अर्थमन्त्री खनालको मन्त्रालय थपियो, गृहमन्त्री अर्यालको घट्यो

काठमाडौं। एकैदिन मन्त्री भएका रामेश्वर खनाल र ओमप्रकाश अर्यालको मन्त्रालय थपघट भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई मन्त्रालय थपिदिएकी छिन् भने अर्यालको घटाइदिएकी हुन्।
सपथ खादा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनालले मौजुदा मन्त्रिपरिषद् विस्तार हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पाएका छन्। गृहसँगै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका अर्याल गृहमा मात्र सीमित भएका हुन्।
अर्यालले सम्हाल्दै आएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले पाएका छन्। सिन्हाले कानुनसहित उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कुलमान घिसिङ र सिन्हाले तीन/तीन वटा मन्त्रालय हेर्ने जिम्मेवारी पाएका छन्। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए। स्वास्थ्य मन्त्रालय भने प्रधानमन्त्री सुशीला कार्कीले नै राखेकी छिन्। कार्की नेतृत्वको मौजुदा मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस