सोझा पण्डितलाई जोखिमपूर्ण महाशाखाको जिम्मेवारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही महाशाखा प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि खाली रहेका पद र अन्य केही महाशाखामा सरुवा तथा जिम्मेवारी परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार परिवार कल्याण महाशाखाको नेतृत्व डा. मदनकुमार उपाध्यायले पाउने भएका छन्। व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक महाशाखामा डा. पवनजंग रायमाझी र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलिया सरुवा भएकि छन् ।
विगतमा व्यवस्थापन महाशाखा प्रमुखको पद खरिदबिक्री हुने विवादमा पर्ने गरेको भए पनि यसपटक त्यस्तो संकेत देखिएको छैन। तर, सोझा र इमानदार छवि भएका पण्डितलाई जोखिमपूर्ण क्षेत्र मानिने व्यवस्थापन महाशाखामा पठाइएको छ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अख्तियारको चासो बढेसँगै उक्त महाशाखामा जिम्मेवारी लिन धेरै अधिकारी पन्छिन थालेका छन्। अख्तियारले कार्तिक २ गते स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक र व्यवस्थापन महाशाखा प्रमुख डा. श्रवणकुमार थापासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले स्वास्थ्य क्षेत्रमा निगरानी थप कडा पारेको बेला पण्डितलाई त्यस महाशाखामा पठाइनु विशेष चासाेकासाथ हेरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस