रमेश लेखकले कानुनविपरीत आकर्षक जिल्लामा पठाएका सिडिओहरू हटाइए, अहिलेको सरूवामा पनि कानुन उल्लंघन
काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको मिलेमतोमा प्रमुख जिल्ला अधिकारीको सरूवा कार्यविधि मिचेर सरुवा गरिएका रुपन्देही, भक्तपुर, सुनसरी, मकवानपुर, बाँकेलगायतका जिल्लाका सिडिओहरू हटाइएका छन्।
गृह मन्त्रालय छिर्नेबित्तिकै महाशाखा प्रमुख बनेर सीधै आकर्षक जिल्ला रुपन्देहीको सिडिओ बनाइएका टोकराज पाण्डे लमजुङ पुगेका छन्। गृह छिर्नेबित्तिकै भक्तपुरको सिडिओ बनेका नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका पुगेका छन्। ‘क’ वर्गको जिल्ला कैलालीबाट कार्यविधिविपरीत ‘क’ वर्ग कै जिल्ला सुनसरीको सिडिओ बनाइएका धर्मेन्द्रकुमार मिश्र बारा पुगेका हुन्।
कानुन मिचेर माईती जिल्ला मकवानपुरको सिडिओ बनेकी स्किम श्रेष्ठ सिन्धुलीको सिडिओमा सरूवा भएकी छिन्। सहसचिव हुनेबित्तिकै रमेश लेखकको सचिवालयमा बसेकै भरमा ‘क’ वर्गको जिल्ला बाँकेको सिडिओ बनाइएका धर्मराज जोशी उदयपुर सरूवा भएका छन्। लेखक कै पालामा ‘क’ वर्गको जिल्लाबाट कार्यविधिविपरीत ‘क’ वर्ग कै जिल्ला कैलालीको सिडिओ बनेका कृष्णप्रसाद लम्साल नवलपरासी पूर्वको सिडिओ बनेका हुन्।
चितवनबाट कानुनलाई चुनौती दिँदै मोरङका सिडिओ बनेका इन्द्रदेव यादव महोत्तरी पुगेका छन्। तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारीको छिमेकी भएकै आधारमा पर्साको सिडिओ बनेका तोयनारायण सुवेदी अर्घाखाँची सरूवा भएका हुन्।
लेखकका पालामा ‘क’ वर्ग जिल्लाको सुर्खेतको सिडिओबाट मन्त्रालय ल्याएर ‘क’ वर्ग कै जिल्ला धनुषाको सिडिओ बनाइएका शंकरहरि आचार्यलाई पनि तानिएको छ। आचार्य जेन-जी आन्दोलनका घाईतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन खटाइएका छन्। त्यसपछि उनको पनि राहत हुने सम्भावना छ।
ललितपुरको सिडिओ प्रेमप्रसाद भट्टराई, मोरङको सिडिओ युवराज कट्टेल र रुपन्देहीको सिडिओ माधवप्रसाद पोखरेल बनेका छन्। भट्टराई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र कट्टेल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। उनीहरूको सरूवा पनि सन्तुलित नै देखिन्छ। तर, अख्तियारबाट गृह हुँदै लमजुङ पुगेका पोखरेललाई अर्को एउटा जिल्लामा नखटाई रुपन्देही पठाइहाल्नु अलि हतारो देखिन्छ।
नवलपरासी पश्चिमका हिरालाल रेग्मी कैलाली, महोत्तरीका नारायणप्रसाद रिसाल दोलखा र दोलखाका भोलाप्रसाद दाहाल पर्साको सिडिओ बनेका छन्। यो सरुवामा पनि खासै टिप्पणी गर्ने ठाउँ छैन। सप्तरी, गोरखा, दोलखा चलाइसकेका दाहाललाई पर्सा पठाउँदा कार्यविधिले बाटो खुला नै राखेको छ। रेग्मी र रिसालको सरूवा पनि कार्यविधि अनुकूल नै देखिन्छ।
उदयपुरका सिडिओ प्रेमप्रसाद लुईंटेल धनुषा, डडेलधुराका जनार्दन गौतम धनुषा, बर्दियाका सुरेन्द्र पौड्याल सिराहा, रौतहटका विनोदकुमार खड्का धनकुटा, कपिलबस्तुका दिलकुमार तामाङ बाँके, सिन्धुलीका दिनेशसागर भुसाल रौतहट, अछामका आनन्द सारू गुल्मीको सिडिओ भएका छन्। यो सरूवा पनि कार्यविधि अनुसार नै रहेको पाइन्छ।
गुल्मीका सिडिओ विष्णुप्रसाद कोइराला अछाम, धनकुटाका शिवराम गेलाल झापा, सर्लाहीका तुलसीबहादुर श्रेष्ठ गोरखा, गोरखाका राजुराज कडरिया कार्यविधिको मर्म अनुसार नै सर्लाहीको सिडिओ बनेका छन्।
अध्यागमन कार्यालय गौतामबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख खिमबहादुर रायामाझी जुम्ला र जुम्लाका केदारनाथ शर्मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख भएर गएका छन्। अर्घाखाँचीका सिडिओ गोपालप्रसाद अर्याल गृह मन्त्रालय फिर्ता आएका छन्। डोटी, कैलाली, भक्तपुरसहित ३/४ वटा जिल्लाको सिडिओ भइसकेका उनी सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाउन उपयुक्त पात्र हुन्।
ललितपुरका सिडिओ सुमन घिमिरे कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर आएका छन्। बाराका सिडिओ प्रकाश पौडेल भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भएकाे भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन जाँचबुझमा खटाइएका छन्। स्वास्थ्य प्रतिकूल हुने गरी पौडेललाई तत्काल काम गर्नु पर्ने ठाउँमा पठाएको पाइन्छ।
कैलालीमा कमाण्ड सम्हाल नसकेर गृह मन्त्रालय तानिएका गोगनबहादुर हमाल बर्दियाको सिडिओ बनाएर पठाइएका छन्। उनी त्यहाँ पनि कमाण्ड सम्हाल्न नसकेर तानिने अवस्था आउन सक्छ।
काठमाडौं महानगरपालिकामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति अनियमिततामा मुछिएर बालेनले लखेटेका बसन्त अधिकारीलाई ओमप्रकाश अर्यालले ‘क’ वर्गको जिल्ला मकवानपुरको सिडिओ बनाएर पुरस्कृत गरेका छन्। उनी लेखकको पालामा बाराबाट सिराहा हुँदै अर्यालको पालामा मकवानपुर जान सफल भएका हुन्। अधिकारी ‘ख’बाट ‘क’ वर्गको जिल्लामा सिडिओ बन्न सफल भएका छन्।
सिडिओ सरूवामा फेरि पनि कार्यविधिले हावा खायो
सिडिओ सरूवासम्बन्धी कार्यविधिले ‘क’ वर्गबाट ‘क’ वर्ग कै जिल्लाको सिडिओमा खटाउन मनाही गरेको छ। तर, कानुन कार्यान्वयन र सुशासन कायम गर्नुपर्ने गृह मन्त्रालयले केही जिल्लाको सिडिओ सरूवा गर्दा कार्यविधिलाई तिलाञ्जली दिएको पाइन्छ। ‘क’ वर्गको झापाको सिडिओ गोपालप्रसाद अधिकारीलाई ‘क’ वर्ग कै जिल्ला काभ्रेपलाञ्चोक र काभ्रेका सिडिओ उमेशप्रसाद ढकाललाई भक्तपुर सरूवा गरेर गृह मन्त्रालयले कानुन र सुशासनको खिल्ली उडाएको हो।
त्यस्तै कास्की र रुपन्देही हाँकेर गृह मन्त्रालयको गौडा ढुकेर बसिहेका बासुदेव घिमिरेलाई सुनसरी पठाएर कार्यविधिलाई चुनाैती दिने काम गरिएको छ। यसमा कानुनको मर्म र भावनाका जानकार गृहमन्त्री अर्यालले गम्भीर समीक्षा गर्न जरूरी देखिन्छ। नत्र उनी पनि लेखकपथमै पुग्ने खतरा हुन्छ।
नवलपरासी पूर्वको सिडिओ हुँदा चौधरी ग्रुपको बदमासीविरूद्ध एक्सन लिएर गृहमन्त्री लेखकले राम्रो काम गरेबापत ‘कारबाहीस्वरूप’ ‘ख’ वर्गको जिल्लाबाट ‘ग’ वर्गको जिल्ला पाँचथरको सिडिओमा ठेलिएका अरुण पोखरेललाई सुनसरी पठाएको भए गृहमन्त्री अर्यालमाथि पश्न उठ्दैन थियो। तर, कुन शक्तिको आडमा ६० साले लेखा अधिकृत घिमिरे रुपन्देही ‘टू’ सुनसरी पुगे खोजीको विषय बनेको छ।
लेखक गृहमन्त्री हुँदा सुर्खेतमा पनि कार्यविधिविपरीत जगदिश्वर उपाध्याय सिडिओ बनाएर पठाइएको थियो। एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने कार्यविधिको प्रावधानविपरीत सहसचिवमा बढुवा भएर गृह छिर्नेबित्तिकै उपाध्यायलाई सुर्खेतको सिडिओ बनाइएको थियो। तर, लेखकको पालामा कार्यविधिविपरीत सुर्खेतको सिडिओ बनेका उपाध्याय यथावत् रहेका छन्।
गृहमन्त्री अर्यालले लेखकले कार्यविधिविपरीत पर्साबाट चितवन पठाएका गणेश अर्याललाई पनि चलाएका छैनन्। लेखकका अन्य गैरकानुनी सरूवा सच्याउदा चितवन नचलाउनुले उनीमाथि अर्यालवादको आरोप लाग्ने देखिन्छ। यसमा पनि गृहमन्त्री अर्यालको ध्यानाकर्षण हुन जरूरी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस