एकनारायणको अन्यायपूर्ण सरूवाले सचिव पोखरेल जगेडामा, प्रशासनिक बेथिति रोक्न मुख्यसचिवमाथि दबाब
काठमाडौं। निर्वतमान मुख्यसचिव एकनारायण अर्यालको अन्यायपूर्ण सरूवाले सचिव डा.कमलप्रसाद पोखरेल दुई सातादेखि प्रधानमन्त्री कार्यालयको जगेडामा छन्। पछिल्लो सरूवामा पनि उनको नाम समावेश नभएकाले अझै केही महिना प्रधानमन्त्री कार्यालयको बरण्डामा बस्नु पर्ने अवस्था देखिन्छ।
प्रशासनिक बेथितिलाई निरन्तरता दिँदै एकनारायणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव डा. पोखरेललाई बरण्डामै छाडेर केही सचिवको सरूवा गरेको तथ्य सार्वजनिक भएको छ।
एकनारायणले दरबन्दी नै खाली नभइ कमललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेर बैकुण्ठप्रसाद अर्याललाई कायममुकायम प्रमुख सचिव मुकरर गरेर पठाएका थिए। उनले प्रशासनिक बेथितिलाई मलजल गर्दै बैकुण्ठलाई सुदूरपश्चिम पठाएर कमललाई जगेडामा तानेका हुन्। एकनारायणले कृष्णप्रसाद काप्रीलाई दुई महिनाभन्दा बढी प्रधानमन्त्री कार्यालयको जगेडामा ‘पेण्डुलम’ बनाएर लुम्बिनी प्रदेश पठाएका थिए। अहिले कमलको हकमा पनि त्यस्तै गरेका हुन्।
अहिले सचिवका लागि दुई सिट खाली भएको छ। राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयको सचिवले ठाउँ छाडेपछि खाली भएको हो। रक्षामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माको सरूवा भएको बुझिन्छ। मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल भूमिमा आउने भएका छन्। प्रदेशको प्रमुख सचिवमा ‘सिनियर’ रहेका भुजेललाई संघको भूमि मन्त्रालयमा ल्याउनु स्वभाविक पनि मान्न सकिएका। तर, १४ महिना प्रदेश बसेर आएका कमललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राख्नु अनुचित हो।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ राष्ट्रिय योजना आयोगमा हाजिर भइसकेकाले कमलका लागि उक्त मन्त्रालय विकल्प हुन सक्छ। सामान्यमा कोशी प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेल आउने कुरा छ। उनको सरूवा ‘होल्ड’ गरेर कमललाई पठाउनु पर्ने ‘जेन-जी’हरूको माग छ। उनीहरूले सचिवलाई जिम्मेवारीविहीन बनाए प्रशासनिक बेथिति कायम राख्न नहुने भन्दै मुख्यसचिव सुमनराज अर्यालको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री कार्यालयमा जगेडामा बस्नु परेको पीडा भोगेका सुमनमाथि कमललाई न्याय गर्न दबाब छ। संघमा दरबन्दीभन्दा बढी सचिव हुने भएकाले एकनारायणको प्रशासनिक बेथितिले निरन्तरता पाउने जोखिम छ। एकनारायणले केही निर्णय ‘होल्ड’ गरेजस्तै सुमनले केही सचिवको सरूवा ‘होल्ड’ गरेर जगेडामा रहेका सचिवको व्यवस्थापन गर्न ध्यान दिनुपर्छ। जेन-जी पुस्ताको बेथितिविरूद्धको आन्दोलनलाई आत्मसात गर्दै सचिव सरूवामा भएको बेथिति तत्काल ‘करेक्सन’ गर्नुपर्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस