वीर अस्पतालमा रितेश शाक्य, सिडिओ पोखरेल गृहबाट आउट, सबैभन्दा बढी सहसचिव पुगे सञ्चारमा
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा सहसचिव रितेशकुमार शाक्य आएका छन्। न्याम्समा कार्यरत सहसचिव मनिता श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयमा सरूवा गर्दै शाक्यलाई न्याम्समा लाइएको हो।
न्याम्समा सहसचिवको दरबन्दीको आवश्यक र औचित्यमाथि बहस भइरहँदा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शाक्य आएका हुन्। उनलाई स्वास्थ्य उपचार गर्न भने सहज हुने भएको छ। मिर्गौला पीडित शाक्य साठ्ठीसाले लेखा अधिकृत हुन्। आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका विराटनगरका शाक्य अन्त:शुल्क स्टिकर छपाइ खरिदमा तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँगै भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतबाट सफाइ पाएका कर्मचारी हुन्। उनी भद्र र सहयोगी स्वभावका कर्मचारीका रूपमा परिचित छन्। सहसचिवमा बढुवा हुनेबित्तिकै कामै नहुने न्याम्समा पुगेकी मनिता श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयमा गएपछि शाक्यलाई त्यहाँ पठाइएको हो।

पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरूण पोखरेललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरूवा गरिएको छ। सहसचिवको दरबन्दीको औचित्य पुष्टि हुन नसकेको पाँचथरका सिडिओ पोखरेललाई बेपत्ता आयोगतिर ‘बेपत्ता’ पारिएको हो।
यसपटकको सरूवामा सबैभन्दा बढी सहसचिव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भित्रिएका छन्। सहसचिवहरू बाहिरिनेमा पनि सञ्चार मन्त्रालय नै अग्रपङ्क्तिमा छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुभाषचन्द्र शिवाकोटी भित्रिएका छन्। लेखा समूहका उपसचिवमा ‘नमूना’ मानिएका शिवाकोटी जेन-जी आन्दोलनको ‘स्पिरिट’लाई बुझेर काम गर्न सक्ने कर्मचारीमा पर्छन्। लेखामा हुँदा पनि उनी खासै विवादमा तानिएका कर्मचारी हैनन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासन महाशाखा प्रमुख कोषहरि निरौला भने कोशी प्रदेश पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आईटीका सहसचिव सुभाष ढकाल पनि सञ्चार मन्त्रालय आएका छन्। आईटीका खेलाडी अस्गर अलीका विश्वासपात्र ढकाल सुचना प्रविधि विभागको महानिर्देशक बन्न सञ्चार तथा हानिएको चर्चा छ। सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक मुकेश रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा भएका छन्।
आन्तरिक राजस्व विभागको आईटी हेर्ने उपमहानिर्देशक श्रीचन्द्र साह पनि सञ्चारतिरै पुगेका हुन्। आन्तरिक राजस्व विभागको उपमहानिर्देशक हुने गरी हालै सहसचिव भएका रामदत्त भट्ट अर्थ मन्त्रालयतिर पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रविलाल शर्मा पनि सञ्चार मन्त्रालयतिरै सरूवा भएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सहसचिव प्रेमप्रसाद पोखरेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्।
गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव ( सहसचिव)नवराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्।बागमती प्रदेशका नीति योजना आयोगका सचिव (सहसचिव) केशवराज सुवेदी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत नै सरूवा भएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशी भने सुदूरपश्चिम प्रदेशतिर लागेका हुन्।
मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार सचिव उद्धवप्रसाद रिजाल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्। यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा रिजालले नक्कली लाइसेन्स प्रकरणको छानबिन गराएका थिए।
खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश सरूवा भएका रामबाबु पुरी ल बागमती प्रदेशतिर सरूवा मिलाएका हुन्। सुदूरपश्चिम प्रदेशतिर रहेका विरेन्द्रकुमार मिश्र मधेश प्रदेशतिर झरेका छन्।
लुम्बिनी प्रदेशतिर रहेका रबिन्द्र बोहरा सहरी विकास मन्त्रालय वा अन्तर्गत फिर्ता आएका छन्। सहरीतिरका विष्णु भण्डारी सुदूरपश्चिम प्रदेशतिर सरूवा भएका हुन्। सुर्खेतस्थित स्थानीय पूर्वाधार विकास आयोजना प्रमुख पुष्करप्रसाद पोखरेल कोशी प्रदेशतिर पुगेका छन्। जेन-जी सरकारले किस्ताबन्दीमा सहसचिवको सरूवा गर्दै आएको छ।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस