यी सिडिओ अझै पुगेनन् कार्यक्षेत्रमा


काठमाडौं। गृह मन्त्रालयले गत कार्तिक ९ गते ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी सरूवा गऱ्यो। गृहमन्त्रीमा ओमप्रकाश अर्याल र सचिवमा रामेश्वर दंगाल आएपछि पहिलोपटक ठूलो संख्यामा सिडिओ सरूवा गरेको हो। गृह मन्त्रालयले जिल्लामा खटाएका केही सिडिओहरू अझै पनि कार्यक्षेत्र (खटाएको जिल्ला)मा पुगेका छैनन्।

रुपन्देहीका सिडिओ टोकराज पाण्डेलाई लमजुङ खटाइएको थियो। उनी अझै लमजुङ पुगेका छैनन्। लमजुङबाट रुपन्देहीको सिडिओमा सरूवा भएका माधवप्रसाद पोखरेलले लमजुङ छाडिसकेका छन्। तर, रुपन्देहीबाट लमजुङ सरूवा भएका पाण्डे रूपन्देहीमै रहेको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको बेवसाइटले देखाउँछ। आर्थिक गतिविधिका हिसाबले आकर्षक मानिएको रुपन्देही जिल्ला पाण्डेले तत्काल छोड्न नमान्दा पोखरेल ‘ट्रान्जिट’मै अड्किएका छन्।

गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव बासुदेव घिमिरेलाई सुनसरीको सिडिओ बनाएर पठाएपनि उनी कार्यक्षेत्र पुगेका छैनन्। ‘क’ वर्गको जिल्ला कास्की, रूपन्देही हुँदै सुनसरीको सिडिओमा ‘ह्याट्रिक’ हानेका साठ्ठीसाले लेखा अधिकृत घिमिरेलाई ‘वासलात तयार पान’ नभ्याएर हो कि उनी सुनसरीको कमाण्ड सम्हाल्न अझै पुगेका छैनन्। सुनसरीबाट बाराको सिडिओ भएर गएका धर्मेन्द्प्रसाद मिश्र पनि कार्यक्षेत्र पुगेका छैनन्। बाराका सिडिओ प्रकाश पौडेलले रमाना नलिइसकेकाले उनी पनि ‘ट्रान्जिट’मै अल्मलिरहेका छन्। सोम्बार पौडेल उपचारका लागि काठमाडौं रमाना हुने र मिश्रले कमाण्ड सम्हाल्ने एकैदिन हुन सक्छ।

दोलखाबाट पर्सामा रमाना भइसकेका सिडिओ भोला दाहाल पनि बीच बाटोमै रहेका छन्। उनी अझै कार्यक्षेत्र पुगेको पाइँदैन। पर्साबाट अर्घाखाँचीतिर रमाना भइसकेका तोयनारायण सुवेदी पनि कार्यक्षेत्र पुगेका छैनन्। जेन-जी आन्दोलनका क्रममा घर ध्वस्त भएका गोपालप्रसाद अर्याल घर बनाउन काठमाडौंतिर हिँडिसकेका छन्।

उदयपुरबाट धनुषा रमाना भएका प्रेमप्रसाद लुईंटेल पनि ‘ट्राजिन्ट’मै अल्मलिरहेका छन्। धनुषाका सिडिओबाट गृह मन्त्रालय फिर्ता आएका शंकरहरि आचार्यले जिल्ला नछाड्दा लुईंटेलले कमाण्ड सम्हाल्न पाएका छैनन्। बाराबाट उदयपुर रमाना भइसकेका धर्मराज जोशी पनि बीच बाटोमै रूमल्लिरहेका छन्। उनी अझै कार्यक्षेत्रमा झुल्किएका छैनन्।

कपिलवस्तुबाट बाँकेको सिडिओमा सरूवा भएका दिलकुमार तामाङ बुद्धको जन्मस्थलमै रमाइरहेका छन्। कपिलवस्तुको कमाण्ड भने डडेलधुराबाट आएर जनार्दन गौतमले सम्हालिसकेका छन्।

बर्दियाबाट रमाना भइसकेका सुरेन्द्र पौडेल अझै कार्यक्षेत्र पुगेका छैनन्। कैलालीबाट तानिएर गृह मन्त्रालयको जगेडामा बसेर ‘खरो’ भएका गोगनकुमार हमाल बजारिएर बर्दियाको कमाण्ड सम्हाल पुगिसकेका छन्। सिराहाबाट रमाना भइसकेका बसन्त अधिकारी पनि मकवानपुरको कमाण्ड सम्हाल्न पुगेका छैनन्। सिन्धुलीबाट रौतहट सरूवा भएका दिनेशसागर भुसालले जिल्ला नछाड्दा सिमाना जोडिएको जिल्ला मकवानपुरबाट सिन्धुली गएकी स्किम श्रेष्ठ पनि हटियातिर अल्मलिरहेकी छिन्।

रौतहटबाट रामाना भइसकेका विनोदकुमार खड्का पनि धनकुटाको कमाण्ड सम्हाल्न पुगेका छैन। धनकुटाबाट झापा सरूवा भएका शिवराम गेलालले झापाको कमाण्ड सम्हालिसकेका छन्। झापाबाट काभ्रेपलाञ्चोक सरूवा भएका गोपालकुमार अधिकारी पनि कार्यक्षेत्रमा सक्रिय भइसकेका छन्। काभ्रेपलाञ्चोकबाट भक्तपुर पुगेर उमेशकुमार ढकालले पनि फोटो चेन्ज गरिसकेका छन्।

गुल्मीबाट अछामको सिडिओमा सरूवा भएका विष्णुप्रसाद पौडेल पनि गुल्मीको कफीमै रमाइरहेका छन्। अछामबाट गुल्मी जानु पर्ने आनन्द सारू पनि आनन्दले अछाममै आराम गरेर बसिरहेका छन्।

प्रेमप्रसाद भट्टराई ललितपुर, युवराज कट्टेल मोरङ, हिरालाल रेग्मी कैलाली र कृष्णप्रसाद लम्साल नवलपरासी पश्चिम र केदारनाथ शर्मा जुम्लाको कमाण्ड सम्हाल्न पुगिसकेका छन्।

सर्लाही छाडेर गोरखा हिँडेका तुलसीबहादुर श्रेष्ठ र गोरका छाडेर सर्लाही हिँडेका रामुराज कडरिया मुग्लिनतिरै अड्किएका छन्।

केदारनाथ शर्माले जुम्ला नछाड्दा खिमबहादुर रायामाझी कर्णाली यात्रा रोकिएको छ। मोरङ छाडेका इन्द्रदेव यादव महोत्तरी नपुग्दा महोत्तरीबाट दोलखा हिँडेका नारायणप्रसाद रिसाल पनि कार्यक्षेत्रमा झुल्किएका छैनन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ