प्रधानमन्त्रीज्यू स्वार्थ बाझिने निर्णयमा संलग्न महान्यायाधिवक्तालाई बर्खास्त गर्ने हैन?


समाचार टिप्पणी

काठमाडौं। ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारको महान्यायाधिवक्ता अहिले चर्चा र विवादको शिखरमा छिन्। आफैं साहू रहेको कम्पनीको बदमासीलाई उन्मुक्ति दिएर महान्यायाधिवक्ता सविता भण्डारी विवादमा आएकी हुन्।

किशोरीहरूको डिम्ब तस्करी गरेको आरोप लागेको होप फर्टिलिटीमा महान्यायाधिवक्ता भण्डारीको सेयर रहेको तथ्य सार्वजनिक भइसकेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले मुद्दा चलाउन सिफारिस गरेपनि महान्यायाधिवक्ता भण्डारीको स्वार्थमा मुद्दा नचलाउने निर्णय भएको छ। सुशासन ऐनको समेत बर्खिलाप हुने गरी महान्यायाधिवक्ता भण्डारी स्वार्थ बाझिने निर्णयमा संलग्न रहेको पाइन्छ।

भ्रष्टाचार र कुशासनको विरोधमा दर्जनौं जेन-जीहरूले जीवन आहुति दिएर अहिले सरकार बनेको हो। महान्यायाधिवक्ता कार्यालयले चल्नु पर्ने मुद्दा नचलाउने र नचलाउनु पर्ने मुद्दा चलाउने निर्णय गरेको भन्दै जेन-जीहरू आक्रोशित थिए। कुशासन ढालेर सुशासन कायम गर्न बनेको सरकारी महान्यायाधिवक्ता भण्डारीले पुरानालाई माथ खुवाउने गरी स्वार्थ बाझिने कार्यमा संलग्न भएको खुलेको हो।

सीआईबीले बालबालिकाविरुद्धको कसुरमा सानीमाकी छोरी डा. स्वस्ति शर्मासहितलाई मुद्दा चलाउन सिफारिस गरेको थियो। महान्यायाधिवक्ता भण्डारी छोरी डा. प्रत्युषा बरालसहितको स्वामित्वमा रहेको होप फर्टिलिटीमाले बालबालिकाविरुद्धको कसुर गरेको सिआईबी सिफारिसलाई लत्याउँदै सवित महान्यायाधिवक्ता भण्डारीले मुद्दा नचल्ने निर्णय गरेकी हुन्।

प्रधानमन्त्री सुशिला कार्कीले जेन-जी आन्दोलनको मर्म र भावनामाथि प्रहार गरेर आफ्नो स्वार्थपूर्ति गर्ने महान्यायाधिवक्तालाई राजीनामा गराइसक्नु पर्ने हो। उनले राजीनामा नदिए तत्काल बर्खास्त गरेर सरकारले सुशासनमा सम्झौता गर्दैन भन्ने ‘म्यासेज’ दिनुपर्ने हो। तर, विवादित महान्यायाधिवक्ता अहिलेसम्म पनि पदमै बहाल रहनु सुशासनमाथि गम्भीर प्रहार हो।

६० दिनसम्म पनि आफ्नो सम्पत्ति सार्वजनिक नगर्ने प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता भण्डारीलाई बर्खास्त गर्ने कुरामा संसय उत्पन्न भएको छ। प्रधानमन्त्री कार्कीले सरकार सुशासनको पक्षमा छ भनेर जेन-जी पुस्तालाई आश्वस्त तुल्याउन पनि तत्काल महान्यायाधिवक्ता भण्डारीलाई पदबाट बर्खास्त गर्नुपर्छ। प्रधानमन्त्रीज्यू, जेन-जी पुस्ता महान्यायाधिवक्ता भण्डारीको बहिर्गमनको पक्षमा छन्। स्वार्थ बाझिने काम गरेर जेन-जी आन्दोलनमाथि कुठाराघात गर्ने महान्यायाधिवक्ता भण्डारीको कहिले बर्खास्त गर्नुहुन्छ भन्ने जेन-जी पुस्ताको प्रश्न छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ