्त ‘लबिइङ’लाई बेवास्ता गरेपछि मुख्यसचिव अर्याल मन्त्री हुनबाट बञ्चित भएका छन्। उनी हालत डा. संगीता कौशल मिश्रा हुनबाट भने जोगिएका छन्।

सचिव भएपछि प्रदेश नै नगएका अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह लगातका मन्त्रालयमा सचिव भएका थिए। सचिवमा बढुवा भएसँगै काठमाडौं महानगरपालिका कार्यकारी अधिकृत भएका अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, श्रम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयको सचिव हुँदै मुख्यसचिव भएका थिए। काठमाडौंको प्रमुख जिल्ला अधिकारी र कलकत्ताको महावाणिज्यदूत बनेर नेकपा एमालेबाट सबैभन्दा बढी लाभ लिने कर्मचारीमा उनी पर्छन्। ‘कुलिङ अफ पिरियड’को प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन मुख्य सचिव अर्याललाई जिम्मेवार नै ठहऱ्याएको छ। तर, उनी भने त्यतिले नपुगेर मन्त्री बन्न लागेको पाइन्छ। संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजादा कारबाहीमा तानिने सम्भावना भएका मुख्यसचिव अर्याल मन्त्री बन्ने लबिइङमा लागेर जेन-जी आन्दोलनमाथि खेलबाड गर्न तल्लिन रहेको खुल्न आएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३ सचिवको दरबन्दी देखाएर स्वास्थ्यमा बिना दरबन्दीको प्रशासन तर्फको सचिव पठाउँदै आएका अर्यालले १० हजार दरबन्दी काटेर सुशासन कायम गरेको आधार देखाउँदै मन्त्रीको लबिइङ गरेको खुल्न आएको छ। मुख्यसचिव अर्याललाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री कार्की सकारात्मक नबनेपछि उनको लबिइङ तुहिएको स्रोतको दाबी छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत विशेष चासो राख्दै आएका मुख्यसचिव अर्यालको दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने चाहना रहेको स्रोतले बतायो। तर, उनी मन्त्री हुनबाट बञ्चित भएका छन्। अर्यालको चलखेल हेर्दा भने उनले ठूलो भाग खोजिरहेको आभाष हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ