करूणा फाउण्डेसनद्वारा कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण
काठमाडौं। करूणा फाउण्डेसन नेपालले कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरेको छ। कोशी प्रदेशका ११ जिल्लाका २०४ जनालाई हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात जडान गरिने फाउण्डेसनले जनाएको छ। प्रत्येक दिन २० देखि २५ जनालाई दुई समूहमा विभाजन गरी कृत्रिम हात जडान गरिने फाउण्डेसनले जानकारी दिएको हो।
करूणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा यही कार्तिक १७ गतेदेखि २६ गतेसम्म सुनसरीको इटहरीमा निःशुल्क कृत्रिम हात वितरण तथा जडान कार्यक्रम सञ्चालन गर्न लागेको हो। कृत्रिम हात जडानपछि लाभग्राहीको लेख्ने, वस्तु समाप्ने, खाना पकाउने, कपडा लगाउने, खेतीपाती तथा व्यवसायिक कामहरू सजिलै गर्न सक्ने फाउण्डेसनले जनाएको छ। विभिन्न कारणले हात गुमाएकाहरूलाई कृत्रिम हातले पुनः आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ फर्काउने फाउण्डेसनको विश्वास छ।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस