सूर्तीजन्य पदार्थको रोकथामको लागि क्यान्सर काउन्सिल नेपालको आयोजनामा एक दिवसीय अन्तरक्रिया सम्पन्न
नेपालमा ७५ प्रतिशत क्यान्सरका विरामी सूर्तीजन्य पदार्थको सेवनको कारण हो : विशेषज्ञ डा. किशोरकुमार प्रधानाङ्ग
काठमाडौं। क्यान्सर काउन्सिल नेपाल र कम्युनिटी डिजिज प्रिभेन्सन एण्ड रिसर्च सेन्टर, रिक्रेयशन होलिडेको आयोजना र प्रोगेसिभ फाईनान्सको सहकार्यमा सूर्तीजन्य पदार्थको असर तथा नसर्ने रोगहरूको बारेमा अन्तरक्रिया तथा जनचेतनामूलक सम्पन्न भएको छ। काठमाडौंको कपनमा रहेको जोसेफ हाईस्कुलमा आयोजित कार्यक्रममा वक्ताहरूले सूर्तीजन्य पदार्थको असरबारे सामूहिक जनचेतना फैलाउनुपर्ने र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा क्यान्सर रोग रोकथामविज्ञ डा. किशोरकुमार प्रधानाङ्गले नेपालमा धेरैजसो मानिसहरुमा सूर्तीजन्य पदार्थको सेवनले क्यान्सर तथा नसर्ने रोग लाग्ने गरेको उल्लेख गरे । उनकाअनुसार ती विरामीहरु उपचारको लागि अन्तिम समयमा मात्रै अस्पताल जाने गरेको भन्दै यसमा सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए । डा. प्रधानाङ्गले भने,‘नेपालमा अन्तिम समयमा मात्रै अस्पताल जाने गरेको पाईयो, यसको कारण उपचार खर्चपनि बढ्ने र उपचार प्रभावकारिता पनि कम हुन्छ, ७५ प्रतिशत क्यान्सरका विरामीहरु सूर्तीजन्य पदार्थको सेवनकै कारण भएको तथ्यांक छ, यसको लागि हामीले अब जनचेतना कार्यक्रम देशव्यापी रुपमा फैलाउनुपर्छ । सरकारले पनि यो विषयमा ध्यान दिनुपर्छ ।’
कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले क्यान्सर रोगको नियन्त्रणको लागि क्यान्सर काउन्सिल नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । धमलाले आफू काउन्सिलको यो अभियानमा लामो समयदेखि जोडिएकोले देशव्यापी रूपमा अब सूर्तीजन्य पदार्थको असर तथा नसर्ने रोगहरुकोबारेमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।
आफूले जीवनमा कहिल्यैपनि धुम्रपान नगरेको स्मरण गराउँदै स्वस्थ जीवनशैली अपनाउन विद्यार्थीहरुलाई सुझाव दिए । उनले भने,‘म दैनिक १८ घण्टा काम गर्छु । म कहिल्यैपनि नकारात्मक सोच राख्दिनँ, जहिल्यैपनि सकारात्मक सोच राखेर अघि बढ्दा जीवन स्वस्थ हुन्छ ।’ सो क्रममा उनले आफू कठिन मेहनत र परिश्रमकै कारण आजको अवस्थामा आईपुगेको पनि स्मरण गराए । उनले विद्यार्थीहरुलाई परिश्रमी र इमानदार बन्न प्रेरित गरे । देश बनाउनको लागि युवा पुस्ताको ठूलो हात हुने भन्दै हालै भएको जेन–जी आन्दोलनको पनि चर्चा गरे । देश बनाउने सवालमा सबैले सहकार्य गर्नुपर्ने भन्दै एकता नै बल भएको उल्लेख गरे । उनले भने,‘नेपालीहरुले अब सहकार्यमा जोड दिनुपर्छ । एकतामा बल दिनुपर्छ । एक अर्काले सम्मान गर्नुपर्छ । सहयोग गर्नुपर्छ ।’
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले स्थापनाकालदेखि आजसम्म गरेका कामको चर्चा गरेका थिए । उनले सूर्तीजन्य पदार्थको रोकथामको लागि अभियान लिएर आफू शहरदेखि गाउँको दूरदराजसम्म पुगेको पनि स्मरण गराए । उनले सूर्तीजन्य पदार्थको रोकथामको लागि सरकार, नागरिक समाज, विद्यालय, अभिभावक र विभिन्न तह र तप्कामा रहेकाहरुबीच उचित सहकार्य हुनुपर्नेमा जोड दिए । उनले किशोरावस्थामा रहेकाहरुलाई दुव्र्यसनीबाट बचाउनको लागि अभिभावकले नै निर्णायक भूमिका खेल्नुपर्ने सुझाव दिए ।
उनले भने,‘प्रत्येक बालबालिकाको लागि उनीहरुको आफ्नो घर नै पहिलो पाठशाला हो । किशोर अवस्थामा पुगेकाहरुको लागि घरपरिवारले विशेष समय दिनुपर्छ, उनीहरुको आनीबानी र दैनिकीबारे परिवारको सदस्यले विशेष चासो दिनुपर्छ, यति गर्न सकियो भने उनीहरुलाई गलत र दुव्र्यसनीमा जानबाट राक्न सकिन्छ ।’ कडरियाले आफूहरुको अभियानलाई मिडियाले पनि सशक्त रुपमा साथ दिनुपर्ने र सोहीअनुसारको सकारात्मक भूमिका खेल्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोज अधिकारीले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आफ्नो विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने विश्वास दिलाउँदै सूर्तीजन्य पदार्थको रोकथामको लागि विद्यालयले पनि प्रभावकारी कदम चाल्ने विश्वास दिलाए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस