अख्तियारले बयान लिएपछि ओलीको शरणमा पुगेकी थिइन् रञ्जिता, आखिर भ्रष्टाचार मुद्दा लागेरै छाड्यो

काठमाडौं। पोखराको लिचिबारीको जग्गा हडप्न बिचौलियासँग घूस डिल र लेनदेनको अडिओ प्रकरणमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियारले पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठविरूद्ध ७८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्तासँग कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरूवा थमौती गराउन र भूमि आयोगको सदस्य बनाउन घूस डिल र लेनदेन भएको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा बिचौलिया सुजन लामासहित रञ्जिता र राजकुमारले घूसको सौदाबाजी गरिरहेको प्रस्टै सुनिन्छ। उक्त अडिओ सार्वजनिक भएपछि तत्कालीन मन्त्री गुप्ताले अडिओको बोली आफ्नो भएको प्रमाणित भए राजनीति मात्र नभइ नागरिकता र देश नै छोड्ने अभिव्यक्ति दिएका थिए। अख्तियारले घूस काण्डको अडिओको गुप्ताकै भएर ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपनि उनले अहिलेसम्म आफ्नो बचन अनुसार नागरिकता र देश छाडेका छैनन्।
अख्तियारले उक्त घूस काण्डमा पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठसँग पनि बयान लिएपछि उनी एकाएक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेकी थिइन्। बिचौलिया लामासँग सबैथोक किन्न लगाउने र पोखराको होटल मा बसेको बिल समेत विचौलियालाई तिराएकी रञ्जिताले अख्तियारले बयान लिन साथ ओलीको शरणमा परेर भ्रष्टाचार मुद्दाबाट जोगिन खोजेकी थिइन्। तर, परिवर्तित मुलुकको अवस्थाका कारण रञ्जिता पनि भ्रष्टाचार मुद्दामा डामिएकी छिन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्न थालेको थियो। उनको पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूणकुमार चौधरीले पनि राजीनामा दिएका थिए। तर, सरकारले विश्वासको मत लिनुपर्ने र रञ्जितालाई अख्तियार लाग्ने खतरा बढेपछि उनीहरू सत्तापक्षमै बेञ्चमा बस्न थालेका थिए। विश्वासको मत नलिएको भनेर ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट कमजोर पार्न रञ्जिताहरू सत्ता पक्षमा बस्न थालेका थिए। त्यसबापत ओलीले अख्तियार लाग्नबाट जोगाइदिने आश्वासन दिएको बताइन्छ।
ओली सरकारलाई जेन-जी आन्दोलनले सत्ताच्यूत गरेपछि रञ्जिताको दूरदिन सुरू हुन थाल्यो। ओलीलाई प्रयोग गरेर आफूलाई नागरिक उन्मुक्ति पार्टीबाट हटाउने निर्णय निर्वाचन आयोगबाट खारेज गराउन सफल रञ्जिता भ्रष्टाचार मुद्दाबाट जोगिन भने असफल भइन्।
श्रीमान-श्रीमतीको झगडाले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ घोषणा गरेर रञ्जिता अध्यक्ष भएको पार्टी नै परित्याग गर्न बाध्य भए। रञ्जितालाई हटाउन अग्रसर भएका रेशम निर्वाचन आयोगको साथ नपाएपछि अलग बाटो लागेका हुन्। पशुपतिनाथ मन्दिर धाएर संकट मोचन गरेपछि पार्टी अध्यक्षमा फर्किएकी रञ्जिता ओली कमजोर भएपछि भ्रष्टाचारमा जाकिएकी छिन्। सत्ता शक्ति र भगवानको भरोसा सधै एकनाश हुँदैन भन्ने शिक्षा रञ्जितालाई मिलेको हुनुपर्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस