अख्तियारको ‘पाइपलाइन’मा रहेका ठूला माछाहरू

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग करिब आधा दर्जन भ्रष्टाचारका ठूला मुद्दा दायर गर्ने तयारी गरेको छ। बुधबार मात्र दुई पूर्वमन्त्रीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले थप ठूला माछामाथि एक्सन लिन लागेको हो।
अख्तियारले भिजिट भिसा प्रकरणदेखि स्वास्थ्य उपकरण खरिद अनियमितता तथा विमानस्थल निर्माण घोटाला र अकुत सम्पत्तिका मुद्दाको अनुसन्धानलाई टुंगोमा पुऱ्याउन लागेको छ। अख्तियार स्रोतका अनुसार भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहितको भ्रष्टाचार मुद्दा ‘पाइपलाइन’मा छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईसहितका बिचौलियाहरूको भिजिट भिसा सेटिङको अनुसन्धान अन्तिम चरणमा रहेको पाइन्छ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति (भिसी) डा. संगिता भण्डारीको भ्रष्टाचार मुद्दा पनि ‘पाइपलाइन’मा रहेको बताइन्छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी भइसकेकी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि भिसीको दौडधुपमा रहेकी संगिता राप्तीमा हुँदा अख्तियारको छानबिनमा परेकी हुन्। राप्ती प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा भएको अनियमितताका विषयमा विस्तृत छानबिन सकेको अख्तियार स्रोतको दाबी छ।
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रयोग गरेर अख्तियारका एक आयुक्त मार्फत भ्रष्टाचार मुद्दा नचलाउन चलखेल गर्दै आएको संगितामाथि आरोप छ। आफूमाथि छानबिन गर्ने अख्तियारका पदाधिकारी हटाउन आर्थिक चलखेल गरेको प्रमाण समेत अख्तियारमा पुगेपछि हलचल मच्चिएको छ। उनै संगिताको भ्रष्टाचार मुद्दा पाइपलाइनमा रहेको बुझिन्छ।
अख्तियारको ‘पाइपलाइन’मा रहेका ठूला र शक्तिशाली माछा प्रदिप अधिकारी हुन्। संसदीय समितिले समेत अनियमितता भएको निष्कर्ष निकालेको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष जोडिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार विस्तृत छानबिन गर्दै आएको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन (अकुत सम्पत्ति)मा समेत उनी अख्तियारको छानबिनमा छन्।
प्रदिपले आफूमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने भएपछि अख्तियार कै पदाधिकारी हटाउन कसरत गरिरहेको आरोप लाग्न थालेको छ। अख्तियारका पदाधिकारी हटाउन प्रदिपले केही जेन-जीसँग मिटिङ गरेको विषय अहिले निकै चर्चामा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सचिवभन्दा शक्तिशाली बन्दै आएका प्रदिपविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुनबाट रोक्न अनेक चलखेल भइरहेको चर्चा छ। उनी अहिलेसम्म भ्रष्टाचारको कारबाहीबाट जोगिदै आएका छन्। अहिले भने प्रदिप अख्तियारको ‘पाइपलाइन’मा रहेको बुझिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस