लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागिता जरुरी
काठमाडौं । नेपालको राजनीतिक रुपान्तरण अब समावेशीता, विविधता र नैतिक नेतृत्वमा आधारित हुनुपर्ने साझा निष्कर्ष निकालिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो विचार निकालीएको हो ।
‘अबको राजनीतिक निकास’ शीर्षकमा डा. तोसिमा कार्की, मानुषि यमि भट्टराई र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्व, नागरिक समाजका अगुवा र विषय विज्ञहरू सहभागी थिए । वक्ताहरूले जेनजी आन्दोलनपछि देश नयाँ राजनीतिक चेतनाको चरणमा प्रवेश गरेको उल्लेख गर्दै, समाजका सबै तहमा समावेशीता र समान सहभागिता सुनिश्चित नगरी सुशासन सम्भव नहुने धारणा राखे ।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागिता विशेषरूपमा उल्लेखनीय रह्यो । पुर्व संविधानसभा सदस्य सुनिल बाबु पन्तले राजनीतिक समावेशीकरणका लागि निरन्तर प्रयास भइरहेको बताउँदै भने, “राजनीतिक रुपान्तरणको आधार सबै समुदायको समान प्रतिनिधित्व हो, जसले मात्र सुसंस्कृत र उत्तरदायी राज्य निर्माण गर्न सक्छ ।”
सहभागीहरूले अब देशलाई वैकल्पिक होइन, जिम्मेवार र पारदर्शी नेतृत्वको आवश्यकता रहेकोमा जोड दिए । उनीहरूले राजनीतिक दल, नागरिक समाज र युवा पुस्ताले लोकतान्त्रिक मूल्य, जवाफदेहीता र नैतिक आचरणको अभ्यासमार्फत नयाँ मार्गनिर्देशन दिनुपर्नेमा एकमत जनाए । पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागिता हरेक क्षेत्रमा हुनुपर्ने बताए ।
कार्यक्रममा डा. सुचेता प्याकुरेल, भवानी राणा, हिमा विष्ट, इन्दु तुलाधर, रेशु अर्याल ढुङ्गाना, डा. दोभान राई, रिता शाह, सरु जोशी, सुनिल बाबु पन्त, उमेश चौहान, डा. राजेन्द्र बोहोरा, डा. निर्मल मणि अधिकारी, डा. अमिना सिंह, डा. बर्दन जङ्ग राना, डा. नवराज खतिवडा, डा. रमेश पराजुली, डा. सरोज धिताल, आमोद नाथ प्याकुरेल, अर्चना थापा, अर्जुन मणि दीक्षित, डा. चन्द्रमणि अधिकारी, डा. जय कुमार गुरुङ, कैलाश राई, कमलदेव भट्टराई, खगेन्द्र सङ्ग्रौला, नयनतारा गुरुङ कक्षपति, डा. कृष्ण खनाल र तेजमान श्रेष्ठ लगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस