आईटीमय बनेको सहसचिव सरूवा


काठमाडौं। सरकारले गरेको सहसचिवको सरूवा आईटीमय देखिएको छ। नेपाल विविध सेवामा रहेका ५ जना सहसचिवमध्ये ४ जना अदलीबदली भएका छन्। आईटीका ५ सहसचिवमध्ये श्रीचन्द्र साह, सुभाष ढकाल, मुकेश रेग्मी र रामदत्त भट्ट अदलीबदली भएका हुन्।

नेपाल विविध सेवाको सूचना प्रविधि विज्ञ भनिने उक्त सहसचिव पदमा ६ वटा दरबन्दी रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत मात्र ४ वटा आईटीको सहसचिवको दरबन्दी रहेको छ। सञ्चार मन्त्रालयबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागका आईटीको सहसचिवको दरबन्दी रहेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईटीको सहसचिवको एउटा दरबन्दी रहेको आदेश खड्का कार्यरत छन्। सूचना प्रविधि विभागमा महानिर्देशक र उपमहानिर्देशक पद रहेको छ। विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएपछि उक्त पद खाली छ। विभागका उपमहानिर्देशक मुकेश रेग्मीको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको हो।

नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि विज्ञ (सहसचिव) रामगोविन्द अर्यालले पदबाट राजीनामा दिएपछि अर्यालको ठाउँमा रामदत्त भट्ट आएका छन्। सहसचिव अर्याललाई एकीकृत डाटा व्यवस्थापन केन्द्रमा पठाइएको थियो। तर, उनले जागिर नै छाडेर हिँडे। अर्यालको ठाउँमा सहसचिव भएका रामदत्त भट्ट आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएर जाने भएका छन्।

आन्तरिक राजस्व विभागको उपमहानिर्देशक श्रीचन्द्र साह पनि सञ्चार मन्त्रालयतिर पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत आईटीका सहसचिव सुभाष ढकाल पनि सञ्चार मन्त्रालय नै गएका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत ४ वटा आईटीको सहसचिवको दरबन्दीमा खड्का, साह र ढकाल रहेका छन्। उनीहरूलाई कसरी व्यवस्थापन गरिन्छ हेर्न बाँकी छ। नागरिक एपलगायत अन्य विवरणको रेखदेख गर्नुपर्ने भएकाले आईटीका चर्चित र विवादित पात्र अस्गर अलीले ढकाललाई विभागको महानिर्देशक बनाउन खोजिरहेको सञ्चार मन्त्रालयमा चर्चा सुरू भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ