११ दिनमै स्वास्थ्य क्षेत्रमा अर्को संकट: मन्त्रीकाे स्वार्थ पूरा गर्दिन महानिर्देशक बाराकोटीले दिए राजिनामा
काठमाडौं । स्वास्थ्य मन्त्री डा. शुधा शर्मा नियुक्त भएको ११ दिनमै स्वास्थ्य क्षेत्रमा अर्को ठूलो संकट उत्पन्न भएको छ। मन्त्रालयको तीव्र दबाब र आन्तरिक राजनीतिक हस्तक्षेप सहन नसकेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक प्रसाद बाराकोटीले राजिनामा दिएका छन्। श्राेतका अनुसार मन्त्रीकाे स्वार्थ पूरा गर्दिन महानिर्देशक बाराकोटीले राजिनामा दिएका हुन् । महानिर्देशक एमाले निकट हुन भने मन्त्री शर्मा कांग्रेस हुन् ।
स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार, डा. बाराकोटीले विभागीय खरिदमा देखिएका अनियमितता र गलत नियतले खोलिएका टेन्डरहरू धमाधम रद्द गर्न थालेपछि उनी मन्त्री शर्मा र सचिवको निसानामा परेका थिए । टेन्डरहरू रद्द गर्ने कार्यलाई स्वास्थ्य मन्त्री र केही प्रभावशाली समूहहरूले ‘बाधा’को रूपमा लिएका थिए।
व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. पवनजंग रायमाझीका अनुसार, महानिर्देशकले करिब पाँच वटा टेन्डर भ्रष्टाचारको आशंकामा रद्द गरेका थिए। ती २० करोडभन्दा बढी रकमका थिए।
मन्त्री र सचिवलाई सहज नीति बनाउन बाटो खुला
स्रोतका अनुसार, डा. बाराकोटीको राजिनामापछि स्वास्थ्य मन्त्री डा. शुधा शर्मा लाई खरिद प्रक्रियामा मनपरी नीति बनाउन सहज बाटो खुलेको छ। बाराकोटी भ्रष्टाचार नियन्त्रणमा सक्रिय रहेका कारण मन्त्रीका निकट समूहहरू असहज महसुस गर्न थालेका थिए। मन्त्री शर्माको बिगत पनि स्वास्थ्यमा राम्रो छैन । उनी काम गर्न नसकेर बिचमा जागिर छाडेका कारण भ्रष्टाचारमा लिप्त कर्मचारी बाहेक सबैले मन्त्री शर्मालाई भगाैडा व्यक्तिको रुपमा चित्रण गर्छन् ।
मन्त्रालयका अधिकारीहरूका अनुसार, “मन्त्रीले बारम्बार खरिद प्रक्रिया, सरुवा, र विभागीय निर्णयमा चासो देखाउँदै आइरहेकी थिइन्। यसले कर्मचारीहरूमा त्रास बढेको थियो,” ।
‘पेलेर पठाइएका’ नयाँ खरिद प्रमुख
खरिद शाखाको नेतृत्वमा हाल केशवराज पण्डितलाई पठाइएको छ। उनलाई “अत्यन्तै सोझा र सालिन” व्यक्ति भनेर चिनिन्छ। यता विवादास्पद र विगतमा समायोजनमा राज्यलाई ठगेर बसेका समन्वय महाशाखा प्रमुख भिम सापकोटा मन्त्रीकाे विश्वास पात्र बनेका छन् । तर, उनका बिषयमा अख्तियारले चासाे बढाएको छ ।
मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “कसैले जान नमानेपछि पण्डितलाई पेलेर पठाइएको हो।” खरिद शाखा प्रमुख दया पन्तप्रति विश्वास नजाने, र नयाँ अनुहारको आगमनसँगै थप जोखिम देखिएपछि विभागभित्र अस्थिरता झन् बढेको बताइन्छ।
राजिनामाअघि सल्लाह
स्रोतका अनुसार, डा. बाराकोटीले राजिनामा दिने निर्णय तीन दिनअघि नै आफूसँग नजिकका सहकर्मीहरूसँग सल्लाह गरेर तयार पारेका थिए। “निरन्तर उजुरी, अख्तियारको डर र मन्त्रीको अनावश्यक चासोले उनी निकै निराश बनेका थिए,” एक अधिकारीले बताए।
महानिर्देशक बाराकोटीको सेवा अवधि अझै करिब दुई वर्ष बाँकी रहेको छ। तर, उनले सरकारी सेवाबाटै स्थायी रूपमा अलग हुने निर्णय गरेका छन्।
‘स्वास्थ्यका कारण’ भनेका छन् बाराकोटीले
राजिनामापछि डा. बाराकोटीले भने कुनै व्यक्तिमाथि प्रत्यक्ष दोष नलगाई आफ्नो स्वास्थ्य अवस्थाका कारण सेवा छोडेको औपचारिक कारण उल्लेख गरेका छन्।
तर, मन्त्रालय र विभागीय स्रोतहरू भन्छन्— “उनले बाहिर स्वास्थ्यको कारण भनेका भए पनि, भित्र भने यो पूर्ण रूपमा राजनीतिक र दबाबजन्य राजीनामा हो।”
खरिद प्रक्रिया प्रति अविश्वास र आगामी चुनौती
यो घटनापछि मन्त्रालयभित्र कर्मचारीहरूमा डर र अनिश्चितता बढेको देखिन्छ। एक वरिष्ठ अधिकृतले भने, “मन्त्रीको नियत हेर्दा यो वर्ष खरिदमा कुनै काम गर्न कर्मचारी उत्साहित छैनन्। सबै डराइरहेका छन् कि कुनै पनि बेला फस्न सकिन्छ।”
सरकारी स्वास्थ्य प्रणालीमा पारदर्शिता र जवाफदेहिताको कुरा भइरहँदा, ठूला टेन्डरमा देखिने मनपरी र राजनीतिक प्रभावले स्वास्थ्य प्रणालीको विश्वासमा पुनः प्रश्न उठाएको छ।
स्वास्थ्य मन्त्री बनेको ११ दिनमै देखिएको यो संकटले मन्त्रालयभित्रको आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र पारदर्शिताको गम्भीर प्रश्न उजागर गरेको छ। राजिनामापछि विभागीय कामकाज अस्थिर बनेको छ भने, कर्मचारीहरूबीच ‘अब के हुन्छ?’ भन्ने त्रास बढेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस