गृहका २ विवादित सहसचिव पुगे सामान्य प्रशासनको बरण्डामा

काठमाडौं। गृह मन्त्रालयको बरण्डामा रहेका दुई विवादित सहसचिवहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई र काठमाडौंको सिडिओ हुँदा जेन-जी आन्दोलनमा दमन गर्न भूमिका खेल्ने छविलाल रिजाल सामान्यको बरण्डामा पुगेका हुन्। भविष्यमा सरकारी जागिर नै जाने खतरामा रहेका सहसचिवद्वयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर राष्ट्रिय तथ्याङ्क कार्यालयमा खटाइएका सहसचिव छबिन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन्। पराजुली तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कोपभाजनमा परेर सामान्यको अतिरिक्त समूहमा पुगेका थिए।
सञ्चार मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुर अर्थ मन्त्रालय पुगेका छन्। उनीमाथि सामाजिक सञ्जाल बन्द गराउन भूमिका खेलेको आरोप लाग्दै आएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रशासन महाशाखा हेर्ने सहसचिव शम्भुप्रसाद मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरूवा भएका छन्। पर्यटन सचिव हरिप्रसाद मैनालीसँगको दोस्तीका कारण पर्यटन विभागको महानिर्देशक (डिजी) हुने लबिइङमा रहेका मरासिनी उद्योगतिर सरूवा भएका हुन्। उद्योग मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल फड्के हानेर काठमाडौंको सिडिओ बनेपछि मरासिनीका लागि ठाउँ खाली भएको हो। ऊर्जामा भने कुलमान घिसिङले समान्य प्रशासन मन्त्रालयबाट सहसचिव रूद्रसिंह तामाङलाई लगेका छन्।
राष्ट्रिय योजना आयोगका सहसचिव जीवलाल भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय सरूवा भएका छन्। कृषिका सहसचिव यज्ञप्रसाद कोइराला ५८ वर्ष पुगेर घर गएपछि योजना आयोगको सहसचिव बथानबाट सरूवा भएर भुसाल कृषिमा पुगेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस