ओली र लेखक विदेश भाग्न सक्ने वरिष्ठ अधिवक्ता त्रिपाठीको आशंका, राहदानी रोक्का राख्न माग


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जी आन्दोलनलाई निर्मम दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसमेतलाई गिरफ्तार गरिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा बर्बरतामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका हुन् । उनीहरुलाई अहिले नै गिरफ्तार गरिनुपर्ने र विदेश भागेर जाने सम्भावना रहेकाले राहदानीसमेत रद्द गरिनुपर्ने उनको माग छ ।

‘जेन–जी पुस्ताको जुन आन्दोलन हो, त्यो उहाँहरुले पवित्र भावनाले गर्नुभयो । लोकतन्त्र, भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको लागि गर्नुभयो । उहाँहरुको पवित्र भावनामाथि पनि खेलवाड भएको छ । २३ गते उहाँहरुमाथि निर्मम दमन भयो । यो दमनको जति निन्दा गरे पनि कम हुन्छ । यो हामीलाई स्वीकार्य छैन । यो बर्बरतामा संलग्न भएकाहरु सबैलाई पक्राउ गरिनुपर्छ । प्रधानमन्त्री, गृहमन्त्रीदेखि लिएर त्यो बेलाको सेक्यूरिटिज फोर्सका सीडीओदेखि लिएर सबै पर्छन् । उनीहरुलाई अहिले नै गिरफ्तार गर्नुपर्यो । राहदानी जफत गर्नुपर्यो । होइन भने यो देशबाट भागेर जान्छन्,’– उनले भने ।

साथै, वर्तमान सरकारलाई आन्दोलनले वैधता प्रदान गरेको पनि उनले बताए । अब यो सरकारले चुनाव गराउनै पर्ने र चुनावको विकल्प नरहेको उनले बताए । चुनाव गराउन नसकेको खण्डमा मुलुक दुर्घटनामा पर्ने उनको चेतावनी छ ।

‘यो सरकारको वैधताको आधार भनेको चाहिँ मुभमेन्टको शक्ति हो । आन्दोलनले ल्याएको शक्ति नै यो सरकारको वैधताको आधार हो,’ उनले भने, ‘यो सरकारको लिमिटेड एजेण्डा छन्– चुनाव गराउने । चुनाव हुनैपर्छ, चुनावको विकल्प छैन । यदि चुनाव हुन सकेन भने मुलुक अर्को दुर्घटनामा पर्छ । चुनाव गराउने कुरामा हामी सबैको सहयोग हुनुपर्नेछ ।’

साथै, उनले सबै नेताहरुको सम्पत्ति जफत हुनुपर्ने माग पनि राखे । सबै नेताहरुको घर–घरमा छापा मारेर उनीहरुसँग भएको पैसा जफत गर्ने हो भने अहिले जलेको जस्तो ५ वटा सिंहदरबार बनाउन पुग्ने उनको दाबी छ ।

उनले भने, ‘यी साह्रा नेताहरु कसैको घर जलेको छ । कसैको घर जलेको छैन । यी सबैको सम्पत्ति जफत हुनुपर्छ । घर–घरमा छापा मारिनुपर्छ र सबै पैसा जफत गरिनुपर्छ । सबै पैसा जफत गरियो भने यस्ता ५ वटा सिंहदरबार बनाउने पैसा हामीसँग हुनेछ । यो नेताहरुको पैसा जफत हुनु जरुरी छ ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ