प्रहरी आईजीपीको नजिर दोहोरिए सुमन अर्याल बन्न सक्छन् मुख्यसचिव, बुर्लाकोटी पछि-पछि


काठमाडौं। बीचमा कुनै दुर्घटना नभए अबको १५ दिनपछि मुलुकले नयाँ मुख्यसचिव पाउने देखिन्छ। मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते रातिबाट ५८ वर्ष पुगेर घर जाँदैछन्।

२०२४ साल मंसिर १० गते स्याङ्जामा जन्मिएका अर्याल मंसिर ९ सम्मै मुख्यसचिव चलाएर घर जाने रणनीतिमा छन्। जेन-जी आन्दोलन र जेन-जी कर्मचारीहरू भने उनलाई तत्काल मुख्यसचिवबाट बिदाई गर्नुपर्ने लबिइङमा छन्। अर्याल मुख्यसचिवमा टिक्न र उनलाई मुख्यसचिवबाट झिक्न चर्को होडबाजी चलिरहेको पाइन्छ। तर, ४ जना वरिष्ठ सचिवलाई पाखा लगाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादमा मुख्यसचिव बनेका अर्याल पदबाट हटाउन भने त्यति सहज देखिँदैन। उनको तिकडमबाजीका अगाडि अरूलाई टिक्न गाह्रो छ।

‘सिक्वेन्स’ मिल्दा गोकर्णमणि दुवाडी मुख्यसचिव बन्ने थिए। ‘जेन-जी’ आन्दोलनमा गृह सचिव रहेका दुवाडी परिचालनमा नराम्रोसँग चुक्दा उनको मुख्यसचिव बन्ने सम्भावना क्षिण हुँदै गएको छ। गृहबाट राष्ट्रीय योजना आयोग जस्तो ‘कवाडी’ ठाउँमा पठाइएका दुवाडी मुख्यसचिवबाट ‘रिङ आउट’ भए जस्तै अवस्था देखिन्छ। मुख्यसचिव अर्याल र दुवाडीको अवकाश हुने एकैदिन भएकाले पनि उनलाई मुख्यसचिव बनाउनुपर्छ भन्ने बाध्यतामा सरकार छैन। फेरि दुवाडीलाई काँधमा बोकेर हिँड्ने रमेश लेखकहरू सत्ताबाट किनारातिर पुगिसकेका छन्।

अहिले सचिवको बरियतामा दोस्रो नम्बरमा रहेका सुमनराज अर्याल मुख्यसचिवको प्रबल दाबेदार हुन्। हाल रक्षा मन्त्रालयको सचिव रहेका अर्याल एकनारायण घर गएपछि पहिलो नम्बरमा चढ्ने भएकाले मुख्यसचिवमा उनको सम्भावना बढेको हो। नेपाल प्रहरीको आईजीमा बरियतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की बढुवा भएको नजिर मुख्यसचिवमा पनि लागू भए सुमनको भाग्य चम्किने देखिन्छ।

२०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन पनि घर जाने दिन नजिकिँदै छ। उनी मुख्यसचिव भए २०८३ असार २५ गतेसम्म पदमा रहनेछन्। सुमन २०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका हुन्। उनी करिब ८ महिना मुख्यसचिवको भूमिकामा रहनेछन्।

तथ्याङ्कतिरबाट आएका सुमन कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव, राष्ट्रिय योजना आयोगको सचिव र रक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका छन्। उनी तथ्याङ्कभन्दा बाहिर गएर काम गरेको भने सचिव भएपछि मात्र हो। परराष्ट्रका शंकरदास बैरागी मुख्यसचिव बन्दा तथ्याङ्कका सुमन नहुने भन्ने कुरै हुँदैन। तर, उनको कमाण्ड निकै कमजोर छ।

पुरातत्त्वतिरका भरतमणि सुवेदी पर्यटनतिर बस्दा गरेको काममा अख्तियारपछि लागेपछि राजीनामा दिएर हिँडेको चर्चा छ। सुवेदीले मैदान खाली गर्नु नै सुमनका लागि बाटो खुला हुनु हो।

सुमनपछि खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवी बज्राचार्य शाक्य मुख्यसचिवको लाइनमा छिन्। २०७८ असार १७ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएकी प्रमिला महिला प्रधानमन्त्री भएका बेला मुख्यसचिव बन्ने दाउमा छिन्।

हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी मुख्यसचिवको दाबेदार हुन्। २०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी करिब मुख्यसचिव भए भने एक वर्ष पनि चलाउँदैनन्। उनी २०८३ भदौ २६ गते ५८ वर्ष लागेर घर जानेछन्। बुर्लाकोटी २०२५ भदौ २७ गते धादिङमा जन्मिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव समेत भइसकेका बुर्लाकोटीको प्रधानमन्त्री सुशिला कार्कीसँग स्वभाव मिल्छ। हक्की स्वभावका बुर्लाकोटीले स्वास्थ्य सचिव हुँदा कामचोर कर्मचारी र स्वास्थ्यकर्मीलाई हायलकायल पारेका थिए। उनले गरी खान नदिने भएपछि प्रदिप यादवलाई प्रयोग गरेर बुर्लाकोटीलाई स्वास्थ्यबाट सरूवा गराएका थिए। वीर अस्पतालतिर त ‘कालो बोको’नै काटेर भोज गरिएको कुरा सेलाएको छैन। बुर्लाकोटीले वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, उपराष्ट्रपति कार्यालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएर काम गरेका छन्।

बुर्लाकोटी भन्दा ३ दिनपछि सचिवमा बढुवा भएका कृष्णहरि पुष्कर कर्ण मुख्यसचिवको लाइनमा छन्। दिनमा एकपटक मुख्यसचिव एकनारायण अर्यालको परिक्रमा गर्ने कर्णले आफूलाई भावी मुख्यसचिवको रूपमा प्रस्तुत गर्दै आएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कर्ण ३ वर्ष नै मुख्यसचिव चलाउन पुग्ने उमेर भएका व्यक्ति हुन्। दोहोऱ्याएर अर्थ सचिव भएका कर्ण प्रदेश नगई सीधै अर्थ मन्त्रालयको राजस्व सचिव बन्न सफल भएका थिए। कर्णले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिकामा समेत काम गरिसकेका छन्। उपसचिव र सहसचिवमा मधेशी कोटा प्रयोग गरेर कर्ण त्यसैलाई आधार बनाएर मुख्यसचिव बन्ने लबिइङमा छन्। कर्ण २०३१ साल साउन १३ गते महोत्तरीको सुगामा जन्मिएका हुन्।

मुख्यसचिवका लागि खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्माहरू प्रतिस्पर्धामा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नेपाल विशेष दरबन्दी सिर्जना गरेर सचिवमा बढुवा भएकाले उनी असार २७ गते घर जानेछन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि ५८ वर्ष लागेर फागुन १० गते अनिवार्य अवकाशमा जाने भएकाले मुख्यसचिव बन्ने सम्भावना देखिँदैन।

बाँकी रह्यो लोक सेवा आयोगका सचिव किरणराज शर्माको। उनी २०८३ साउनमा घर जाने भएकाले सुमन अर्याल मुख्यसचिव बने त्यसपछि शर्माको मुख्यसचिवमा भाग्य चम्किनेछ। उनीसँगै गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौलाहरू मुख्यसचिवको प्रतिस्पर्धामा उत्रिनेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ