समायोजन भएका कर्मचारी संघमै फर्किदा लेखा समूहमा विवाद
काठमाडौं। समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका लेखाका उपसचिव संघमै फर्किदा लेखा समूहमा विवाद उत्पन्न भएको छ। प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका लेखाका उपसचिवहरू मानबहादुर बम, विनोद गेलाल, नवराज नेपाल, तोमनाथ उप्रेती संघमै फर्किदा लेखा समूहमा तीव्र विवाद भएकाे हो। उनीहरू सर्वोच्च अदालतको अन्तरिम आदेशका आधारमा संघमा फर्किएर आकर्षक कार्यालय चहारिरहेका छन्। उनीहरू कै नाममा महालेखा नियन्त्रक कार्यालयभित्र चर्को विवाद देखापरेको हो।
अहिले उनीहरूको पुल दरबन्दीमा समेत उपसचिव माग गर्नुपर्ने मागसहित लेखाका अधिकृतहरू उच्च अदालत पाटन पुगेका छन्। पाटनले अल्पकालीन उन्तरिम आदेश समेत दिएको छ। सर्वोच्च अदालतले लेखाका उपसचिवहरू बम, गेलाल, नेपाल र उप्रेतीलाई संघमा फर्कादिएपछि उनीहरू लेखामा जमेर बसेका छन्। उनीहरू कै दरबन्दीलाई पुलमा देखाएर विज्ञापन गराउन लेखाका अधिकृतहरू अदालत गुहार्न पुगेका हुन्।
पुरानो नजिर हेर्ने हो भने सर्वोच्च अदालतले अन्तिम फैसला हुँदा उनीहरूलाई समायोजन भएकै पठाइदिने देखिन्छ। त्यसो हुँदा लेखामा पुल दरबन्दीमा विज्ञापन हुँदा फाजिलमा पर्ने उच्च सम्भावना छ। अहिले लेखाका उपसचिवहरूको दरबन्दीलाई लिएर सर्वोच्च अदालत र उच्च अदालतबीच दोहोरी चल्दा महालेखा नियन्त्रक कार्यालय समस्यामा परेको छ। मुलुकलाई थप व्ययभार निम्लाउन दुई अदालतको आदेश कारण बन्नु हुँदैन। लेखाका उपसचिवको दरबन्दीलाई लिएर अहिले विवाद फेरि सर्वोच्चबाट उच्च अदालतमा पुगेको हो।
संघमा फर्किएर आकर्षक अड्डामा
सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा ५/६ वर्षदेखि लेखा उपसचिवहरू मानबहादुर बम, विनोद गेलाल, नवराज नेपाल र तोमनाथ उप्रेती संघीय कार्यालयमै जागिर खाइरहेको पाइएको हो। समायोजन भएर गएका उनीहरू अदालतको अन्तरिम आदेशपछि संघमा फर्किएर आकर्षक अड्डाको कमाण्ड सम्हाल्न सफल भएको देखिन्छ।
कर्णाली प्रदेशमा समायोजन भएर गएका मानबहादुर बम अहिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा जान सफल भएका छन्। अदालतको अन्तरिम आदेशसँगै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय(प्रदेश कोलेनिका), सुर्खेतबाट भन्सार विभाग पुगेका बम अहिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा जान सफल भएका हुन्। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले बमलाई आकर्षक मानिने कोष तथा लेखा नियन्त्रक कार्यालय, त्रिपुरेश्वरको हाकिम बनाएर पठाउन खोजेका थिए। रूक्मांगत अर्यालले ‘भिटो’ लगाएपछि त्रिपुरेश्वर जानबाट रोकिएका बमलाई महालेखा नियन्त्रक पौडेलले आकर्षक मानिने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा पठाएर त्रिपुरेश्वर कोलेनिकाको ‘क्षतिपूर्ति’ गरेको मलेनिकामा चर्चा छ। समायोजन भएर गएका बम अस्थायी रूपमा संघमा फर्किए पनि आकर्षक अड्डामा जागिर खाइरहेका छन्।
मधेश प्रदेशमा समायोजन भएर गएका विनोद गेलाल पनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट संघमै टिकिरहेका छन्। हाल वन तथा भू-संरक्षण विभागमा कार्यरत गेलाल आकर्षक अड्डामै ‘जम्ने’ कर्मचारीमा पर्छन्। अदालतको अन्तरिम आदेशबाट संघमै फिर्ता भएपछि उनी शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सिएलपिआइयू) जान सफल भएका थिए। ज्ञानेन्द्रराज ओझा जस्ता शक्तिशाली साठ्ठीसाले लेखा अधिकृत बसेर आएको र भूकम्पपछि निकै आकर्षक मानिएको शिक्षाको ‘सिएलपिआइयू’मा प्रदेशमा समायोजन भएर आएका गेलाल तरमार्न सफल भए। गेलाल पनि बम जस्तै संघमा फिर्ता भएर लाभ लिने लेखा उपसचिवमा पर्छन्।
इटहरी उपमहानगरपालिकामा समायोजन भएर सर्वोच्च अदालतको अन्तरिम आदेशबाट संघमा फर्किएका नवराज नेपाल अर्का तरमारा लेखा उपसचिव हुन्। इटहरी उपमहानगरपालिकाबाट संघमा फिर्ता आएपछि नेपाल महोत्तरी कोलिना, बागमती सिंचाई आयोजना, धनुषा कोलिनका हुँदै निवृत्तिभरण व्यवस्थापन कार्यालय (पेन्सन अफिस)को हाकिम बन्न पुगेका छन्। कुनै बेला बदनाम कर्मचारी ढुण्डीप्रसाद निरौला लेखा उपसचिव हुँदा ‘जमेर’ बसेको धनुषा कोलेनिकामा नेपाल पनि जान सफल भए।
बागमती सिंचाई आयोजना पनि लेखा उपसचिवका लागि आकर्षक ठाउँ मानिन्छ। नेपाल बागमती सिंचाई आयोजनामा समेत बसेका नेपाल अहिले निवृत्तिभरण व्यवस्थापन कार्यालयको हाकिम भएर सानले जागिर खाइरहेका छन्।
मोरङ कोलेनिका प्रमुख रहेका तोमनाथ उप्रेती पनि बम, गेलाल र नेपाल जस्तै समायोजन भएका लेखा उपसचिव हुन्। सर्वोच्च अदालतको अन्तरिम आदेशबाट संघमै टिकिरहेका उप्रेती सहकारी विभाग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता कार्यालयमा बसेका थिए। अहिले भने उनी कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका), मोरङको प्रमुख कोष नियन्त्रकको भूमिकामा रहेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस