भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिन अन्तिम चरणमा, दोस्रो चरणमा राजनीतिक र प्रशासनिक कनेक्सन खोतलिएला?


काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईमाथिको छानबिन अन्तिम चरणमा पुऱ्याएको छ। अख्तियार स्रोतका अनुसार उनीविरुद्धको छानबिनलाई टुंग्याएर मुद्दा दायर गर्ने तयारी भइरहेको छ। दसैँ र तिहारको बीचमा भिजिट भिसा प्रकरणमा भट्टराईविरूद्ध मुद्दा दायर गर्ने सम्भावना बढेको अख्तियार स्रोतले बतायो।
भट्टराईलाई तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका थिए। अख्तियार गृह मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन भिजिट भिसाको खेल भइरहेको भनेर त्यसलाई रोक्न निर्देशन दिएको थियो। तर, गृह मन्त्रालयले त्यसलाई रोक्न चाहेन। अख्तियारले गोप्य अपरेशन चलाएको थाहा पाएपछि गृह मन्त्रालयले भट्टराईलाई मन्त्रालय तानेर जोगाउने प्रयास गऱ्यो। उक्त प्रयासमा तत्कालीन गृहमन्त्री लेखक, सचिव दुवाडी, गृह मन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल र मन्त्रीका निजी सचिव बद्री तिवारी लागेको अख्तियारका अधिकारीहरू बताउँछन्।
भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि गृह सचिव दुवाडी, सहसचिव रिजाल र उपसचिव तिवारीलाई निगरानीमा समेत राखेको थियो। भिजिट भिसामा संदिग्धको रूपमा उनीहरूलाई पनि हेरिएको छ। पहिलो चरणमा सहसचिव भट्टराई र केही कर्मचारी तथा ट्राभल एजेन्सीसँग जोडिएका व्यक्तिहरूलाई मुद्दा दायर गर्न अख्तियारको तयारी देखिन्छ।
दोस्रो चरणमा गृह मन्त्रालयको तत्कालीन नेतृत्वसम्म नै पुग्ने गरी अनुसन्धान अघि बढ्ने स्रोतको दाबी छ। सहसचिव भट्टराईले पोलेका आधारमा पनि अनुसन्धानको सुइरो माथिसम्म नै पुग्ने सम्भावना देखिन्छ।
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा पुग्दा गृहमन्त्री रहेका लेखक पदबाट हटिसकेका छन्। तत्कालीन सचिव दुवाडी पनि बानेश्वरको जेन-जी पुस्ताको आन्दोलनको नरसंहारमा ‘कवाडी’को भूमिका खेलेको भनेर राष्ट्रिय योजना आयोगमा थन्क्याइएका छन्। तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजाल पनि काठमाडौंको सिडिओ भएर जेन-जी नरसंहारमा संलग्न भएको भन्दै सिडिओबाट हटाइएका छन्। तिवारी म्याग्दीको सिडिओ छन्।
भिजिट भिसामा मात्र होइन तत्कालीन गृहमन्त्री लेखक, सचिव दुवाडी र सिडिओ रिजाल त जेन-जी नरसंहारको जाँचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको छानबिन दायरामा समेत आउने देखिन्छ।
सहसचिवद्वय भट्टराई र रिजाल अहिले गृह मन्त्रालयको जगेडामा रहेका छन्। लेखक गृहमन्त्री हुँदा काठमाडौंको सिडिओ रहेका जयनारायण आचार्य गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख र ऋषिराम तिवारी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख छन्। गृहको खासै अनुभव नभएका आनन्द काफ्ले पाल्पाको सिडिओ भएर गृह मन्त्रालय छिर्नेबित्तिकै गृह मन्त्रालयको संवेदनशील मानिने सुरक्षा तथा समन्वय महाशाखा प्रमुख छन्। यही ‘टिम’सँग काम गर्ने हो भने गृहमन्त्री ओमप्रकाश अर्याल लेखक जस्तै असफल गृहमन्त्री बन्ने जोखिम देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ