मनोज भट्टले बल्ल चाबी बुझाए, अझै ‘क्लियरेन्स’ पाएनन्
काठमाडौं। समाज कल्याण परिषद्का निवर्तमान सदस्य-सचिव मनोज भट्टले आइतबार मात्र चाबी बुझाएका छन्। समाज कल्याण परिषद्को प्रशासन प्रमुख भगवती संग्रौलालगायत मन्त्रालय गएको मौका छोपेर कार्यकक्षमा पुगेका भट्टले उपाध्यक्ष नन्दलाल माझीलाई चाबी बुझाएर गएका हुन्।
परिषद्का उपाध्यक्ष माझीले भट्ट कार्यकक्षमा आएर कार्यकक्षको ताल्चा खोलेर भित्र पसेको बताए। स्वास्थ्य लाइभसँगको कुराकानीमा भट्टले ऋषि चौधरीसँग रहेको दाबी गरेका थिए। तर, भट्टसँगै चाबी रहेको उपाध्यक्ष माझीले स्पष्ट पारे।
मंसिर १ गतेदेखि ४ वर्षे कार्यकाल सकिएका भट्ट गाडी, मोटरसाइकल, ल्यापटप लिएर हिँडेका थिए। कार्यकक्षमा समेत ताल्चा ठोकेर हिँडेका भट्ट आइतबार परिषद्मा पुगेर कोठा खोलेर उपाध्यक्ष माझीलाई चाबी छाडेर हिँडेको पाइएको छ। उनले प्रयोग गरिरहेको मोटरसाइकल पनि बल्ल फिर्ता गरेका हुन्। भट्टले बरबुझारथ गरेको ‘क्लियरेन्स’ लेटर भने अझै पाएका छैनन्। उनले आफै चाबी लगेर गएको र सामान समेत सबै फिर्ता नगरेकाले बरबुझारथ गरेको पत्र नदिइएको परिषद्का अधिकारीहरू बताउँछन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस