“अख्तियारको चट्याङ्ले परिवार कल्याणका कार्यक्रम ठप्प”


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि विभागका कर्मचारी अहिले सम्म र्फममा आउन सकेका छैनन् ।

कात्तिक २ गते मिश्रा सहित विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरासिया, परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल, कानुन अधिकृत सिता घिमिरे, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, तिलकराम ढकाल, अशिष चौहान, पध्या मिश्र, सञ्जयकुमार साह र सुन्दर भुसाललाई प्रतिवादी बनाइएको थियो ।

स्वास्थ्य क्षेत्रमा यो करिब १० वर्षपछि अख्तियारले ठुलो समूहलाई मुद्दा दायर गरेको घटना हो। अख्तियार निस्क्रिय हुँदा सक्रिय बनेका स्वास्थ्य र विभागका अधिकारी अहिले अख्तियार सक्रिय बनेपछि निस्क्रिय बन्न पुगेका छन् ।

एक अधिकारीले स्वास्थ्य लाइभ सँग भने, “परिवार नियोजनका साधनको आवश्यकता परेको छ, तर फाइल अगाडि बढाउने जोस–जाँगर छैन ।”
मुख्यगरी मुद्दा दर्ताले परिवार कल्याण महाशाखामा चट्याङ्को प्रभाव राम्रै परेको छ । चट्याङ्ले परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल डामिएपछि महत्वपूर्ण काम समेत अगाडि बढ्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नयाँ निर्देशक नियुक्त गर्न सकेको छैन । निर्देशक नहुँदा काम रोकिएका छन् । अधिकारीहरू भन्छन्, “निर्देशक आए पनि अख्तियारको चट्याङ् आलै भएकाले हौसिएर काममा होमिने ताकत जुटिसकेको छैन ।”

हुन त गल्ती नगरेपछि जस्तोसुकै चट्याङ् परेपनि डराउनुपर्ने कारण छैन । तर, फिरन्ते सचिव र मन्त्रीको ‘दाहिना’ बन्ने दौडमा गरिने कुनै पनि गलत निर्णयले ढिलो चाँडो जो–कसैलाई जिउँदै आर्यघाट पुर्याउने जोखिम देखिन्छ ।

अहिलेको परिदृश्यमा स्वास्थ्य मन्त्रालयले विभाग र मन्त्रालयको समन्वय महाशाखासहित धेरै नेतृत्व परिवर्तन गर्न आवश्यक देखिएको छ । कतिपय महाशाखा प्रमुखले आफ्नो स्वार्थभन्दा माथि उठेर काम नगर्दा फेरि पनि अख्तियारको चट्याङ् पर्ने जोखिम उत्तिकै देखिएको छ । स्वास्थ्यको सुधार आवश्यक परेको बेला भगौडा व्यक्तिको हातमा मन्त्रालय परेकाले उचित व्यवस्थापन हुनेमा कर्मचारी तन्त्रमा शंका बढेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ