सचिव मैनाली हावी हुँदा पर्यटनका नियुक्तिहरू विवादित बन्दै
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका नियुक्तिहरू एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन्। पर्यटन सचिव हरिप्रसाद मैनाली हावी हुँदा एकपछि अर्को नियुक्ति विवादमा पर्न थालेको हो।
सचिव मैनालीले निवर्तमान मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठसँग सेटिङ मिलाएर गरिएका नियुक्तिहरू विवादमा पर्न थालेका छन्। पर्यटन सचिव मैनालीले चलखेल गरेर नियुक्ति गर्दा सरकार नै विवादमा पर्न थालेपछि ‘जेन-जी’हरूले उनीसँग असन्तुष्टि पोख्न थालेका छन्। मैनाली कै कारण पर्यटनका नियुक्तिहरू विवादमा पर्न थालेपछि मैनालीको भूमिको भूमिकामाथि प्रश्न उठेको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आदर्श, अर्याल र मैनाली मिलेर नेपाल वायु सेवा निगममा युवराज अधिकारीलाई पुनर्नियुक्ति गर्न खोजेका थिए। तर, त्यसमा प्रधानमन्त्री सुशीला कार्कीले ‘ग्रिन सिग्नल’ नदिएपछि मैनालीले जनक कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाउन भूमिका खेलेको आरोप छ। कालाखेतीले पनि मैदान छाडेपछि आदर्श र मैनालीको डिजाइनमा टाइपिष्टबाट जागिर सुरू गरेका अमृतमान श्रेष्ठलाई जिम्मेवारी दिन उनैले भूमिका खेलेको ‘जेन-जी’हरूको दाबी छ।
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा दिपक श्रेष्ठलाई नियुक्ति गर्न पनि आदर्श र मैनालीको मिलेमतो रहेको ‘जेन-जी’ अगुवाहरू बताउँछन्। उक्त नियुक्तिले ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकार नै विवादित बनेको छ। काभ्रेली ज्वाइँ बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्री हुँदा सुसुराली खलक राष्ट्रपति रामचन्द्र पौडेलको साथ लिएर पर्यटन मन्त्रालय छिरेका मैनाली जेन-जी सरकारमा निकै हावी हुन थालेका छन्।
पर्यटनमा अनुकूलका सहसचिव जयनारायण आचार्यलाई भित्र्याएर सचिव मैनालीले पशुपति क्षेत्र विकास कोषको नियुक्तिमा समेत चलखेल गरिरहेको स्रोतले बतायो। तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङले प्रचण्ड सचिवालयको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाइएका सुभाषचन्द्र जोशीलाई सदस्य-सचिव बनाउन मैनालीले चलखेल गरेको चर्चा प्रधानमन्त्री कार्यालयमा समेत चल्न थालेको छ। अहिले कोष निमित्तको भरमा चलिरहेको छ। मैनालीले चलखेल गर्दा कोषले सदस्य-सचिव पाउन नसकेको बताइन्छ। पर्यटन मन्त्रालय अन्तर्गत सबैभन्दा बढी नियुक्ति हुन बाँकी रहेकामा सचिव मैनालीको व्यापक चलखेलका कारण रोकिएको मन्त्रालय स्रोतको दाबी छ।
मधेश प्रदेशको प्रमुख सचिव हुँदा साइकल खरिदमा भ्रष्टाचार मुद्दा लाग्नबाट ‘बालबाल’ जोगिएका मैनाली महालेखा नियन्त्रक हुँदा पनि विवादमा तानिएका थिए। स्वास्थ्य मन्त्रालयबाट पर्यटनमा ‘जम्प’ हानेपछि मैनाली स्वार्थ समूहको चंगुलमा परेको आरोप लाग्न थालेको छ। पर्यटन मन्त्रालयमा विभिन्न चलखेल भइरहेको भन्दै ‘जेन-जी’हरू आक्रोशित बन्न थालेका छन्।
पाल्पाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदा उपस्थिति नै नभई भत्ता बुझेको आरोपमा अख्तियारको छानबिन दायरामा आएका मैनाली भ्रष्टाचार मुद्दा लाग्नबाट जोगिएका थिए। मैनाली पाल्पा सिडिओ हुँदा कार्यक्षेत्रमा नगई स्वास्थ्य कार्यालयबाट दैनिक भ्रमण भत्ता बुझेको र कार्यालयमा नै बसेको देखिएको भनी अख्तियारमा उजुरी पऱ्यो। अख्तियार स्रोतका अनुसार उनलाई बयानको लागि समेत बोलाईयो। सबै प्रमाण एवं कागजातहरुले उनी कार्यालयमा हुँदा स्वास्थ्यलगायत अन्य कार्यालयबाट समेत दैनिक भ्रमण भत्ता बुझेको देखिए पश्चात उनलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउने निश्चित थियो। तर तत्कालीन प्रमुख आयुक्त नविन घिमिरे गृह कै ‘क्याडर’ भएको हुँदा उनले मैनालीलाई कारबाही हैन संरक्षण गरेको आरोप लाग्दै आएको छ। दैनिक भ्रमण भत्ताको रकम फिर्ता गर्न लगाएर उनको उजुरीलाई त्यसै डिसमिस पारिएको थियो।
मधेश प्रदेशमा साइकल खरिद काण्डमा अख्तियारले अनुसन्धानको तीर सोझिने निश्चित भएपछि उनीलगायत संलग्नहरू अख्तियार मिलाउने भन्दै गठबन्धन बनाएर तल्लिन भएकाे चर्चा थियो। नभन्दै अख्तियारमा राजनैतिक प्रभाव हावी हुन पुग्यो। मुख्यमन्त्रीविरुद्ध मुद्दा लग्नुपर्ने लगभग निश्चित भएपछि मैनालीसहितका तत्कालीन प्रमुख सचिव अख्तियारले जोगाएको आरोप लाग्ने गरेको छ। उनीहरूमाथि १० करोड ३३ लाख रुपैयाँ बिगो कायम भएको गुणस्तरहीन साइकल खरिद निर्णय एवं भुक्तानीमा जोडिएकाहरुलाई अख्तियारले उन्मुक्ति दिएको आरोप लाग्दै आएको हो। तर, हालसम्म पनि राज्यको यत्रो रकम खर्च भएका ती साइकलहरु खिया लागेर बसेका छन् त्यसमा संलग्नहरु पुरस्कृत भईरहेका छन् ।
यसरी पटकपटक अख्तियार दुरुपयोगको फन्दामा पर्दै जोगिदै आएका मैनाली एक मात्र भाग्यमानी सचिवको रुपमा अहिलेसम्म ढुक्कले जागिर खाईरहेका छन्। भ्ररष्टाचार र कुशासनविरूद्ध विद्रोह गरेर बनेको ‘जेन-जी’ सरकारमा पनि उनले चलखेल जारी रहेको पाइन्छ। ‘जेन-जी’हरू मैनालीविरुद्ध खनिन थालेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस