नेपाल ट्रष्ट दरबारमार्ग जग्गा हिनामिना: तत्कालीन सहसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं। नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा हिनामिनामा समातिएका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सिआईबीले उनलाई ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गर्न हिरासतमा लिएको हो। राजप्रसाद सेवाबाट आएका तत्कालीन सहसचिव (हाल अवकाशप्राप्त) कार्की सिआईबीको अनुसन्धान दायरामा आउनेबित्तिकै ‘लहरो तान्दा पहरो खस्ने’ सम्भावना बढेको छ।
तत्कालीन सचिव अर्जुनकुमार कार्की र लेखबहादुरको मिलेमतोमा २०७४ साल जेठ १४ गते दरबारमार्गका रहेको नेपाल ट्रष्टको जग्गा यती समूहलाई सुम्पिने काम भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी आङछिरिङ शेर्पाको थामसेर्कु डेभलपर प्रालिलाई उक्त जग्गा कौडीको भाउमा ३० वर्षका लागि भाडामा दिइएको हो।
ट्रष्टका तत्कालीन कार्यकारी सचिव अर्जुनले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थबमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकारी प्रयोग गरी तत्कालीन सहसचिव लेखबहादुरले सम्झौता गरेका थिए। दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गमा रहेको जग्गा भाडामा लगाउने प्रकरणमा थामसेर्कुले सुरूमा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो। नेपाल ट्रष्टका पदाधिकारी र यती थामसेर्कुका माफियाहरूको मिलेमतोमा एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँमा ३० वर्षका लागि उक्त जग्गा भाडामा लगाउने सम्झौता भएको देखिन्छ। उक्त विषयमा महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता औल्याईसकेको छ।
दरबारमार्गजस्तो महत्वपूर्ण ठाउँमा रहेको एक रोपनी १४ आना जग्गा स्वर्गीय आङछिरिङको स्वामित्वमा रहेको यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर प्रालिले ३० वर्षको लागि अवैध ढंगले लिजमा हत्याएको विषयमा लेखबहादुर सिआईबीको फन्दामा परेपछि तरंग उत्पन्न भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस