अर्थ मन्त्रालय तातेपछि गाडीसहितका गैरकानुनी सुविधा फिर्ता गर्दै पूर्व सभामुखहरू

काठमाडौं। अर्थ मन्त्रालय तातेपछि प्रतिनिधिसभाका पूर्व सभामुख र राष्ट्रियसभाका पूर्व अध्यक्षले गाडीलगायतका गैरकानुनी सुविधा फिर्ता गर्न थालेका छन्। अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेपछि प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीले गाडीलगायत सुविधा फिर्ता गरेका हुन्। त्यस्तै राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि सरकारी गाडी फिर्ता गरिसकेका छन्।
अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जवरजस्ती उपभोग गरिरहेका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको जानकारी गराएका थिए। सरकारी गाडी चढ्दै आएको समाचार सार्वजनिक भएपछि राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाडी फिर्ता गरे। त्यसपछि पूर्व सभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीले कानुनले नदिएको गाडीसहितको सुविधा फिर्ता गरेका हुन्।
पूर्व सभामुख तारानाथ रानाभाट र अग्नीप्रसाद सापकोटाले भने अहिलेसम्म गैरकानुनी सुविधा फिर्ता गरेका छैनन्। अर्थमन्त्री खनालले त्यस्ता पदाधिकारीहरूको लिएको गैरकानुनी सुविधा फिर्ता गरे/नगरेको विषयमा निरन्तर अनुगमन गरिरहेको जनाइएका छ।
विघटित प्रतिनिधिसभाका विभिन्न समितिका सभापतिले समेत गाडी फिर्ता गर्न थालेका छन्। अर्थ मन्त्रालय तातेपछि गणतन्त्रलाई बदनाम गराएर राज्यकोष लुट्ने राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले गैरकानुनी सुविधा फिर्ता गर्न थालेका हुन्।
विगतमा गृह मन्त्रालयले मापदण्डविपरीत सुरक्षालगायतका सुविधा लिने राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई त्यस्तो सुविधा फिर्ता गराउन पटकपटक निर्देशन दिँदे आएको थियो। तर उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन। अहिले अर्थ मन्त्रालय तातेपछि गैरकानुनी सुविधा फिर्ता हुन थालेको हो। अर्थमन्त्री र अर्थ मन्त्रालयको टिम तातेपछि राज्यकोष खोक्रो पारेर विलासी जीवन बिताइरहेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीको नकाब उत्रिएको छ। अर्थ मन्त्रालयले यस्ता विकृति रोक्न महत्त्वपूर्ण कदम चालेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस