एमाले निकट र भक्तपुरे कर्मचारीलाई छानीछानी महत्त्वपूर्ण जिल्लाको सिडिओ बनाएको आरोप


काठमाडौं। नेकपा एमाले निकट कर्मचारी र भक्तपुरको कर्मचारीहरूलाई महत्त्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको आरोप लागेको छ। यसपटकको सिडिओ सरूवामा गृहमन्त्री ओमप्रकाश अर्याललाई चक्मा दिँदै गृहसचिव रामेश्वर दंगाल हाबी भएको गृह मन्त्रालयमा चर्चा छ। एमाले निकट र भक्तपुर बसोबास भएका सहसचिवलाई महत्त्वपूर्ण जिल्लाको छानीछानी जिम्मेवारी दिएको विषयले अहिले गृह मन्त्रालयमा निकै चर्चा पाएको हो।

नेकपा एमाले कर्मचारी गोपालकुमार अधिकारीलाई ‘क’ वर्गको जिल्ला झापाबाट ‘क’ वर्ग कै जिल्ला काभ्रेपलाञ्चोकको सिडिओ बनाएर पठाइएको छ। उनी एमाले निकट कर्मचारी भएकै कारण कार्यविधिविपरीत ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्गको जिल्लामा सिडिओ बन्न सफल भएका छन्।

एमाले निकट र भक्तपुरे शिवराम गेलाल झापाको सिडिओ बनेका छन्। गृह सचिव रामेश्वर दंगालका गाउँले शिवरामले धनकुटाबाट झापातिर फड्को मारेका हुन्। एमाले निकट कर्मचारी भएकै कारण ‘क’ वर्गका जिल्ला कास्की र रुपन्देहीको सिडिओ भइसकेका बासुदेव घिमिरे सुनसरीको सिडिओ बनेका छन्। उनलाई सुनसरीको सिडिओ बनाउन कार्यविधि कै धज्जी उडाइएको छ।

एमाले निकट र भक्तपुर बसोबास गर्ने भोला दाहाल आकर्षक जिल्ला पर्साको सिडिओ बनेका छन्। उनलाई पनि हिमाली जिल्लाबाट आकर्षक जिल्ला पर्साको सिडिओ बनाइएको छ। एमाले निकट, भक्तपुर बस्ने र अख्तियारमा जमेका माधवप्रसाद पोखरेल रूपन्देहीको सिडिओ बनेका छन्। पर्सा र रूपन्देहीमा रहेका कांग्रेसी सिडिओहरू पहाडतिर पठाएर एमाले निकट कर्मचारीहरू तराईका आकर्षक जिल्लाको सिडिओ बनेका हुन्।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा निकै विवादित बनेका चतुर कर्मचारी एमाले निकट भएकै कारण मकवानपुरको सिडिओ बनेका छन्। उनी बारा, सिराहा हुँदै भएकै मकवानपुरको सिडिओ बन्न सफल भएका हुन्।

घर जान लागेका एमाले निकट कर्मचारी रामुराज कडरिया सर्लाहीको सिडिओ बनेका छन्। मुख्यसचिव एकनारायण अर्यालका विश्वास भएकै कारण उनी कार्यविधिविपरीत गृह जिल्लाको सिडिओ बन्न सफल भएका हुन्। एमाले निकट कर्मचारी भएकै कारण हिरालाल रेग्मी कैलालीको सिडिओ बनेका छन्। अर्का एमाले निकट कर्मचारी प्रेमप्रसाद लुईंटेल उदयपुरबाट धनुषा पुगेका छन्। एमालेसँगै नजिक मानिएका प्रेमप्रसाद भट्टराई ललितपुरको सिडिओ बनेका छन्।

कांग्रेस निकट भएर लाभ लिने कर्मचारीमा उमेशकुमार ढकाल, दिलकुमार तामाङ र युवराज कट्टेल रहेका छन्। अन्य कांग्रेसी कर्मचारी भने आकर्षक जिल्लाबाट उछिट्टिएर छटपटाइरहेका छन्। उनीहरू अहिले आकर्षक जिल्ला छाडेर जानुपर्दा ‘सुर्ता’मा देखिछन्।

 

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ