बंगलादेशबाट एमबीबीएस डाक्टर गर्दैछिन् शिक्षामन्त्री महावीर पुनकी छोरी झरना

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनकी सुपुत्री झरना बंगलादेशबाट एमबीबीएस गर्दैछिन्। बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेजबाट एमबीबीएस गरिरहेकी छिन्। नेपालका मेडिकल कलेजभन्दा बंगलादेशको उक्त मेडिकल कलेज बढी शुल्क लिनेमा पर्छ।
नेपालमा एमबीबीएस अध्ययनका लागि साढे ४१ लाखदेखि करिब ४६ लाखसम्म खर्च हुन्छ। तर, बंगलादेशको उक्त कलेजमा एमबीबीएस पूरा गर्न ४१ हजार डलर (करिब ६० लाख रुपैयाँ) लाग्ने गर्छ। खाने र बस्ने समेतको हिसाब जोड्दा १ करोड बढी शुल्क लाग्ने बंगलादेशमै अध्ययनरत विद्यार्थीहरू बताउँछन्।
काठमाडौंको न्यूप्लाजास्थित आधार एजुकेशन प्रालिको फेसबुक पेजमा महावीरकी छोरी झरना बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेज २०२३/२४ को सेसनमा एमबीबीएसमा भर्ना भएको उल्लेख छ। उनी छात्रवृत्तिमा पढ्न गएकी हुन् कि पूर्ण शुल्क तिरेर पढ्न गएकी हुन् खुल्न सकेको छैन।
प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पुनले श्रीमती र दुई छोरी पोखरामै रहेको दाबी गरेका छन्। तर, आधारले बंगलादेशमा पढ्न गएकी छोरीलाई उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बिदाई गरेको समेत फोटो हालेको छ। महावीरकी श्रीमती ओममाया र दुई छोरी झरना र जुना हुन्। उनले श्रीमती र दुई छोरी पोखरामै रहेको सार्वजनिक दाबी गरेका छन्। स्वास्थ्य लाइभले भने उनकी छोरी झरना बंगलादेशमा एमबीबीएस गर्दै आएको तथ्य फेला पारेको हो।
श्रीमती छोरी पोखरामै छन् एउटा छोरी पढ्दै गरेको र अर्को छोरीले नर्सिङ जागिर गरिरहेको बताएका छन्। श्रीमतीले केही काम नगर्ने र साथीहरूको सहयोगमा खर्च चलिरहेको दाबी गरेका छन्। तर, मन्त्री पुनकी छोरी झरना बंगलादेशबाट एमबीबीएस डाक्टर गर्दै गरेको तथ्यबाट देखिन्छ। बाँकी कुरा भने फ्याक्टचेक गर्नेहरूले नै पत्ता लगाउलान्!
तपाईको प्रतिक्रिया दिनुहोस