गृहबाट जयनारायणसहित ३ सहसचिव आउट भए, पराजुली भित्रिए

काठमाडौं। शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएका प्रशासन महाशाखा प्रमुख जयनारायण आचार्यसहित गृह मन्त्रालयबाट ३ जना सहसचिव आउट भएका छन्। गृहबाट आचार्यसहित बाबुराम गौतम र दिव्यराज पोखरेल आउट भएका हुन्। आचार्य गृहका अनुभवी हुन भने गौतम र पोखरेल राजस्वमा जमेर उग्राउन गृहमा पुगेका थिए। आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गौतम बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत र पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेर नेपाल पर्यटन तथा होटल व्यवस्था प्रतिष्ठान (नाथम)मा खटिएका छन्। राष्ट्रिय विपद् न्यूनीकरणका तथा व्यवस्थापन प्राधिकरणबाट पारिवारिक समस्याका कारण उनी नाथममा व्यवस्थापन भएका हुन्।
पहिलोपटक गृह मन्त्रालय छिरेर भोजपुरको सिडिओ बनाएर पठाउँदा जान नमानेका गौतम बागमतीतिर हेलिएका छन्। पहिलोपटक नै आकर्षक जिल्ला खोजेका उनी बागमतीको अर्थ सचिव बन्ने सम्भावना छ। ठूला करदाता कार्यालयको प्रमुख हुँदा बैंक तथा वित्तीय संस्थासँग मिलेर राज्यलाई १३ अर्ब नोक्सानी हुने गरी निर्णय गरेका गौतमले बागमतीमा पनि ‘ढल बगाउने’ सम्भावना छ। बैंक तथा वित्तीय संस्थाको एफपीओ र मर्जरमा कर लाग्ने भनेर निर्णय गराउन भूमिका खेलेका गौतम गृह विवादित सहसचिव हुन्।
काठमाडौंको सिडिओमा अनुभवहीन ईश्वरराज पौडेललाई लगेपछि गृहमन्त्री ओमप्रकाश अर्याल विवादमा तानिएका थिए। अहिले भने काठमाडौं कै सिडिओ भइसकेका कालिप्रसाद पराजुलीलाई गृह भित्र्याएका छन्। पराजुली तुलनात्मक रूपमा निष्ठावान कर्मचारी मानिन्छन्।
नाथममा कार्यरत संगिता ओझा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला मन्त्रालयमा कार्यरत सहसचिव धरान उपमहानगरपालिकामा सरूवा भएका छन्।
पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन्। अख्तियार पोखरा कार्यालयका प्रमुख आस्मान तामाङ लगानी बोर्डमा सरुवा भएका हुन्। लगानी बोर्डका प्रधुम्नप्रसाद उपाध्याय लोक सेवा आयोगतिर सरूवा गरिएका छन्। खानेपानी मन्त्रालयका रामबाबु पुरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका रुद्रप्रसाद पण्डित खानेपानी मन्त्रालय पुगेका हुन्। लुम्बिनी प्रदेशका डिलाराम पन्थी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएका छन्।
शिक्षा तर्फका अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगबाट शिक्षा मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्। लुम्बिनी प्रदेशका बसन्तप्रसाद कोइराला चिकित्सा शिक्षा आयोग पुगेका हुन्। वातावरण विभागका शैलेश कुमार झा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस